+
+

पोखरामा दिनदहाडै चोरी हुन्छन् मोटरसाइकल

चालु आर्थिक वर्षमा २० वटा उजुरी, एउटामात्रै भेटियो

विकास रोकामगर विकास रोकामगर
२०७९ चैत १३ गते १५:३८

१३ चैत, पोखरा । टाउकोमा हेल्मेट लगाएर एक जना युवक अघिअघि छन् । उनीहरुसँग आफ्नो सवारी साधन हुँदैन । उनीहरुको पछिपछि अरु २ जना युवक हुन्छन्, उनीहरुको हातमा हतियार पनि हुन्छ ।

अघिअघि हिँडिरहेका युवक बाटोमा रोकिराखेको ग १२ प ८६५७ नम्बरको मोटरसाइकल एकैछिनमा आफैं स्टार्ट गरेर हुइँक्याउँदै लैजान्छन् । फागुन ३० गते पोखराको बुलौंदीमा मोटरसाइकल चोरी गर्दै गर्दाको सीसीटिभी फुटेजमा कैद भएको दृश्य हो यो ।

त्यही दिन नै राति पोखरा सिद्धार्थचोकबाट ग १८ प ८६१७ नम्बरको मोटरसाइकल चोरी भयो । खोज्दै जाँदा चोरी भएको मोटरसाइकल फेला पर्‍यो । तर, चोरी गर्ने व्यक्ति फेला पार्न सकेन ।

चैतको पहिलो हप्ता नै गण्डकी मेडिकल कलेज अगाडिबाट एउटा स्कुटर चोरी भयो । सीसीटीभी फुटेजमा चोरी भइरहेको कैद भए पनि अहिलेसम्म कसले लग्यो थाहा पत्तो हुन सकेको छैन ।

चैत ११ गते राति पोखरा नयाँबजारमा रहेको वाइफाइभ रेस्टुरेन्टबाट स्कुटर चोरी भयो । सीसीटिभी फुटेजमा कैद भएको दृश्यअनुसार एक जना युवक आउँछन् र एकैछिनमा सजिलैसँग स्कुटर स्टार्ट गरेर हुइँक्याउँछन् ।

‘सीसीक्यामेरा देखेपछि मास्क लगाउँछन् र छेउमा अर्को व्यक्तिको हेल्मेट लगाएर आफ्नै जसरी सजिलैसँग लैजान्छ’, अभिमन्यु पाण्डे भन्छन्, ‘पछि स्कुटर विशाल बजार छेउमा भेटियो । चोरी गर्ने भेटिएन ।’

पोखरा विन्ध्यवासिनीका गणेश खनालले २२० सीसीको मोटरसाइकल हराएको १३ औं दिनसम्म फेला पारेका छैनन् । प्रहरीमा उजुरी गरे पनि करिब २ हप्ता बित्न लाग्दासमेत उनले कुनै जानकारी पाउन सकेका छैनन् ।

यी त केवल दुई पांग्रे सवारी साधन चोरीका प्रतिनिधि घटनामात्रै हुन् । पछिल्लो केही समययता पोखरामा दिनदहाडै दुई पांग्रे सवारी साधनको चोरी एकाएक बढेर गएको छ । कहिले एक्लै त कहिले २, ३ जनाको समूहमा आउने र आफैं मोटरसाइकल, स्कुटर सजिलैसँग स्टार्ट गर्दै चोरी भइरहेको पीडितहरुले बताएका छन् ।

‘चाबी मैसँग थियो । तर, आफ्नै मोटरसाइकल भए जसरी ३, ४ मिनेटको बीचमै आफैं स्टार्ट गरेर लैजान्छन्’, गणेशले भने, ‘अर्को दिन नै प्रहरीमा खबर गरे पनि भेटिएको छैन । खोज्दैछौं भन्नुहुन्छ ।’

सीसीटीभी क्यामेरामा कैद भएको फुटेजअनुसार दुई पांग्रे सवारी साधन चोरी गर्ने गिरोह पेशेवर नै भएको पुष्टि हुने उनीहरुको दाबी छ । ‘उनीहरुसँग सायद कुनै मास्टरकी हुन्छ होला । कति सजिलैसँग स्टार्ट गरेर लगेको भिडियोमा देखिन्छ । यस्तो घटना बढ्दै गयो भने त चाबी लगाएर राख्दा पनि बाइक, स्कुटरहरु सुरक्षित हुने देखिएनन्,’ अभिमन्यू पाण्डेले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पनि कास्कीमा पछिल्लो समय दुई पांग्रे सवारी साधन चोरीको घटनाबारे पर्ने उजुरीको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार चालु आर्थिक वर्षमा मात्रै २० वटा मोटरसाइकल, स्कुटर हराएको उजुरी परेको छ ।

चोरी भएकामध्ये केही मात्रै प्रहरीमा पुग्ने र बाँकीले आफ्नै तरिकाले खोजी गर्ने भएकाले चोरी संख्या अझै धेरै हुन सक्ने डीएसपी विकको भनाइ छ । ‘मोटरसाइकल हरायो भनेर प्रहरीकोमा उजुरी आउँछन् । तर, कतिपय अवस्थामा आफूले पनि आफ्नो हिसाबमा खोज्ने काम भइरहेकै छन्’, उनले भने ।

मोटरसाइकल, स्कुटर धनीले सुरक्षाका लागि सामान्य सुरक्षा विधिहरु पनि नअपनाउँदा चोरीको घटना बढेको डीएसपी विक बताउँछन् । ‘ह्यान्डिल लक गर्ने, एकान्तमा राख्ने मोटरसाइकल राख्नेलगायतले पनि चोरी बढेको देखिन्छ’, उनले भने, ‘तर, कतिपय अवस्थामा पेशेवर व्यक्तिहरुबाट पनि चोरी भइरहेको हाम्रो बुझाइ छ ।’

तर, दिनदहाडै पोखराका मुख्यमुख्य बजार क्षेत्रबाटै धमाधम मोटरसाइकल, स्कुटर चोरी घटना बढिरहँदा पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । चालु आर्थिक वर्षमा दर्ता भएका २० घटनामध्ये प्रहरीले एउटामात्रै मोटरसाइकल फेला पार्न सकेको छ ।

चोरी भएका मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरेर प्रायः ग्रामीण भेगमा पुर्‍याउने र बाँकीको पार्टपूर्जा निकालेर बिक्री वितरण गर्ने हुँदा फेला पार्नै मुस्किल हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी विक बताउँछन् ।

तर, आफूहरुले खोजी कार्यलाई भने निरन्तरता दिइरहेको उनको दाबी छ । ‘हाम्रोमा आएको उजुरीको विषयलाई गम्भीर रुपमा लिएर सम्बन्धित निकाय सबैसँग समन्वय गरेर खोजी गरिरहेकै छौं,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?