+
+
ब्लग :

भ्रम र अन्धविश्वासमा बाँचेको समाज

नारी–पुरुष एकअर्काका सहयात्री र सहयोगी हुन् । दुवैको अस्तित्व स्वीकार गर्दै सहयात्राका साथ अघि बढ्नुपर्छ । जहाँ महिलाको सम्मान हुन्छ, त्यही समाज अग्रगामी हुन्छ । त्यही समाज समृद्ध अनि प्रगतिशील हुनेछ।

भाषा पोखरेल भाषा पोखरेल
२०७९ चैत १२ गते १३:५२

प्रसंग सुरु गरौं एउटा ताजा घटनाबाट । करिब दुई साताअघि लुम्बिनी प्रदेशको रूपन्देही जिल्लास्थित सैनामैना नगरपालिकामा एउटी बिरामी नाबालिका किशोरीलाई निको पार्ने निहुँमा कथित माताले कुटपिटसहित झारफुक गर्दा त्यो अत्याचारबाट बालिकाको मृत्यु भएको घटना सार्वजनिक भयो ।

तथापि सञ्चारमाध्यमहरूमा उक्त घटनाको फेहरिस्त भने सार्वजनिक भएन । झण्डै दुई वर्षअघि काठमाडौंमा पनि यस्तै घटना घटेको सार्वजनिक भएको थियो । यी त भए, केही सार्वजनिक भएका घटना । यस्ता अनगिन्ती हिंसाजन्य घटना समाजमा घट्दै आएका छन् तर, त्यसलाई लुकाएरै राखिने गरेको छ ।

समाजमा यसो चियोचर्चो गर्ने हो भने हामी आफ्नै मान्छेलाई आरोप लगाएर सत्तोसराप गर्दै हिंडिरहेका मानिस पनि भेट्छौं । यो कुरीति र अन्धविश्वासको जाँतोमा धेरै निमुखा मानिस पिसिनु परेको छ । मान्छे यतिसम्म अन्ध हुन्छ कि मानव बलिले रोग निको हुन्छ भन्यो भने बलि चढाउन पनि तम्तयार हुन खोज्छ ।

उसले यत्ति पनि सोच्दैन कि कुनै मान्छेलाई रिस उठेर कसैलाई बिमारी बनाउने र कसैलाई प्रताडित गरेर कुनै रोग निको पार्ने वा भूतप्रेत मन्साउने अलौकिक शक्ति कसैसँग हुँदैन । यदि त्यसो हुन्थ्यो त कसैले दिएको श्राप लागेर कोही अन्धकार जिन्दगी जिउँथे त कोही आशिष्ले लाखौं वर्ष बाँच्ने अजम्बरी नै बन्थे ! तर, जीवन व्यवहारमा त्यस्तो हुँदैन ।

तथापि मानिसहरू अन्धविश्वासको भ्रममै बाँचेका हुन्छन् र यसले मान्छेलाई धेरै हदसम्म प्रभावित पारेको हन्छ । चिकित्सा विज्ञानले निको पार्न नसकेको रोग कुनै धामी–झाँक्री वा कथित माता र गुरुहरूले ठिक पार्न सक्छन् भन्ने अन्धविश्वासको जरो अलौकिकता हो । जब समाजको बाँच्ने आधार अलौकिक शक्ति बनिदिन्छ, समाज यस्तै अन्धविश्वासको शिकार बन्न पुग्छ ।

जब समाजले प्रकृतिको रहस्यलाई अलौकिक शक्तिको रूपमा ग्रहण गर्छ, त्यहाँ भूतप्रेत, देवता, राक्षस, बोक्सी आदिको कथा, कहानीहरू खुबै चल्छन् । अनि समाजले खुल्लमखुला धामीझाँक्री तथा बोक्सी, पिचास आदिको रूपमा कुरीतिहरू अँगाल्न पुग्छ । समाज शिक्षित हुँदै गर्दा, चेतनाको बिरुवा अंकुराउँदै गर्दा यस्ता कुरीति र रुढिवादी अन्धविश्वास पनि घट्दै जानुपर्ने हो । तर, त्यसो हुनसकेको छैन ।

