+
+

अलपत्र छन् घोराही उपमहानगरका आफ्नै आयोजनाहरू

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ चैत १८ गते १९:४९

१८ चैत, दाङ । अण्डरग्राउण्ड पार्किङ र लिफ्ट सहितको सुविधा सम्पन्न पाँचतले प्रशासनीक भवन बनाउने भन्दै घोराही उपमहानगरपालिकाले ०७८ वैशाख ६ गते टेण्डर खेल्यो ।

२० करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको जिम्मा गौरी–पार्वती/भुसाल बस्नेत जेभीले पायो ।

ठेक्का सम्झौता अनुसार ०८० साल वैशाख ३० गतेसम्म भवन निर्माण भइसक्नुपर्ने थियो । तर निर्माण व्यवसायीले काम नगरेपछि दुई वर्षयता उपमहानगरको प्रशासनिक भवन खाल्डा खनेर छडहरु राखिएको अवस्थामा अलपत्र छ ।

ठेक्का सम्झौतको मिति सकिनै लाग्दा पनि ठेकेदारले अझै काम गरेको छैन ।

बरु भवन निर्माणका लागि खनेको खाडलमा पानी जम्मा भएर पिलर तथा छडमा खिया लागेको । ‘लामो समयमा खाडलमा पानी जम्मा भएर छडहरुमा खिया लागेका छन्’ उपमहानगरका इञ्जिनियर सन्दीप घिमिरले भने, ‘प्राविधिक जाँच गरेरमात्रै भवन निर्माणको काम अघि बढाउन सकिन्छ ।’

काम अलपत्र रहे पनि ठेकेदारले भने हालसम्म ४ करोड बढी रकम भुक्तानी लिइसकेको छ । दुई वर्षसम्म पनि काम अघि नबढाएछि उपमहानगर अहिले आफैँ ठेक्का तोड्ने तयारीमा छ ।

प्रशासनिक भवनमात्र हैन, घोराही उपमहानगरको अर्को आयोजना पनि यस्तै छ । वडा नं. १० को नारायणपुरमा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने भन्दै ०७८ माघमा रोयल विल्डर्स प्रालिलाई जिम्मा दियो ।

६४ लाख ४४ हजार लागतमा ०७९ चैत ३० गतेसम्म निर्माण सक्ने गरी जिम्मा पाएको उक्त निर्माण कम्पनीले अहिलेसम्म काम नै गरेको छैन । बरु ठेक्का सम्झौता भएको वर्षदिन वित्दा ठेकेदार नै सम्पर्क बिहीन छन् । ठेकेदार सम्पर्कमै नआएपछि उपमहानगरले अहिले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

आफ्नै मातहातका योजना अलपत्र

उपमहानगरपालिका आफ्नै योजनामात्र हैन, आफ्नै मातहातका सुरु भएका आयोजनाहरु समेत अलपत्र छन् ।

घोराहीको नेपाल बैंकदेखि घोराही उपमहानगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालयसम्म फुटपात निर्माण तथा सडक कालोपत्रे त्यस्तै एउटा आयोजना हो ।

घोराही बजारदेखि जिल्ला प्रशासन अघिसम्मको सडकमा फुटपाथसहित सडक विस्तार र कालोपत्रे गर्ने गरी वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले ०७७ माघ ८ गते ठेक्का पाएको थियो । उपमहानगरको आयोजना अन्तर्गत १ करोड १५ लाख ३४ हजार लागतमा निर्माण हुन लागेको उक्त सडक गत असरसम्म सम्पन्न भइसक्नुपर्ने हो । तर ठेकेदारले काम नगरेपछि ०७९ चैत ३० सम्म म्याद थपियो । अहिले म्याद सकिन केहीदिन बाँकी हुदा पनि निर्माण कम्पनीले काम गरेको छैन ।

आफ्नै अगाडीको सडक तीनवर्षदेखि अलपत्र परेपछि उपमहानगरले उल्टो आलोचना खेप्नु परिरहेको छ । समयमै बाटो नबन्दा वर्षाको समयमा उपमहानगर अघि पानी जम्ने र हिलो हुन्छ । बाटोमा यात्रा गर्ने र उपमहानगरको कार्यालयमा सेवा लिन पुग्ने नागरिकहरुलाई सधै समस्या हुने गर्छ ।

उपमहानगर अन्तर्गतकै घोराही वडा नं. १६ को खिरिट्टे–लखुवार–खैरानगर– डाँगी गाउँसम्मको सडक कालोपत्रेको काम अघि बढ्न सकेको छैन । ७७ लाख लागतमा ११ सय मिटर लामो उक्त सडक कालोपत्रेको पनि एक वर्षदेखि अलपत्र छ ।

