+
+

काठमाडौंलाई रचनात्मक सहर बनाउन महानगरले छान्यो चलचित्र विधा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते २१:५१

काठमाडौँ । काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये चलचित्र विधालाई छानेको छ ।

युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने नियम छ । यीमध्ये महानगरको छनौटमा चलचित्र विधा परेको हो ।

आयोजित समारोहमा महानगरकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘यी सबै विधा महत्वपूर्ण र काठमाडौँसँग सम्बन्धित छन् । तीमध्ये एउटा मात्र छान्नु पर्दा हामीले चलचित्र विधालाई छान्यौँ ।’

डंगोल अगाडि भन्छिन्, ‘अन्य विधा छान्दा एउटै क्षेत्रमा मात्र सीमित हुनु पर्ने भयो । चलचित्रबाट सबै विधामा काम गर्न सकिन्छ ।’ अन्तराष्ट्रिय सहयोगका विषयमा कुरा गर्दै उपप्रमुख डंगोलले चलचित्र विधाबाट विषयको प्रवद्र्धनसँगै तत्काल अवस्थाको अभिलेख प्राप्त हुने बताइन् ।

छानिएको बिषयमा सरोकारवालाबाट सुझाव लिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले सम्बद्ध क्षेत्र र अधिकारीबाट प्राप्त सुझावलाई विश्लेषण गरेर महानगरले उचित नीति निर्माण गर्ने बताइन् ।

कार्यशालामा बोल्दै बागमती प्रदेश सभा सदस्य शैलेश बज्राचार्यले प्रवर्धनात्मक कार्यक्रमको दिगोपनाका लागि संरक्षणात्मक कार्यक्रम सँगै लैजानुपर्ने बताए । सम्पदा बनाउने मानिसहरु विस्थापित भइरहेको अवस्थाप्रति संकेत गर्दै उनले भने, ‘पैसा तिरेर जात्रा, पर्व, पूजाआजा तथा सामाजिक सांस्कृतिक कार्यक्रम चलाउनुपर्ने अवस्था आएको छ । अमूर्त चलन चलाउने मानिसहरुलाई विस्थापित हुनबाट जोगाऔँ । उनीहरुका क्रियाकलापले अमूर्त सम्पदा पनि जोगिन्छन् । त्यसबाट मूर्त सम्पदा पनि जीवन्त हुन्छन् ।’

कार्यशालामा युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले चलचित्रको विधाबाट काठमाडौँलाई रचनात्मक विभिन्न कोणबाट हेर्न सकिने उल्लेख गरे । रचनात्मक सहरमा आवद्ध हुन पालिकाबाट निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गर्ने नियम छ । यसबाट सरोकारवालाको पहिचान गरिन्छ । सरोकारवाला बिच परामर्श समूह निर्माण गरिन्छ । विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कन लगायत काम गरिन्छ ।

दक्षिण एसियाली मुलुकमध्ये भारतको जयपुर र श्रीनगर शिल्प र लोक कलाको सहर, वाराणसी र चेन्नई संगीतको सहर, लाहोर साहित्यको सहर र मुम्बई चलचित्रको सहरका रुपमा विकास भैरहेको उदाहरण समेत कार्यशालामा पेश गरियो ।

तस्वीर : काठमाडौं महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?