 
																						१५ चैत, पोखरा । निःशुल्क एम्बुलेन्स सेवा दिने, विदेशी डाक्टरलाई ल्याएर घरघरै ज्येष्ठ नागरिकको उपचार गर्ने, सुरक्षाका लागि टोल–टोलमा सिसी क्यामरा जडान गर्ने जस्ता काम गरिरहेको पोखरा महानगरपालिकाको वडा नम्बर १२ ले अर्को नयाँ कामको थालनी गरेको छ ।
वडा तहबाटै जनताले स्थानीय सरकारका सेवा पाउँछन् भन्ने महसुस गराउन लागिपरेका सन्तोष बास्तोला नेतृत्वको वडाले अब मोबाइलबाटै सेवा लिन मिल्ने गरी एप सञ्चालनमा ल्याएको छ भने प्लास्टिक व्यवस्थापन र प्रयोगमा नमूना बन्ने गरी ठूलो परियोजना वडामा सुरु गरेको छ ।
वडाका सबै सेवा मोबाइल एपबाटै लिन सक्ने सुविधाको सुरुआत र प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि दातृ निकायसँग मंगलबार एकसाथ सम्झौता भएको छ ।
वडाको सेवालाई पेपरलेस बनाउने गरी जन्मदर्ता, विवाहदर्ता, नाता प्रमाणित लगायत सेवा दिने एपको वडाध्यक्ष सन्तोष र पोखराका मेयर धनराज आचार्यले मंगलबार सार्वजनिक गर्दै काम थालिएको हो । युगअनुसारको सेवा दिने प्रयास वडाले गरेको बास्तोलाको भनाइ छ ।
पोखरा महानगरपालिकाका मेयर आचार्यले पोखरालाई प्रविधिमैत्री बनाउन वडा–वडा तहबाटै काम थालिएको दाबी गरे । सूचना प्रविधिको युगसँगै महानगरको सेवालाई डिजिटलाइज्ड गर्ने योजना अगाडि सारेको उनले बताए । वडाले थालेको यो कामप्रति नयाँ पुस्ता उत्साहित देखिएका थिए ।
पोखरा–१२ ले मंगलबार नै प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नमूना प्रस्तुत गर्ने लक्ष्यसहित ८० लाख रुपैयाँको परियोजना थालेको छ । फोहोरमैला व्यवस्थापनमा शून्य प्लास्टिकको योजनालाई विकास र कार्यान्वयन गर्ने गरी पोखरा महानगरपालिका–१२ ले युएनडीपी, सेन्टर फर इनर्जी एन्ड इन्भायरमेन्ट नेपाल, ब्लु वेस्ट टु भ्यालु र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिबीच सम्झौता गरेको हो ।

प्लास्टिकको प्रयोगमै न्यूनीकरण गर्नेदेखि, पुनर्प्रयोग, प्लास्टिकलाई वातावरणमैत्री वैकल्पिक विकासमा लगाउने, स्थानीय सामग्रीको प्रयोगमा सचेतना जगाउने लगायत काम परियोजनामार्फत गर्ने सम्झौतामा छ ।
प्लास्टिकमुक्त घोषणा भए पनि कार्यान्वयन हुन नसकेको पोखरामा वडा तहले पनि प्लास्टिक पिच निर्माण गर्नेदेखि पुनर्प्रयोग र व्यवस्थापनमा नयाँ सन्देश दिन लागिपरेको छ । प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा पोखराका मेयर धनराज आचार्य, वडाध्यक्ष सन्तोष बास्तोला र युएनडिपीको जिइएफ एसजिपी परियोजनाका देशीय संयोजक विवकेधर शर्मा लगायतले हस्ताक्षर गरेका छन् ।
तत्काल परियोजनाले वडामा प्रयोग हुने प्लास्टिक र त्यसको व्यवस्थापनबारे अध्ययन गर्ने छ । यो परियोजनाले वडाभरका पसल, सामान बिक्री केन्द्रमा वातावरणमैत्री कपडाका झोलाको अनिवार्य प्रयोग सम्बन्धी नीति बनाएर कार्यान्वयनमा ल्याउने वडाको भनाइ छ ।
यो परियोजनाले मोबाइल खानेपानीको अवधारणा विकास गर्दै नयाँ बोटल किन्न कम गराउने लक्ष्य लिएको छ । पानी भर्दै खान मिल्ने गरी खानेखानीका धारा ठाउँ–ठाउँमा राख्ने र बोटल कम प्रयोग गर्न सचेतना अपनाउने बास्तोलाको योजना छ ।
ब्लु वेस्ट टु भ्यालुका सिइओ नविनविकास महर्जनले परियोजनामार्फत प्लाष्टिकको प्रयोगमै कमी ल्याउने बताए । कामै नलाग्ने भनी फालिने फोहोर पनि संकलन गरी बाटो पिच गर्ने प्रविधिमा लगाउनेदेखि इँटा पनि बनाउने महर्जनको भनाइ थियो । पोखरा महानगरसँगको समन्वयमा २ सय मिटर सडक प्लाष्टिकले कालोपत्रे गरिने पनि महर्जनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4