बोक्सीको नाममा कुटपिट गरी विभिन्न स्थानमा मान्छे मारिएका समाचार नआउनुपर्ने हो । तर, यी सबै भ्रम हुन् । यी सबै शोषण र उत्पीडनका हतियार हुन् । यी सबै हिंसाका आधुनिक स्वरूप हुन् । महिला हिंसाका अवशेष हुन् । अमानवीय हर्कतका नमूना हुन् ।

आधुनिक सभ्य कहलिएको समाजमा पनि यस किसिमका कुरीतिहरू यद्यापि कायमै छन् । हिजोभन्दा आजको समाज सकारात्मक रूपले विकास तथा परिवर्तनको दिशातर्फ उन्मुख हुनुपर्ने अवस्थामा झनै नमिठो कुरीतिको लतमा फस्दै गएको देखिन्छ । अनि संस्कृति, परम्परा र प्रचलनका नाउँमा त्यस्ता कुरीतिहरूले जरा गाड्दैछन् ।

हाम्रो समाजमा रुढिवादी मूल्य–मान्यता, चलन, परम्परा एवं अन्धविश्वासको जग खोतल्दै जाने हो भने विगतका कालखण्डमा शिक्षा र चेतनाको अभावका कारण त्यस्ता मान्यताहरू समाजमा स्थापित भएका थिए । तर, आजको यो विज्ञान, प्रविधि र चेतनाको युगमा पनि त्यस्तै रुढिवादी मान्यताले स्थान पाउनु भने आफैंमा दुःखद कुरा हो ।

आजका दिनमा शिक्षित र चेतनशील भनिने व्यक्तिहरूले पनि संस्कार र परम्पराको नाउँमा त्यस किसिमका कुरीति र कुसंस्कारलाई अवलम्बन गरेका छन् । अझ परम्पराको नाउँमा अँगाल्ने कुरीति निकै हानिकारक देखिन्छ । आज शिक्षाको हिसाबमा मानिसहरू बौद्धिक कहलिए पनि मान्छेको सोचमा भने कुनै सकारात्मक बदलाव आएको छैन ।

मानिसको मस्तिष्कमा सकारात्मक बदलाव त त्यतिखेर आउनेछ, जुनबेला मानिसको चेतनामा सकारात्मक कुराको बीजारोपण हुनेछ । तर, त्यो सकारात्मक चेतको विकास हुन नसक्नु नै अहिलेको दुर्भाग्य हो ।

परिणामस्वरूप परम्परा, संस्कार र संस्कृतिको नाउँमा हुने विभेद र उत्पीडनको भागीदार पनि महिला नै हुनुपरेको छ । यो समाजमा महिला भएर बाँच्न निकै कठिन छ । एकल महिला वा समाजमा अपहेलित महिलाको अर्को नाम नै ‘बोक्सी’ हुने गरेको छ ।

आफूलाई अलौकिक शक्ति धारण गरेको फुईं लगाएर उत्पीडनलाई बढावा दिने कथित गुरु वा माताले आफूलाई जीवित भगवान ठान्ने अनि तिनै दुःखी र असहाय निरीह महिलाहरूलाई बोक्सीको आरोप लगाएर हिंसा गर्ने गर्दछन् । तर कहीं कतै पनि कुनै पुरुषले यी र यस्ता आरोपहरूको सामना गर्नुपर्ने अवस्था हालसम्म निर्माण भएको छैन । अनि निर्ममतापूर्वक महिलालाई विभिन्न आरोपमा दुःख दिइरहेका हुन्छन् ।

कथित महिला माताले पनि महिलालाई नै बोक्सी अनि पिचासको आरोप लगाउँदछन् । कुनै पनि पुरुषले यी र यस्ता जघन्य आरोप भोग्नुपर्दैन । उनीहरूले त्यस किसिमको उपमा प्राप्त गर्नुपर्ने अवस्था आउँदैन । आखिर किन ? किन यो समाजले महिलालाई यस्तो कमजोर स्थितिमा पुर्‍याउँछ ?

