+
+

आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते १४:०६

११ चैत, हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन् ।

शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन कायक्रममा उनले मुलुकलाई त्यो अप्ठ्यारो स्थितिबाट मुक्त गर्न कांग्रेसले नेतृत्व गर्ने बताए ।

‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं । नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गैरहनुपर्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘इतिहासमा कांग्रेसलाई नालायक बन्न दिन्नौं भन्ने पनि उत्तिकै हामीसँग प्रण छ । उत्तिकै योजना, दृष्टिकोण पनि छ ।’

राजनीतिक तरलता छ भनेर कांग्रेसलाई छुट नहुने उपसभापति गुरुङले बताए । अहिलेको १० राजनीतिक दललाई नेतृत्व गरेर ५ बर्षसम्म स्थायी सरकार चलाउने हिम्मत कांग्रेसले राखेको उनको भनाइ छ । सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भएपनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई छुट नहुने उनले तर्क प्रस्तुत गरे ।

मुलुकमा आर्थिक समस्या भइरहेका बेला विदेशबाट आयात गरिएका खादा, माला प्रयोग नगर्न उनले अनुरोध गरे । कार्यक्रममा उनले माला लगाउन समेत मानेनन् । उनले भने, ‘केही समयपछि शिक्षक साथीहरुले तलब पाउनुहुन्छ कि हुन्न मलाई थाहा छैन । गुरुले व्यवहाररुपी ज्ञान पनि दिनुपर्छ । बाहिरबाट आएका माला÷खादा लगाउदिन भन्ने प्रतिबद्धता गर्नुस् । आर्थिक संकट छ । मोचन गर्नुछ । फजुल खर्च गर्नुहुँदैन । त्यो ज्ञान मैंले तपाईंहरुबाट पाउनुपर्छ ।’

संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने गुरुङले प्रतिवद्धता जनाए । उनले राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरुलाई अनुरोध गरे । हरेक पालिकाले अब एउटा नमुना विद्यालय बनाउनुपर्ने उनको सुझाब थियो । नमुना विद्यालय कस्तो हुनुपर्छ भन्ने उदाहरण दिंदै उनले भने, ‘ठ्याक्कै नाम लिनुपर्दा बुढानिलकण्ठ स्कुल जस्तो । त्यहाँ ३३ प्रतिशतले निशुल्क पढ्छन्, ६७ प्रतिशतले सशुल्क । सशुल्क कसले पढिरहेको छ, निशुल्क कसले पढिरहेको छ थाहा हुँदैन ।’

कार्यक्रममा उनले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदा मुलुक भ्रष्टाचारतिर गइरहेको बताए । नेताहरुले पाठ्यक्रमबाट नैतिक शिक्षा झिकेर नथन्काइदिएको भए यति धेरै भ्रष्टाचार नहुने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?