+
+

स्वीडेनमा यसरी हुर्काइन्छ बालबच्चा

प्रा. डा. कटक मल्ल प्रा. डा. कटक मल्ल
२०७९ चैत १४ गते १७:१६

स्वतन्त्रतासँगै जिम्मेवारी कसरी बहन गर्ने भन्ने ज्ञान बालबालिकालाई सिकाइनु स्वीडिसको विशेषता हो । स्वीडेनमा बच्चा हुर्काउने जिम्मेवारी परिवार, स्कुल र राज्यको समान भूमिका हुन्छ । घरमा बुबाआमाले दिने हेरचाह, सिकाइ त छँदैछ, साथै नयाँ सीप, सिर्जनशील पाठ्यक्रम स्कुलबाट र राज्यले पढाइको खर्च व्यहोर्ने गर्छ । जसले गर्दा अभिभावकलाई सन्तान हुर्काउन त्यति कठिन हुँदैन ।

बच्चा जन्माउनुअघि बाबुआमालाई तालिम 

स्वीडेनमा राम्रो व्यवस्था के छ भने गर्भवती महिला र उनको श्रीमानलाई बालबच्चा कसरी हुर्काउने भन्ने सम्बन्धी तालिम दिने गरिन्छ । गर्भधारण हुने बित्तिकै बुबाको भूमिका के हुन्छ भन्ने कुरालाई पनि महत्व दिइन्छ । गर्भवती महिलाको स्वास्थ्य परीक्षण गराउँदा श्रीमान् पनि अनिवार्य जार्नैपर्छ । स्वास्थ्य परीक्षणपछि चिकित्सकले दिएको सुझाव दम्पतीले सुन्नुपर्छ । सुत्केरी हुँदा र हुनुअघि के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने कुराको जानकारी त्यसबेला दिइने गरिन्छ ।

बाबुआमाले छोराछोरीलाई दिने समय

स्वीडेनमा बच्चा जन्मिएको एक वर्षसम्म आमाले सुत्केरी बिदा लिंदा कमसेकम तीन महिना बाबुले पनि बिदा लिनुपर्छ । यस अवधिमा आमाबाबुले बच्चालाई सँगै हेरचाह गर्छन् । यो छुट्टी विशेषगरी बच्चा र बुबाबीचको सम्बन्धलाई बलियो बनाउने अवधारणा हो । यस अवधिमा उनीहरूले बच्चाको हेरचाह गर्ने र घरको अन्य काममा सहयोग गर्ने र आमाले अन्य महत्त्वपूर्ण काममा भाग लिई फुर्सदको समय लिन्छिन् । स्वीडेनमा सानो बालबालिका आमाले मात्र जिम्मेवारी होइन, बाबुले पनि उत्तिकै समय दिनुपर्छ भन्ने नयाँ नियम बनेको छ । जसले बुबा र आमा दुवैको समय राम्रोसँग बालबालिकाले पाउन सक्छन् ।

शनिबार र आइतबार छुट्टीको समयमा बच्चासँग राम्ररी समय बिताउन पाउँछन्, त्यसमा ब्रेकफास्ट, लन्च सँगै गर्ने, सिर्जनशील काम सिकाउनेदेखि घर नजिकैको पार्कमा गएर बाबुआमासँगै बालबालिकाले पनि खेल्ने सुविधा हुन्छ ।

शिष्टतापूर्ण जीवनशैली

स्वीडेनमा शिष्टतालाई विशेष महत्व दिइन्छ । बाबुआमाले खाना मुखमा राख्दा बोल्न नहुने, आवाज निकालेर चपाउन नहुने, कसरी बस्ने, दायाँ हातले चुरी र बायाँ हातले चम्चा चलाउन सिकाउने, एकअर्कालाई सम्मान दिने र सम्मानपूर्वक बोल्ने, एउटाले बोल्दा अर्को बीचमा नबोल्ने, होच्याएर नबोल्ने, कुनै जिज्ञासाले प्रश्न गर्न हात उठाएर आज्ञा लिने जस्ता शिष्टाचारको पाठ घरमा र डे केयरमा सिकाइन्छ ।

