+
+

सूर्य नेपाल च्यालेन्ज : इतिहास रच्दै सदभावलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते २०:३३

१७ चैत, काठमाडौं । सोह्र वर्षका युवा गल्फर सदभाव आचार्यले इतिहास रच्दै सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।

सदभावले अन्तिम दिन ४-अन्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा ३-अन्डर २६९ सहित उपाधि जितेका हुन् । उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई २ स्ट्रोकले माथ दिए ।

सदभाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सूर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन् ।

१६ वर्ष १० महिनाका सदभावले नेपाल नम्बर एक एमरच्योर खेलाडी सुवास तामाङको रेकर्ड तोडेका हुन् । सुवासले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटल जितेका थिए । उनले सन २०१९ मा भुवनलाई नै हराउँदै सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अनुभवी गल्फर भुवन इभन-पार ६८ सहित समग्रमा १-अन्डर २६१ को नतिजामा दोस्रो भए। समग्रमा दोस्रो हुदा प्रोतर्फ भने उनी पहिलो भए । उनले नगद एक लाख प्राप्त गरे ।

तेस्रो दिनका लिडर रबि खड्काले ३-ओभर ७१ को खराब प्रदर्शन गरे । समग्रमा इभन-पार २७२ मा खेल सकाए ।

समग्रमा तेस्रो भएका उनले प्रोतर्फ दोस्रो बन्दै ६५ हजार हात पारे ।

नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबाश तामाङले अन्तिम दिन इभन-पार ६८ मा खेल सकाए । समग्रमा ३-ओभर २७५ को स्कोरमा चौथो भए । उनी एमरच्योरतर्फ दोस्रो भए ।

३-ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५-ओभर २७७ मा प्रतियोगिता सकाए ।

समग्रमा पाँचौ भएका उनले प्रोमा भने तेस्रो हुदै ४६ हजार प्राप्त गरेका छन् ।

समग्रमा ८-ओभर २८० सहित भुवन कुमार रोक्का र धनबहादुर थापाले संयुक्तरुपमा छैटौ स्थान बाँडे ।

भुवनले ८-ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा धनले २-ओभर ७० मा अन्तिम १८ होलको खेल सकाए । प्रोतर्फ चौथो भएका दुवैले ३६ हजार हात पारे ।

भेट्रान गल्फर दीपक मगर र जय राम श्रेष्ठ समग्रमा १०-ओभर २ सय ८२ सहित संयुक्तरुपमा आठौं भए। दीपकले ४-ओभर ७२ र जय रामले २-ओभर ७० मा खेल सकाए ।

प्रो तर्फ छैटौ भएका दुवैले २८ हजार ५ सय प्राप्त गरे । समग्रमा ११-ओभर २ सय ८३ को नतिजामा सञ्जय लामा दशौं भए। उनले आज ३-ओभर ७१ मा खेल सकाए । प्रोतर्फ आठौं भएका उनलाई २४ हजार प्रदान गरियो ।

अन्तिम १८ होलको सुरूवात गर्दा तेस्रो दिनका लिडर रबि भन्दा चार स्ट्रोकले पछि परेका युवा गल्फर सदभावले परिपक्व खेल खेले ।

फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। दोस्रो, चौथो र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे । ३-पारको तेस्रो होलमा एक सट खेर फाले । यसपछि दशौं होलमा बोगी खेपे। उनलाई डिफेन्डिङ च्याम्पियन भुवनले कडा चुनौती दिरहेका थिए । तर सदभावले बिना दबाब १३औं, १६औं र १७औं गोलमा बर्डी प्रहार गर्दा दिनको उत्कृष्ट स्कोर कार्डका साथ पहिलो पटक प्रो र एमरच्योर दुवैतर्फको उपाधि जिते ।

उपाधि जितेपछि खुशी बनेका सदभावले भारतको तरूण सरदेशाई एकेडेमीको प्रशिक्षण र अभिभावकको साथले यो सफलता प्राप्त गरेको बताए ।

भुवनले २-अन्डर ३२ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा पाँचौ होलमा बोगी खेपे । ब्याक नाइनमा लय गुमाएका उनले १०औं, १२औं,१४औं र १८औं होलमा एक-एक सट खेर फाले। ११औं र १३औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-ओभर ३६ मा सकाए।

पहिलो र तेस्रो दिन शीषस्थानमा रहेका रबिले अन्तिम दिन खराब प्रदर्शन गरे। सुरूवात राम्रो गर्दै पहिलो दोस्रो र चौथों होलमा बर्डी प्रहार गरे। तर सातौँ होलमा डबल बोगी खेपेपछि उनले लय गुमाए। लगतै आठौं र नवौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन १-ओभर ३५ मा पुरा गरे। यसपछि दशौं र १६औं होलमा एक-एक सट बचाए पनि १२औं र १५औं होलमा बोगी प्रहार मात्र गरेनन्। अन्तिम होलमा दिनको दोस्रो डबल बोगी खेपे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सूर्य नेपाल प्रालिको प्रायोजनमा प्रतियोगितामा ३० प्रोफेसनल र ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कुल ५४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहिरी, पीजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कार वितरण गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?