+
+

‘प्रसाद २’ का निर्माताले भने- फिल्म रिलिजको वातावरण बनाइदिनुस्, पछि पैसा तिर्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १२:३३

काठमाडौं । प्रहरी, चलचित्र विकास बोर्ड, निर्माता संघ, चलचित्र संघ र प्राविधिक संघमा आर्थिक लेनदेनका उजुरीको चाङ लाग्न थालेपछि ‘प्रसाद २’का निर्माता सुवास थापाले फिल्म रिलिजमा सघाउन सबैलाई आग्रह गरेका छन् । फेसबुकमार्फत वक्तव्य जारी गर्दै उनले फिल्म प्रदर्शनपछि मात्र तिर्न बाँकी पैसा सबैलाई तिर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रहरीदेखि चलचित्र संघसंस्थामा उजुरी पर्न थालेपछि आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म रिलिजमा अन्योल भएको छ । यसैबीच वक्तव्य जारी गर्दै निर्माता थापाले रिलिजको वातावरण मिलाइदिन आग्रह गरेका हुन् । प्रदर्शनको वातावरण बनाइदिन र बक्यौतालाई रिलिजपछि मात्र तिर्ने कुरामा सघाउन उनको आग्रह छ ।

उनी लेख्छन्, ‘मेरो चलचित्र प्रसाद २ रिलिजको पूर्वसन्ध्यामा छ । तर चलचित्र निर्माणको सम्बन्धमा केही बाधा आइरहेको छ । जुन मेरो चलचित्र बनाउने हुटहुटी र मैले चलचित्र निर्माणमा जानी नजानी गरेको गल्तीका कारण उत्पन्न भएको हो । प्रसाद २ निर्माणको क्रममै पनि पटक-पटक विभिन्न अवरोध आए । तथापि सम्पूर्ण अवरोध छिचोल्दै प्रसाद २ निर्माण सम्पन्न गरी रिलिजको अवस्थामा पुग्यो । मैले माघमै चलचित्र रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघपछिको भाखामा तिर्ने वचनबद्धता प्रकट गरे । तर समयमा रिलिज हुन नसक्दा मेरो वचनबद्धतामा म चुकें । तथापि अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोगको लागि सबैमा आग्रह गर्दछु । मेरो नियत खराब होइन, नियतिको कारण मैले वचन पूरा गर्न नसकेको हो ।’

उनी अगाडि लेख्छन्- ‘चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहींबाट तिर्नुपर्नेलाई दिई बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ । यो चलचित्रमा धेरैको मेहनत छ । तसर्थ सबै मिलेर चलचित्र रिलिज हुने वातावरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरी गरिदिनुहुन सबै सरोकारवाला संघसंस्था, व्यक्तिमा आग्रह गर्दछु । नतिर्ने मेरो नियत होइन, नियतिले यो अवस्था आयो । सहयोगको आग्रहसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

फिल्म प्रदर्शनको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा निर्माता भनी परिचय गराइएका केशव पाण्डेले हालै जिल्ला प्रहरी परिसरमा ६२ लाख ५० हजार रुपैयाँ ठगी र बैंकिङ कसूरमा जाहेरी दिएका थिए । उनै पाण्डेले सेन्सर रोक्न बोर्डमा उजुरी दिए पनि दर्ता भएको छैन भने निर्माता संघले पनि दर्ता नगरेको जनाइएको छ । पारिश्रमिक नपाएपछि प्राविधिकले थापाविरुद्ध प्राविधिक संघमा उजुरी दिएका छन् भने छायांकन भएको कास्कीको ल्वाङ गाउँका बासिन्दाले समेत बोर्डमा उजुरी दिएका छन् ।

‘सेल्फी किङ’कै समयमा पैसा सापटी दिएको र फिर्ता पाउनुपर्ने माग गर्दै वितरक गोविन्द शाहीले थापाविरुद्ध चलचित्र संघमा निवेदन दिएका छन् । केही फिल्म वितरकले यो लेनदेन व्यवस्थापन गरेर फिल्म रिलिजको वातावरण गराउन भूमिका खेलेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?