त्यस्तै, आफ्नो लुगा आफैं लगाउने, बेड मिलाउने, जुत्ता–लुगा व्यस्थित रुपमा राख्ने, सरसफाइ गर्ने जस्ता आफ्नो काम आफैं गर्न सिकाइन्छ । जुनसुकै क्रियाकलाप गर्दा पनि अनुशासित शैलीमा गर्न प्रेरित गरिन्छ । यी कुरा घरदेखि किन्डरगार्डेनमा पनि सिकाइन्छ । खाना बनाउन पनि बच्चालाई सँगै राखेर सिकाइन्छ, जसले गर्दा उनीहरुमा खाना बनाउने रुचि र खूबी बढ्ने गर्छ । उनीहरु काम गर्न सिपालु र जागरुक हुन्छन् । त्यहाँ बालबच्चालाई हुर्काउँदा विनम्र, विनयी, शिष्ट र मिलनसार बन्न प्रेरित गरिन्छ ।

पारिवारिक संस्कार

बच्चालाई नैतिकवान् बन्न, सहानुभूति देखाउने, एकअर्काप्रति सम्मान गर्न स्कुले शिक्षादेखि घरमा पनि सिकाइन्छ । त्यस्तै, बच्चाले गल्ती गरेमा स्कुलमा होस् वा परिवारमा कुटपिट गर्न कानुनले वर्जित नै गरिएको छ । गल्ती गरेको खण्डमा उनीहरुलाई सम्झाउने गरिन्छ । बाबुआमालाई पनि बच्चाले गल्ती गरेको खण्डमा कसरी त्यसको समाधान गर्ने भन्नेबारे सिकाइन्छ । बाबुआमामा बच्चा नियन्त्रण गर्ने क्षमता छैन भने तालिम समेतको सुविधा हुन्छ ।

स्वीडेनमा बाबुआमाको सम्बन्ध विच्छेदका घटना पनि निकै हुन्छन् । यस्तो अवस्थामा बालबालिका साताको केही दिन बाबुसँग र केही दिन आमासँग बस्ने गर्छन् । बाबुआमासँगै लामो समयसम्म बस्दा एक किसिमको राम्रो मनोभावना विकसित भएको हुन्छ । डिभोर्स भए पनि सन्तानसँग भेट्न पाउने चलन छ ।

नेपालको जस्तो बाबुआमालाई मान्नुपर्छ भन्ने संस्कार स्वीडेनमा हुँदैन । बालबालिकाले बाबुआमाले गरेको कुरा किन नहोस् सही कुरालाई सही र गलत कुरालाई गलत भन्ने सामथ्र्य राख्छन् । जसले सकारात्मक र नकारात्मक दुवै पक्ष केलाउन मद्दत गर्छ । स्वीडेनमा समानता र सहानुभूतिको भावनालाई विशेष महत्व दिइन्छ ।

बालबालिकाको स्वभाव

बालबालिकालाई शिक्षालाई निकै प्रभावित पारेको छ । धर्मको भन्दा पनि विज्ञानको प्रभाव छ स्वीडेनमा । उनीहरु कसैको कुरामा सहमति जनाउनु भन्दा पनि आफैं आलोचनात्मक रुपमा सोच्छन् र आफ्नो बुद्धि विवेकले सही र गलत छुट्याउने गर्छन् । उनीहरुमा दयालु भावना हुन्छ । समाज, परिवार र मुलुकप्रति नै उनीहरुले सद्भाव राख्छन् ।

