News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीले बेपत्ता बनाएका आफन्तको खोजीमा आएका परिवारले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप पर्चा टाँस्दै सोधीखोजी गरेका छन्।
- थानकोटकी सन्तोषी अधिकारीले बाढीमा सानिमा र सानिमाकी छोरी हराएको बताउँदै जीवित भेटिने आस सकिएको र लास भेटिए पनि हुने भनिन्।
- सल्यानकी आशा मगरले भाइ विशाल रोका सम्पर्कविहीन भएको र आफन्तमध्ये १६ जना हराएको बताइन्।
१८ भदौ, काठमाडौं । बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सधैंझैं भिड थिएन। अरू दिनजस्तो रसुवा बाढीपीडितका आफन्त डेस्कमा नाम टिपाउने लामो लाइनमा देखिएनन्। बरु अस्पतालभरि सम्पर्कविहीन मानिसहरूको हुलिया लेखिएका थप पर्चा टाँस्न केही आफन्तहरू मेहनत गरिरहेका थिए ।
अनलाइनखबर अस्पताल पुग्दा पनि थप पर्चा टाँस्ने क्रम जारी नै थियो। प्रतीक्षालयमा देखिने अनुहार बाढीपीडित र उनीहरूका आफन्तहरूको होइन, अन्य रोगका बिरामीका कुरूवा र आफन्तहरू थिए।
यत्तिकैमा थानकोट निवासी सन्तोषी अधिकारी बाढीमा हराएकाहरूको सोधीखोजी गर्न आइपुगिन्। सोधीखोजीको दौडमा टिचिङ उनको पहिलो गन्तव्य थिएन । यसअघि नै उनी ट्रमा सेन्टर र छाउनी अस्पताल पनि पुगिसकेकी थिइन्।

रसुवाको बाढीले उनकी सानिमा र सानिमाकी छोरीलाई बेपत्ता बनाएको छ। जताततै सोधखोज गर्दा पनि नाम नभेटिएपछि उनमा बाँकी रहेको सानोतिनो आशा पनि अब निभिसकेको छ।
‘अब जीवित भेटिएलान् भन्ने आस त छैन, तर लाससम्म भेटिए पनि हुन्थ्यो,’ उनी गम्भीर स्वरमा भन्छिन्।
भदौ १० गते आएको बाढीले ठूला बजार नै अवशेषविहीन बगाएकाले सम्पर्कविहीन आफन्त जीवित छन् भन्ने आस उनको मनबाट पूरै मेटिएको छ। बस्ती र बजारको नामनिशाना मेटिएकोले कुन घर कहाँ थियो भनेर चिन्नै नसकिने अवस्था रहेको उनी सुनाउँछिन्।
‘सबै बजार बगरमा बदलिएका छन्। त्यस्तो दृश्य देखेपछि जीवित छन् भन्ने आस कसरी राख्नु? घर नै चिन्न सकिँदैन,’ उनले निराशाको सुस्केरा हाल्दै भनिन् ।
बाढीले विद्युत् संरचना नै बगाएर लगेपछि मोबाइल चार्ज हुन नसक्दा सकुशल आफन्तसँग समेत सहज सम्पर्क नभइरहेको उनी बताउँछिन्। विद्युत् अभाव टार्न उनले त्यहाँ सोलार उपकरण पठाइन्, तर ती धेरै समय नटिक्ने भएकाले समस्या उस्तै नै छ।
‘त्यहाँ कताबाट हो, १५ मिनेटसम्म मोबाइल चार्ज गर्न दिन्छ रे! त्यही चार्ज टिकुन्जेलमात्र कुरा गर्न पाइन्छ,’ उनी भन्छिन्।
सन्तोषीका अनुसार अझै धेरैले आफ्ना सम्पर्कविहीन आफन्तको जानकारी दिइसकेका छैनन् । प्रशासनिक प्रक्रिया र नियम-कानुनको जानकारीको अभावमा नाम टिपाउन वा खोज्न नआउनेहरू वास्तविक तथ्याङ्कमा जोडिन नसकेको उनको भनाइ छ।
आशाको आँसु
अस्पतालकै प्राङ्गणमा सल्यानकी आशा मगर पनि भावविह्वल हुँदै आफ्ना भाइ विशाल रोका सम्पर्कविहीन भएको सुनाउँछिन्। उनका आफन्तमध्ये १६ जना हराएका छन्।
आफन्त गुमाएको कुरा सुनाइरहँदा उनको गला अवरुद्ध बन्यो । कुरा गर्दागर्दै उनी लामो समय रोइन्।

२६ वर्षीय विशाल रोका कपुरकोट गाउँपालिकाका बासिन्दा हुन्, जो रोजगारीका लागि बाढी प्रभावित क्षेत्रमै पुगेका थिए। ती क्षेत्रबाट सल्यानका थप ५५ जना अझै सम्पर्कविहीन छन्, र कतिपय गाउँपालिका कर्मचारी नै बेपत्ता सूचीमा परेका छन्।
आशा लामो समय बोल्नै सकिनन्। आफन्तवियोगको पीडाले उनलाई नराम्रो गाँजेको छ । सहरको भिड पनि उनलाई शुन्य-शुन्य लागिरहेको छ ।
ननिको आँखाले उनले अस्पतालको भित्तामा टाँसिएका सम्पर्कविहीनहरूका फोटो हेरिरहिन्, साथमा आएकी साथीले उनलाई सम्झाइरहिन्। भाइबारे टिचिङमा कुनै जानकारी नपाएपछि निरुत्तर बाहिरिइन्।
प्रतिक्रिया 4