+
+

चितवन २ मा एमालेबाट पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १६:०१

१७, चैत, चितवन । चितवन क्षेत्र नं. २ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार हुने भएका छन् ।

एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला अध्यक्ष न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । न्यौपानले गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।

एमालेले चितवन क्षेत्र नं. ३ मा कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई सर्मथन गरेपछि न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले माथिबाट नै तानिदिएको थियो ।

एमाले विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएर २०५३ सालदेखि नै पूर्णकालिन भएका न्यौपाने युवा नेता मानिन्छ ।

२०५५ साल  र २०५६ साल गरी दुई पटक अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका न्यौपाने २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्ज भएका थिए । उनी २०७८ पुसमा एमालेको चितवन जिल्ला अध्यक्ष भएका थिए ।

चितवन-२ बाट २ पटक जितेका संविधान सभाका सदस्य कृष्णभक्त पोखरेल नउठ्ने भएपछि न्यौपानेले अगाडि सरेका हुन् । न्यौपानेसँगै डा. तिलचन्द्र भट्टराई र कालिका नगरपालिकाका पूर्व मेयर खुमनारायण श्रेष्ठ गोपीलाई उम्मेदवार आकांक्षीको रुपमा हेरिएको थियो ।

बैशाख १० गतेको निर्वाचनमा कांग्रेससहितको सत्ता गठवन्धनबाट कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने उम्मेदवार बन्ने पक्का जस्तै बनेको छ ।

गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो क्षेत्रबाट जितेका थिए । फर्जी नागरिकता पेश गरेर उम्मेदवार बनेको विषयमा सर्वोच्च अदालतले उनको नागरिकता नै खारेज गरिदिएपछि पुनः उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?