+
+

नगरकोटको सडकमा शैलुङ कन्स्ट्रक्सनलाई अर्को मौका

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १७:४८
फाइल तस्वीर

१५ चैत, काठमाडौं । ९ वर्षअघि ठेक्का लिएको कमलविनायक–नगरकोट सडक सम्पन्न नगर्ने शैलुङ कन्स्ट्रक्सनलाई सरकारले थप मौका दिएको छ । प्रतिवद्धताअनुसार काम नगरेपनि पटक–पटक शैलुङ कन्स्ट्रक्सनले पटक–पटक थप समय पाउँदै आएको छ ।

१३ चैतमा एक सूचना जारी गर्दै सडक विभाग अन्तरगतको सडक सुधार तथा विकास परियोजनाको निर्देशनालयले १४ दिनभित्र कामको गति नसुधारे ठेक्का तोड्ने चेतावनी दिएको छ ।

चेतावनी लगत्तै शैलुङले पुरानै शैलीमा साइटमा गति बढाएको छ । सडक सुधार तथा विकास योजना कार्यालय काठमाडौंका प्रमुख गौतमकुमार श्रेष्ठ सूचनापछि आयोजनामा ठेकदार शैलुङ कन्स्ट्रक्सनले कामको गति बढाएको बताउँछन् ।

‘एक किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ, ५ वर्षअघि नै कालोपत्रे गरिएका सडक मर्मत पनि गर्नुपर्ने छ,’ उनले भने,‘अहिले ठेकेदार साइटमा काम गर्दछ, काम धमाधम गरिरहेको छ, १४ दिनको प्रगति हेरेर निर्णय लिन्छौं ।’

३ आसर २०७३ सम्म निर्माण सक्ने गरी २२ जेठ, २०७७मा यो सडकको ठेक्का सम्झौता भएको थियो । साढे १५ किलोमिटरको सडकमा ८ पटक म्याद थप्दा पनिसडक बनिसकेको छैन ।

२०७७ मा स्थानीयले सार्वजनिक स्थलमा शैलुङका सञ्चालक शारदा प्रसाद अधिकारीको फोटो टाँसेपछि कम्पनीले तुरुन्तै कालोपत्रे हुने आश्वासन दिएको थियो । शैलुङका सञ्चालक अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् ।

२८ करोड लागतमा ठेक्का लगाएर विस्तार थालिएको सडक नबनेपछि स्थानीयवासी त्यसपछि पनि पटक–पटक आन्दोलनमा उत्रिएका थिए । शैलुङको लापरवाहीका कारण अलपत्र सडकमा अहिले पनि खाल्डैखाल्डा छन् । यो सडक अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयवासी धुलो र हिलोबाट पीडित छन् ।

समयमा सडक नबनेकाले पर्यटक र स्थानीयवासीहरु हिलो र धुलोको पीडा सहन बाध्य छन् । यसले नगरकोटको पर्यटकीय गतिविधिमा पनि असर परेको छ ।

यो सडकमा राजनीतिक पहुँच प्रयोग गरेर काम नगर्ने, ठेकाको म्याद मात्र थप्ने क्रम रोकिएको छैन ।

विभन्न ठाउँमा निर्माणका सडक भत्कएपछि अलपत्र छाडेर शैलुङ सम्पर्कविहीन हुने गरेको छ । स्थानीयको आन्दोलनले फर्किएपनि प्रतिवद्धता अनुरुप काम गरेको एउटै उदाहरण छैन ।

गत १८ फागुनमा स्थलगत अनुगमनपछि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण कमलविनायक–नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताएका थिए ।

जनताले गरेको गुनासो जायज भएको भन्दै उनले अब काम गरेर देखाउने बताएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडक अनुगमन गरेपछि पनि कामको गति बढेको थिएन ।

विभागले ताकेता गरेपछि केही दिनदेखि ठेकदार कम्पनीले काम गर्न त थालेको छ, तर काम नसकी विगतकै जसरी साइट छाड्ने त्रास स्थानीयहरुलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?