सामाजिक व्यवहार

डे केयरमै हुँदा एकले अर्कोलाई कसरी व्यवहार गर्ने, कसरी सम्मान गर्ने, समाजको परिभाषा र महत्व सिकाइन्छ । बालबच्चालाई एकता कसरी गर्ने, एकअर्कामा सहजता विकास गर्नेलगायत कुरामा स्कुलको अधिकतम प्रयत्न रहन्छ । त्यस्तै, परिवारले पनि सामाजिक रुपमा घुलमिल गराउन पार्कमा लैजाने, सामाजिक काममा सरिक गराउने र जमघटका कार्यक्रम गर्छन् ।

धर्म, संस्कार र विज्ञान

स्वीडेनमा प्रायः मानिसले क्रिश्चियन धर्म मान्ने भएपनि सबै धर्मलाई सम्मान गरिन्छ । बाबुआमाले मानेको धर्म उनीहरुको छोराछोरीले पनि मान्नुपर्छ भन्ने हुँदैन । उनीहरु स्वतन्त्र रुपमा आफूले चाहेको धर्म मान्न, नमान्न सक्छन् । स्कुलमा पनि अहिले विश्वव्यापी मान्यता, बौद्ध, क्रिश्चियन, इस्लाम धर्मका कुरा पाठ्यक्रममा हुन्छन् । उनीहरुले विज्ञानलाई आधार मानेर अघि बढ्छन् ।

स्कुल वा डे केयरबाट नै व्यवहार गर्न सिकाइन्छ

९० प्रतिशत स्कुल वा डे केयरबाट नै बालबालिकालाई सामाजिक र मानवीय व्यवहार गर्न सिकाइन्छ । एकअर्कामा सहयोगको भावना, मेलमिलाप, एकता, शिक्षा, ज्ञान र प्रविधिबारे सिकाइन्छ । जसले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा बालबालिका प्रभावित भएको देखिन्छ ।

बालबालिकालाई डेढ वर्षको उमेरपछि तालिमप्राप्त शिक्षक–शिक्षिकाहरुबाट उनीहरुलाई डे केयरमा पठाइन्छ । त्यहाँ उनीहरुलाई अक्षर चिन्न पनि गीत गाएर, विभिन्न खेल खेलाएर, अभिनय गरेर देखाइन्छ, जसले मनोरञ्जन लिएर सिकाएका कुरा सजिलै टिप्न सक्छन् । डे केयरमा सामान्यतया बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म राखिन्छ । जाने बित्तिकै ८ बजे ब्रेकफास्ट, २ बजे लञ्च गराउने, निद्रा लागेमा सुत्ने व्यवस्था पनि डे केयरमै हुन्छ ।

२ बजेपछि समय दिन सक्ने परिवारले घर लिएर जान्छन् भने कामकाजी अभिभावकले थप शुल्क तिरेर ५ बजेसम्म डे केयरमै खेलकुद गराएर राख्न पनि सक्छन् । डे केयरमा परिवारको कमाइको आधारमा केही शुल्क छुट्याइएको हुन्छ । डे केयर, प्ले ग्रुप वा किन्डरगार्डेन सरकारी र निजी दुवै हुने भए पनि स्वामित्व भने सरकारको नै हुन्छ ।

डे केयरमा पठाउँदा काम गर्ने आमाबुबामध्ये जसले सन्तानसँग समय बिताउने समय हुन्छ उसले लिन जानुपर्छ । बालबालिकालाई स्कुलदेखि घरमा सिर्जनशील बनाउन धेरै महत्व दिइन्छ । घर बनाउन सिकाउने काठका सामग्री, किन्डरगार्डेनमा हुँदा आर्टिफिसियल इन्टेलिजेन्सका कक्षा, नृत्य, संगीत र खेलकुदका कक्षा लिन पनि लगाइन्छ ।

