+
+

वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १५:०९

१४ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ कट्ठा १० धुर अतिक्रमित जग्गा खाली गरेको छ । महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिकैको अतिक्रमित २ कट्ठा १० धुर जग्गा खाली गरेको हो ।

यो जग्गा केहि व्यक्तिले वर्षौंदेखि अतिक्रमण गरेर प्रयोग गरिरहेका थिए । मंगलबार नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा फिर्ता लिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

महानगरको सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएका छन् । महानगरले जग्गा खोजी गर्न ऐलानी पर्ति जग्गा छानबिन समिति नै गठन गरेर अभियान चलाएको छ ।

महानगरले ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाएको छ । सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको महानगरका मेयर राजेशमान सिंहले बताए । हरेक वडामा सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको उनले जानकारी दिए ।

गत फागुनमा वडा नम्बर १९ मा करिब १६ विघा जग्गा अतिक्रमण मुक्त गराएको थियो । भने २६ माघमा सर्वोच्च अदालतले लिखत दर्ता बदर गरेको ८ वर्षसम्म व्यक्तिको कब्जामा रहेको नगर विकास समितिको १० धुर जग्गा खाली गराएको थियो ।

अदालतबाट सार्वजनिक कायम भएको जमिन व्यक्तिको कब्जामा

वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीमा तीनै तहको अदालतबाट सार्वजनिक कायम भएको जमिन अझै पनि व्यक्तिको कब्जामा रहेको पाइएको छ ।

०६६ सालमा अदालतबाट सार्वजनिक कायम भएको कित्ता नं. १०९ को ८ कठ्ठा ११ धुर जग्गा अझै व्यक्तिले उपभोग गर्दै आएका छन् ।

उक्त जग्गा सार्वजनिक कायम गर्न माग राख्दै परेको रिट निवेदनमा २०६९ मंसिर १९ मा पर्सा जिल्ला अदालतले पक्षमा फैसला गरेको थियो । विपक्षीको नाउँमा भएको दर्ता निर्णय बदर गरी जग्गा सार्वजनिक कायम हुने आदेशमा उल्लेख थियो ।

सर्वोच्च अदालतले वि.सं.२०६६ वैशाख १३ र पुनरावेदन अदालत हेटौंडाले २०६२ चैत ८ गते गरेको फैसला बमोजिम पनि सार्वजनिक कायम हुने ठहर भएको थियो । त्यसैको आधारमा जग्गा सार्वजनिक कायम गरी जग्गाधनी प्रमाणपूर्जा महानगरमा पठाइ दिनुहुन मालपोत कार्यालय पर्सासँग अनुरोध गर्दै चैत १३ मा पत्राचार गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?