+
+

७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन स्थानीय तहलाई सामान्य प्रशासनको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १७:३७

१२ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई सात दिनभित्र हाजिर गराउन सम्बन्धित स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

मन्त्री मोदी आएपछि १२ वटा स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासनबाट खटेका प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर गर्न नदिने भन्दै पत्र थमाएर पठाएका थिए ।

मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरिसकेको उनको सचिवालयले जनाएको छ ।

‘मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका/गाउँपालिकाले प्रचलित कानुन अनुसार हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पत्रको मितिले ७ दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनुहुन निर्देशन छ’ मन्त्रालयले सम्बन्धित स्थानीय तहहरुलाई गरिएको परिपत्रमा भनिएको छ ।

मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका/गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?