+
+
गण्डकी प्रदेश सरकार :

कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा, खगराज भन्छन्- संसदमै परीक्षण हुन्छ

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार छाड्न कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दबाव दिएका छन् । तर अधिकारी भने सरकार खाली हुने परिस्थितिको परिकल्पना संविधानले नगरेको भन्दै संसदमा आफ्नो परीक्षण हुनै बाँकी रहेको बताउँछन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ चैत १२ गते ७:२९
कांग्रेस नेता सुरेन्द्र पाण्डे र मुख्यमन्त्री खगराज अधिकारी (दायाँ) ।

१२ चैत, पोखरा । केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्न सत्ता समीकरण परिवर्तन गरेपछि गण्डकी प्रदेश सरकार पनि आंकलन गरिएभन्दा ठिक विपरीत हुन पुग्यो । मुख्यमन्त्री बन्ने एजेण्डा बनाए पनि प्रतिपक्षमा बस्ने मानसिकता बनाएका एमाले नेता खगराज अधिकारी एकाएक सरकारको नेतृत्वमा पुगे भने मुख्यमन्त्री बन्न तम्तयार भएका कांग्रेस नेता सुरेन्द्रराज पाण्डे विपक्षी दलको नेताको बेञ्चमा पुगे ।

पुस १० गते बिहान गण्डकीको मुख्यमन्त्री बन्ने सपना बोकेर फर्केका सुरेन्द्र पोखरा ओर्लिंदा राजनीतिक घटनाक्रम उल्टो भइसकेको थियो । ५ दलीय गठबन्धन छोडेर एमालेलगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । पोखरा फर्किएर पत्रकार सम्मेलन गर्दै पाण्डेले भनेका थिए, ‘मुख्यमन्त्री बन्ने योजनासहित म काठमाडौंबाट पोखरा फर्किँदै थिएँ । म सुरक्षित ओर्लिएँ तर राजनीति क्र्यास भयो ।’

राष्ट्रपतिको निर्वाचनपछि प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि फेरि सुरेन्द्रको मुख्यमन्त्री बन्ने सम्भावनाको ढोका खुल्यो । केन्द्रमा सत्ता समीकरण फेरिसँगै प्रदेश सरकार पनि फेरिने पक्का भएपछि पाण्डे काठमाडौंमा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुलाई भेटेर फर्किएका छन् । शुक्रबारमात्र गण्डकीमा माओवादीले खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै २ मन्त्रीले राजीनामासमेत दिए ।

त्यसको भोलिपल्ट शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस संसदीय दलका नेता पाण्डेले भने, ‘हिजो चाहिँ ठ्याक्कै उल्टो भयो । त्यतिबेला प्लेन चढेर आएँ, प्लेन सकुशल अवतरण भयो, राजनीति क्र्यास भाथ्यो । हिजो चाहिँ प्लेन पनि सकुशल अवतरण भयो, राजनीति पनि सही ट्रयाकमा आयो ।’

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार छाड्न पाण्डेले दबाव दिएका छन् । विश्वासको मतसमेत पाउने सक्ने सम्भावना नरहेकाले मार्ग प्रशस्त गर्न मुख्यमन्त्री खगराजलाई उनले आग्रह गरे ।

माओवादीका हरिबहादुर चुमानले मुख्यमन्त्रीको दाबी गरे पनि आफ्नै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस नेता सुरेन्द्र पाण्डे ढुक्क देखिन्छन् ।

सरकार अल्पमतमा परिसक्यो र बहुमत हुन सक्ने कुनै सम्भावना छैन भने, त्यो अवस्थामा पनि म कुरेर बस्छु भन्ने कुरा नैतिकताभित्र कति पर्छ व्यक्ति आफैंले सोच्ने कुरा भएको पाण्डेको भनाइ छ । अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पर्ने खालको नीतिगत निर्णय गर्न नसक्ने भन्दै पाण्डेले मुख्यमन्त्री अधिकारीलाई सजग गराएका छन् ।

‘यो सरकारले सरुवा, बढुवा, नियुक्ति गर्नु पनि अनैतिक हो । प्रदेशलाई आर्थिक दायित्व बहन गर्नुपर्ने खालका निर्णय गर्नु पनि नैतिक हुँदैन,’ पाण्डेले भने, ‘आजको मितिपछि हुने निर्णयको दायित्व भोलिको सरकारले लिन सक्दैन, राजनीतिक सहमतिविना गरिने कामचलाउ सरकारको दायित्व आगामी सरकारले बोक्न सक्दैन ।’ त्यसैले मार्ग प्रशस्त गर्नु नै सबैभन्दा उपयुक्त हुने उनको जोड थियो ।