६ वर्षको उमेरमा बालबच्चा अक्षर चिन्ने र बोल्ने कुरामा निकै परिपक्व भइसकेका हुन्छन् । त्यसपछि बल्ल उनीहरुको विद्यालय सुरु हुन्छ । विद्यालयमा पनि उनीहरुलाई पढाइकै लागि जबर्जस्ती गरिंदैन । रोजाइअनुसार उनीहरुले पढ्न सक्छन् । उनीहरुको ३, ६ र ९ कक्षामा मात्र राष्ट्रियस्तरको परीक्षा लिने गरिन्छ, जुन पढाउने शिक्षक र पढ्ने विद्यार्थीको मूल्यांकनको लागि सञ्चालन गरिन्छ । आधुनिक समाजमा हुने प्रतिस्पर्धाबाट स्वीडेन पनि प्रभावित देखिन्छ । स्कुलमा युनिफर्म हुँदैन ।

स्कुलमा हरेक ६-६ महिनामा जिम्मेवार शिक्षक नियुक्त गरिन्छ । सो शिक्षकले बाबुआमालाई ६ महिनामा बोलाएर बैठक राख्छन् । बैठकमा डेढ घण्टा जति भलाकुसारीमा बच्चाको प्रगति विवरणबारे छलफल हुन्छ । के कस्ता विषयमा कमीकमजोरी छन्, ती कुरा देखाएर सहयोग गर्न अभिभावकलाई निर्देशन दिइन्छ ।

बच्चाको नयाँ विषय जस्तै, संगीत, कला र साहित्यमा रुचि छ कि छैन भनेर बुझिन्छ । र, त्यसमा लाग्न पनि सल्लाह दिइन्छ । यद्यपि जबर्जस्ती पढ्ने पर्छ भनेर बालबालिकालाई दबाब भने दिंदैन । त्यसैले, भविष्यमा पनि इच्छाअनुसारको करिअर उनीहरुले बनाउन सक्छन् ।  स्वीडेनमा पीएचडीसम्म निःशुल्क पढ्न पाइन्छ । उनीहरुको पुस्तकदेखि उनीहरुलाई आवश्यक पर्ने हरेक कुरा सरकारले व्यहोर्ने गर्छ ।

१८ वर्षदेखि आफैं बस्न सक्छन्

१८ वर्षदेखि सरकारबाट पढ्न ऋण पाउँछन्, जसकारण उनीहरु आफैं बस्न पाउँछन् । उनीहरुको आफ्नै समाज हुन्छ, आफैंले रोजेको साथीसँग प्रेम, विवाह हुने गर्छ । यद्यपि बाबुआमासँग लगाव नै नहुने भन्ने हुँदैन । बाबुआमा र छोराछोरी एक ठाउँमा बसेपछि समय-समयमा भेट्छन् ।

स्वीडेन चाइल्ड केयरबाट नेपालले के सिक्ने ?

एउटा समाजबाट अर्को समाजमा रुपान्तरण गर्न असम्भव नै छ, यद्यपि बालबच्चाप्रति गरिने व्यवहार, उनीहरुलाई सिकाइने आचरण एकदमै अनुकरणीय छन् । उनीहरुले व्यावहारिक ज्ञानलाई बढी महत्व दिन्छन् । बालबच्चालाई विद्यालयमा पनि पास गराउने भन्दा कुनै ज्ञान, सीप आर्जन गर्ने वातावरण बनाइन्छ । उनीहरु प्रायः सबै कुरामा आफैं सक्षम हुनुपर्छ भन्ने मान्यता राख्छन्, अरुको भर पर्दैनन् ।

बालबच्चालाई श्रमप्रति सम्मान गर्न, सही–गलत छुट्याउन, शिष्टता देखाउन, मेहनत गर्न, सबैलाई सम्मान गर्न, नातावादप्रति नलाग्न स्वीडेनमा सिकाइन्छ, जुन हामीले सिक्न सक्छौं ।

(मल्ल स्वीडेनको स्टकहोम विश्वविद्यालय र कार्लस्टाड विश्वविद्यालयमा प्राध्यापनरत् छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?