+
+

प्रचण्डले ‘समिट फर डेमोक्रेसी’ मा भिडियो सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते २०:३२

१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी २०२३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिडियो सम्बोधन गर्ने भएका छन् ।

मंगलबारदेखि दुई दिनसम्म चल्ने सम्मेलनमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बोधनको रेकर्डेड भिडियो पठाइसकेको छ । मंगलबार समिटमा त्यसको प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डको भिडियो सम्बोधनमा नेपालको मानवअधिकारको अवस्था र लोकतन्त्रका लागि सरकारले चालिरहेका पहलबारे बोल्ने जनाइएको छ ।

अमेरिकाले यो सम्मेलन कोस्टारिका, नेदरल्याण्डस, दक्षिण कोरिया र जाम्बियासँग मिलेर आयोजना गर्दैछ । यसअघि ९ र १० डिसेम्बर २०२१ मा राष्ट्रपति बाइडेनले पहिलोपटक ‘समिट फर डेमोक्रेसी’ को आयोजना गरेका थिए । उक्त सम्मेलनमा नेपालबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भर्चुअल माध्यमबाट नै सहभागी भएका थिए ।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै गत १५ र १६ माघमा नेपालको दुई दिने भ्रमण गरेकी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री प्रचण्ड र तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समिटमा नेपालबाट उच्चस्तरीय सहभागिताको विषयमा छलफल गरेकी थिइन् ।

त्यसको केही समयपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले पनि प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएको थियो ।

समिट फर डेमोक्रेसी अमेरिकी राष्ट्रपति बाइडेनको व्यक्तिगत इच्छा र पहलमा सुरु गरिएको हो, ‘समिट फर डेमोक्रेसी’ । अमेरिकाले विश्वभर लोकतन्त्र स्थापना र कार्यान्वयन तथा मानवअधिकार संरक्षण गर्ने दाबीसहित यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसपटक अमेरिकाले १२० वटा मुलुकलाई समिटमा सहभागी हुन निम्तो दिएको छ । अघिल्लोपटक सहभागी नभएका बोस्निया, हेर्जेगोभिना, जाम्बिया, होन्डुरस, आइभरी कोस्ट, मौरिटानिया, मोजाम्बिक, तान्जानिया, र लिन्चेस्टिनलाई पनि आमन्त्रण गरेको छ । तर अमेरिकी सैन्य संगठन नाटोमा आवद्ध टर्की र हंगेरीलाई भने यसपटक निम्तो गरिएको छैन ।

अमेरिकाले समिट फर डेमोक्रेसी आयोजना गरेको अघिल्लो दिन मात्रै चीनले पनि एसियाली मुलुकहरूको सहभागितामा बोआओ फोरम आयोजना गरेको छ । उक्त फोरममा चीनले नेपाललाई पनि आमन्त्रण गरेको थियो । गत १० फागुनमा नवनियुक्त चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै निमन्त्रणा गरेका थिए । तर उक्त सम्मेलनमा भने प्रचण्डले सहभागिता जनाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?