उपमहानगरले ०७८ जेठमा सडक कालोपत्रे गर्ने जिम्मा उर्जा कृशव जेभीलाई दिएको थियो । ठेक्का सम्झौता अनुसार सडक कालोपत्रेको काम ०७९ पुसमै सक्नुपर्ने थियो । तर अहिले काम गर्ने म्याद समेत सकियो । ठेकेदारले काम नै नगरेपछि अलपत्र परेको यो अर्को उदाहरण हो ।

घोराही उपमहानगरपालिका वडा नं. ९ को खैराकोठरी सडक कालोपत्रेको काम नै सुरु भएको छैन । रोयल विल्डर्स प्रालिले १ करोड २ लाखमा कालोपत्रे गर्ने जिम्मा पाएको ११ सय मिटर सडक कालोपत्रेको काम सुरु नै न नभई म्याद सकिएको छ ।

०७८ सालमा भएको ठेक्का सम्झौता अनुसार ०७९ असार २९ गतेसम्म काम सक्नुपर्ने थियो । तर काम नै सुरु नगरी ठेकेदार सम्पर्क बिहीन छ ।

त्यस्तै घोराही उपमहानगर अन्तर्गतका प्याजेकका सडक कालोपत्रेका काम पनि बीचैमा रोकिएका छन् ।

घोराही उपमहानगरपालिका–४ को गोग्ली मावि–लक्ष्मीपुर जाने बाटो निरन्तरता, पुरानो वडा कार्यालय–नारायणपुर–वन गाउँ जोड्न् बाटो निरन्तरता, बटलपुरदेखि वडा नं. १२ जाड्ने बाटो सडक, विपी मार्ग–सुर्के डाँगी निरन्तरता, सौरी थारु गाउँ बाटो निरन्तरता सहित सडक कालोपत्रे प्याकेजका आयोजना ०७८ मा सुरु भएको थियो । उक्त सडकको कालोपेत्र गर्ने जिम्मा मष्ट ब्राह इन्फ्रास्टक्चरले पाएको थियो । १ करोड ३० लाख लागतमा सुरु भएको उक्त सडक कालोपत्रे गर्ने काम अघि बढ्न सकेको छैन । सडकमा होम पाइप हाल्ने गर्ने बाहेक अरु काम भएको छैन ।

घोराही उपमहानगरपालिका अन्तर्गतका यस्ता एक दर्जन विकास निर्माणका आयोजनाहरु अघि बढ्न सकेका छैनन् । उपमहानगरले आफ्नो बजेटबाट सुरु गरेको नाला, फुटपाथ, सडक कालोपत्रे, भवन निर्माण जस्ता थुप्रै आयोजनाहरु समयमै काम नहुँदा अलपत्र छन् ।

संघ वा प्रदेश सरकारका ठूला आयोजनामात्र हैन, स्थानीय सरकारबाट हुने स–साना आयोजनाहरु समयमै निर्माण नहुने प्रवृत्तिले नगरवासी हैरान छन् । ‘हरेक जसो गाउँ टोलमा आयोजनाहरु अलपत्र छोडिएका छन्’ घोराहीका व्यवसायी धनबहादुर बस्नेत भन्छन्, ‘समयमै काम नहुँने विकासे रोग स्थानीय सरकारमा पनि उस्तै छ ।’

सडक, नाला जस्ता विकास निर्माणका कामहरु आधा छोड्ने र काम नगर्ने लागि निर्माणजन्य सामग्रीहरु बाटोमै छोड्दा हैरानी भोग्नु परेको नगरवासीको गुनासो छ । ‘वर्षौँअघि सुरु भएका कामहरुबीचैमा अधुरै छोडिन्छन्’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई केही पनि हुँदैन । उल्टो हैरानी चाही हामीले भोग्नुपर्छ ।’

उपमहानगरपालिका भने आयोजना सम्पन्न नहुनुमा ठेकेदारको लापरबाहीलाई कारण देखाउँछ । ‘निर्माण व्यवसायीमा काम नगर्ने प्रवृति व्याप्त छ’, उनले भने, ‘पटक–पटक भनेका छौं तर अनेक बाहना देखाएर समयमै काम गर्न मान्दैनन् ।’

घोराही उपमहानगरपालिकाले समयमै काम गराउनका लागि पटक–पटक ताकेता गरे पनि ठेकेदार सम्पर्कमा नपाउने र काम नगर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताए । ‘तोकिएको समयभित्रै काम सक्ने गरी सम्झौता हुन्छ तर अनेक बहाना देखाएर काम गर्दैनन्’ उनले भने, ‘काम नगर्ने निर्माण व्यवसायी पत्र काट्दा पनि मान्दैनन् ।’

उनले निर्माण व्यवासयी जिम्मेवार नहुँदा समस्या भोग्नु परेको सुनाए । ठेकेदारले काममा गर्ने र आयोजना अलपत्र पर्दा आफूहरुले आलोचना खेप्नु परेको उनले बताए  ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?