+
+

‘प्रचण्डले मुख्यमन्त्री बनाउँछु भन्थे, तर राजनीति दुर्घटनामा पर्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:३२

११ पुस, पोखरा । ५ दलीय गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ मा उठ्ने भएपछि कांग्रेस नेता सुरेन्द्र पाण्डे प्रदेशमा झरेर गोरखा २(ख) बाट चुनाव लडे । चितवनबाट सुरक्षित क्षेत्र हेर्दै गोरखा पुगेका प्रचण्डले संयुक्त चुनावी सभाहरुमा आफू देशको प्रधानमन्त्री र सुरेन्द्र गण्डकीको मुख्यमन्त्री बन्ने बताएका थिए ।

देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउने प्रचण्डको दाबीमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समेत जोड दिएका थिए । गोरखामा यो गठबन्धन सफल भयो, प्रचण्ड र पाण्डे दुबैले चुनाव जिते । तर प्रचण्डले कांग्रेसलाई छाडेर एमालेको साथ लिएर प्रधानमन्त्री भए । सुरेन्द्रको चाहना भने दुर्घटनामा पर्‍यो ।

मुख्यमन्त्री बन्ने योजनासहित गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता बन्ने कसरत गरिरहेका पाण्डे काठमाडौंबाट आइतबार जहाजमा पोखरा आउँदै थिए । उनी काठमाडौंबाट जहाज चढ्दा र पोखरा झर्दासम्म नेपालको राजनीतिले अर्को मोड लिइसकेको थियो । ‘म काठमाडौंबाट जहाजमा पोखरा फर्किँदै थिएँ । जहाज सुरक्षित रुपमा अवतरण गर्‍यो तर नेपाली राजनीति क्र्यास भयो’, पाण्डेले भने ।

नयाँ राजनीतिक समीकरण बनेसँगै अब गण्डकीमा पनि एमाले, माओवादी र राप्रपासहितको सरकार बन्ने देखिएको छ । २७ सिटसहित प्रदेशसभाको ठूलो दल बनेको कांग्रेस एकल प्रतिपक्षी दल बन्ने भएको छ । ‘जसरी राजनीतिक रुप बदलिएको छ, अब गण्डकीमा पनि एमाले नेतृत्वकै सरकार बन्छ होला’, पाण्डेले भने, ‘हामी प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं ।’

राजनीतिक घटनाक्रम बदलिने संकेत आफूले २/४ दिन अघि नै पाएको भन्दै पाण्डे प्रतिपक्षमा बस्नुपर्ने स्थिति अनपेक्षित नभएको बताउँछन् । ‘जहाँबाट प्रचण्ड चुनाव उठेका थिए, त्यही क्षेत्रको प्रदेशमा म चुनाव लडेको थिएँ । प्रचण्डसँग र उनको सचिवालयमा निरन्तर कुराकानी भइरहन्थ्यो । पछिल्लो समय प्रचण्ड र उनी निकटका नेताहरुले गफगाफमा त्यो संकेत दिएका थिए,’ पाण्डेले सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘समग्रमा पार्टीका नेता र नेतृत्वको अनुशासनहीनताले यो परिणाम आयो ।’

राजनीतिमा विचार र सिद्धान्त स्खलित हुँदै गएको एउटा ज्वलन्त उदाहरण आइतबारको राजनीतिक घटनाक्रम भएको पाण्डेले बताए । ‘यी यस्ता घटना फेरि पनि पटक पटक दोहोरिन सक्ने परिस्थिति निर्माण भइरहेको छ’, पाण्डेले भने, ‘राजनीतिमा ट्र्याकमा ल्याउनतिर भन्दा सत्ता र स्वार्थका लागि जे पनि गर्ने गरेको देखिन्छ ।’

कांग्रेस केन्द्रीय सदस्य पाण्डेले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता फरक फरक विचारका दल एकै ठाउँमा रहनु अनौठो भएको बताए । ‘यो संविधानलाई नमान्ने, च्यात्ने एमाले,  राजतन्त्र ल्याउनुपर्छ भन्ने राप्रपा, यो संघीयता नै खारेज गर्नुपर्छ भन्ने दलहरु र संविधान हामीले ल्याएका हौं भन्नेहरु एकै ठाउँ भएका छन्,’ पाण्डेले भने, ‘जे उद्देश्यले गठबन्धन गरिएको हो, त्यसको मर्मलाई जोगाउन सबै नेता र नेतृत्व लाग्नुपर्ने थियो ।’

कांग्रेसले प्रतिपक्षमा बस्नुपर्‍यो भनेर रोइलो गर्नुपर्ने अवस्था नरहेको पाण्डेको भनाइ छ । गण्डकीमा कांग्रेस संसदीय दलको नेता बन्न पाण्डेले कसरत गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको विचार समूहबाटै पाण्डेसँगै कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापाले पनि आकांक्षा राखेका थिए । नवलपुरका महेन्द्रध्वज जिसी र स्याङ्जाका भोजराज अर्यालले पनि दलको नेता बन्न कसरत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?