हिजो सत्तामा खगराजले गोल गरे पनि भोलि आफूले दुई गोल गर्ने बताएको स्मरण गर्दै पाण्डेले भने, ‘फुटबलमा ९० मिनेट खेल्छन्, संसदमा यो राजनीति त ५ वर्ष खेल्ने हो । १ गोल अलि पहिले उहाँले हान्नुभयो, उहाँले जितिरहनुभएको छ, मैले २ गोल हाने भनें कसले जित्छ ? भनेर मैले भनेको थिएँ ।’ केन्द्रको सत्ता समीकरण फेरिनेबित्तिकै नसोचे पनि हप्ता–दश दिनमै नेतृत्वसँग कुराकानी हुँदा छिट्टै आजको स्थिति आउँछ भन्नेमा विश्वस्त रहेको पाण्डेले सुनाए ।

माओवादीका हरिबहादुर चुमानले मुख्यमन्त्रीको दाबी गरे पनि आफ्नै नेतृत्वमा सरकार बन्नेमा ढुक्क रहेका पाण्डेलाई बरु जाँदाजाँदै खगराजले दीर्घकालीन असर गर्ने नीतिगत निर्णय गर्लान् भन्नेमा डर छ ।

संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार बनेको सरकार नरहेपछि स्वतः उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार बन्नेमा ढुक्क रहेका पाण्डेले खगराजलाई पनि खबरदारी गरेका छन् । सबै प्रदेशमा केन्द्रले प्याकेजमा गर्ने निर्णयअनुसार हुने बताउँदै पाण्डेले अहिलेका मुख्यमन्त्रीले बढाउने दायित्व भोलिको सरकारले लिन नसक्ने बताए ।

संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था भए पनि विश्वास जित्न सक्ने आधार गुमेकाले त्यो दिन कुर्ने कि अहिले नै मार्ग प्रशस्त गर्ने भन्ने मुख्यमन्त्रीको नैतिकतामा भर पर्ने पाण्डेको भनाइ थियो ।

संविधानअनुसार हुन्छ : अधिकारी

मार्ग प्रशस्त गर्न पाण्डेले गरेको आग्रहलाई अधिकारीले संविधानको पाना पल्टाएर हेर्न जवाफ दिएका छन् । कसैले पत्रकार सम्मेलन गरेर मार्ग प्रशस्त गर भनेर धम्क्याउने हो भने भोलि अर्कोले पनि त्यसै गर्ने भन्दै अधिकारीले संविधानअनुसार हुने बताए ।

‘कांग्रेसले पत्रकार सम्मेलन गरेर राजीनामा देऊ भनेर भन्ला भन्ने मैले सोचेको थिइनँ । सरकार खाली हुने परिस्थितिको परिकल्पना नै गरेको छैन संविधानले,’ मुख्यमन्त्री अधिकारीले अनलाइनखबरसँग भने, ‘विश्वासको मत प्राप्त गरेर मुख्यमन्त्री बनेको हुँ । मेरो संसदमा परीक्षण हुनै बाँकी छ नि ।’

हिजो कांग्रेस नेतृत्वकै सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने काम भइरहेको अधिकारीले बताए । खराब मानसिकताले प्रश्न उठाइएको हो भने केही भन्न नसकिने तर असल मानसिकता हो भने संवाद गरेर अगाडि बढ्न सकिने अधिकारीको भनाइ थियो ।

‘वेटिङ मुख्यमन्त्री’ पाण्डे भने सरकार निर्माणको तयारी र छलफलमा जुटिसकेका छन् । उनले कांग्रेस नेतृत्वको सरकार बनेपछि पनि ७ मन्त्रालयबाट नबढाउने बताए । आकांक्षी धेरै हुँदा मन्त्री र संसदीय दलका पदाधिकारीको टुंगो पनि एकै पटक लगाउने पाण्डेले बताएका छन् । साविक गण्डकी, धवलागिरिको भूगोल, महिला, जनजाति, युवा र अनुभवीलाई समेत समेट्ने गरी सरकार निर्माण हुने पाण्डेको भनाइ छ ।

१२ औं महाधिवेशनपछि १४ औं महाधिवेशनसम्म लगातार केन्द्रीय सदस्य निर्वाचित पाण्डे यसअघि राष्ट्रिय सभामा दलको नेतासमेत थिए । पार्टी सभापति शेरबहादुर देउवा निकट पाण्डेले पार्टीभित्रको विचार समूहलाई समेत मिलाएर लैजाने बताएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?