पुरुषले आरोप लगाउँदा पुरुष मानसिकताको उपज हो भन्न सकिन्थ्यो । तर, महिला माताहरूले नै विभिन्न महिलालाई विभिन्न प्रकारका आरोपमा आरोपित गराई सत्तोसराप गरेको देख्दा–सुन्दा भने अचम्म लाग्छ । जसले पनि महिलालाई नै खराब देख्ने, महिलालाई नै हिंसा गर्ने, महिलालाई नै शोषण गर्ने किन ?

के यो समाजको कुरीति र कुसंस्कारको भागीदार चैं महिला नै बन्नुपर्ने हो ? बोक्सी, पिचास जस्ता अनेकन् खराब विशेषण धारण महिलाले नै गर्नुपर्ने ? अनि समाजमा कथित माता तथा गुरुहरूले दैविक शक्ति प्राप्त गरी के–कस्ता सकारात्मक पहल गरे ?

डाक्टरले निको पार्न नसकेको कसको कुन रोग निको भयो ? समाजलाई खराब चिन्तन र व्यवहारबाट टाढा राख्ने के पहल गरे ? सबैलाई असल बनाउन कसले छेक्यो ? त्यही अलौकिक शक्ति प्र्रयोग गरी समाज किन नसुधारेको ?

पीडितलाई थप पीडा दिन, दुःख र कष्ट थपिदिन बाहेक ती कथित माता र गुरुहरूले कुनै काम गरेका छैनन् । यदि तिनको प्रभावले काम गर्दथ्यो भने यत्रो मेडिकल शिक्षाकै जरूरी हुने थिएन । भगवान भरोसामा रोग निको हुनुपथ्र्यो । अनि किन खर्चिनुपर्ने उपचारका लागि अस्पतालमा लाखौं लाख ? कुनै एउटा बन्द कोठामा झारफुक गरेर मात्रै निको भइरहनुपर्ने ?

कुसंस्कार र कुरीतिजन्य व्यवहार छाड्दै सुसंस्कारजन्य व्यवहार अँगाल्नुपर्छ । विभिन्न बहानामा हुने लैंगिक, जातीय वा सबै प्रकारका भेदभाव दण्डनीय हुन्छ । यस्तो भेदभाव र विभेदको समूल अन्त्य गरी सद्भावपूर्ण समाज निर्माणमा लाग्नुपर्छ ।

बोक्सीको नाममा कुटपिट गरी विभिन्न स्थानमा मान्छे मारिएका समाचार नआउनुपर्ने हो । तर, यी सबै भ्रम हुन् । यी सबै शोषण र उत्पीडनका हतियार हुन् । यी सबै हिंसाका आधुनिक स्वरूप हुन् । महिला हिंसाका अवशेष हुन् । अमानवीय हर्कतका नमूना हुन् ।

त्यसैले यी र यस्ता वाहियात् कुराहरूलाई अब दुत्कार्दै समतामूलक समाज निर्माण गर्नु जरूरी छ । परम्परा, संस्कार र संस्कृतिका नाममा विकृतिजन्य व्यवहार अवलम्बन गर्ने होइन । कुसंस्कार र कुरीतिजन्य व्यवहार छाड्दै सुसंस्कारजन्य व्यवहार अँगाल्नुपर्छ । विभिन्न बहानामा हुने लैंगिक, जातीय वा सबै प्रकारका भेदभाव दण्डनीय हुन्छ । यस्तो भेदभाव र विभेदको समूल अन्त्य गरी सद्भावपूर्ण समाज निर्माणमा लाग्नुपर्छ ।

नारी–पुरुष एकअर्काका सहयात्री र सहयोगी हुन् । दुवैको अस्तित्व स्वीकार गर्दै सहयात्राका साथ अघि बढ्नुपर्छ । जहाँ महिलाको सम्मान हुन्छ, त्यही समाज अग्रगामी हुन्छ । त्यही समाज समृद्ध अनि प्रगतिशील हुनेछ । त्यसकारण सबै प्रकारका विभेदजन्य व्यवहारको अन्त्य नै समृद्ध समाज निर्माणको आधार हो । जसका लागि सबैभन्दा पहिले यो समाजलाई भ्रम र अन्धविश्वासबाट मुक्त गर्न जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?