+
+

फिल्म निर्माणले गति लियो, दर्जन बढी फिल्म छायांकनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १२:२५
उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को मुस्ताङमा छायांकन हुँदै

काठमाडौं । फिल्म निर्माणले गति लिएको छ । छायांकन भइरहेका र जाने तयारीमा रहेकाको संख्या हेर्दा कोरोना महामारीयताकै उच्च संख्यामा फिल्म निर्माण हुँदैछ । यतिबेला एक दर्जन फिल्म छायांकन भइरहेका छन् भने वैशाखदेखि डेढ दर्जन जति फिल्म सुटिङको तयारीमा छन् ।

दयाहाङ राई र मिरुना मगर स्टारर सोसल ड्रामा ‘नांगो गाउँ’को छायांकन अहिले काभ्रेमा भइरहेको छ, जसलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । सलोन बस्नेत र अर्पण थापा स्टारर ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरामा सुरु भएको छ । यो फिल्म भदौ ५ गते प्रदर्शन हुने तयारीमा छ ।

दीपेन्द्र के खनालले आफ्नो हिट फिल्म पशुपतिप्रसादको दोस्रो श्रृंखला ‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई निर्देशन गरिरहेका छन् । पशुपतिनाथ मन्दिरको क्षेत्रमा फिल्म छायांकन भइरहेको छ । आगामी दशैंमा यो फिल्मको प्रदर्शन लक्ष्य राखिएको छ । झरना थापाको निर्देशन रहने ‘भगवत् गीता’को छायांकन पनि अहिले जारी छ । जनकपुरपछि यसलाई अहिले पोखरा आसपासमा छायांकन भइरहेको छ ।

स्वस्तिमा खड्का र वर्षा राउत स्टारर ‘ऐंचो पैंचो’ छायांकन पनि अहिले झापापछि काठमाडौंमा भइरहेको छ । कृषा चौलागाईंले निर्देशन गरिरहेको यो फिल्म मल्टिस्टारर हो । राजु शाहको निर्देशनमा फिल्म ‘जाँड’को छायांकन अहिले नगरकोट क्षेत्रमा भइरहेको छ । उदय सुब्बाको निर्देशनमा फिल्म ‘दुई कदम’को छायांकन अहिले मुस्ताङमा भइरहेको छ । नीता ढुंगानाको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन पनि भारतका विभिन्न स्थानमा भइरहेको छ ।

वैशाखदेखि छायांकनमा जाने फिल्म

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले आफ्नो प्रतीक्षित फिल्म ‘डिग्री माइला’को छायांकन वैशाखदेखि थाल्दैछन् । दयाहाङलाई शीर्ष भूमिकामा लिएर बनाउन लागिएको यो फिल्मको तयारी भइरहेको छ । ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भामले आगामी प्रोजेक्ट ‘चिसो वर्ष’लाई पनि छायांकनमा लैजाने तयारीमा छन् ।

प्रदीप खड्काको ‘क्यामिनो’, मलिका महतको ‘सतिदेवी’, सुरविना कार्कीको ‘मीरा’, अनमोल केसीको ‘जेरी अन द टप’, सौगात मल्लको ‘अगस्त्य’, मनोज पण्डितको आगामी अनटाइटल फिल्म, दौंतरी, स्वप्न सुमन र दीक्षिता कार्कीलाई लिएर दिनेश राउतले निर्देशन गर्न लागेको म्युजिकल ड्रामा छायांकनमा जाने तयारीमा छन् ।

रेखा थापा र पूजा शर्माको शीर्ष भूमिका रहने एक अनटाइटल फिल्म पनि छायांकनमा जाने तयारीमा छ, जसलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् । दीपकराज गिरीको नयाँ फिल्मको घोषणा पनि चाँडै हुने तयारी छ । निश्चल बस्नेत, आसिफ शाह पनि आफ्ना फिल्मको निर्माण तयारीमा छन् । यसबाहेक अन्य केही फिल्मकर्मी पनि छायांकनको तयारीमा छन् ।

निर्माण उकालो, बक्स अफिस ओरालो

यस वर्ष बढी कमाउने फिल्महरुमा कबड्डी ४, छक्कापञ्जा ४, झिंगेदाउ, दुई नम्बरी, महापुरुष, के घर के डेरा लगायत फिल्म रहे । यसबाहेक अन्य फिल्मको व्यापारमा खडेरी देखियो । तीन करोड रुपैयाँ लगानी बताइएको अनमोल केसी स्टारर छड्के २ बक्स अफिसमा नराम्रोसँग असफल भयो । बर्सेनि सयभन्दा बढी फिल्म रिलिज हुने भएपनि मुस्किलले आधा दर्जन फिल्म मात्र हिट हुने गरेका छन् । तर फिल्म निर्माणप्रतिको आकर्षणमा कमी आएको छैन । २०८० सालदेखि निर्माणको क्रम अझै बढ्नेछ ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का गैरआवासीय नेपालीहरुको लगानी फिल्ममा वृद्धि भएकाले निर्माणको क्रम पनि बढेको बताउँछन् । ‘पछिल्लो समय फिल्मको लगानीमा एनआरएनहरुको लगानी बढेको देखिन्छ । ९० प्रतिशतभन्दा बढी फिल्ममा उनीहरुकै लगानी छ । हुन सक्छ यही कारण निर्माण बढेको छ,’ खड्काले अनलाइनखबरसँग भने ।

केही फिल्म हिट भएको कारण पनि अन्य निर्माताले देखासिकी गरेर लगानी खन्याएको हुन सक्ने खड्का बताउँछन् । कोरोना महामारीयता २०७९ साल बक्स अफिसमा अंकगणितको हिसाबले सबैभन्दा चलायमान वर्षको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?