+
+

चार उम्मेदवार, जसले रोचक बनाउँदैछन् बाराको उपचुनाव

मंसिरको चुनाव पराजित तीन उम्मेदवारले त्यो हारको चोट बिर्सन उपचुनाव रोजे । एमाले उम्मेदवार बाहेक बाँकी तीनै जनाले आम चुनाव हारेका हुन् ।

सुरेश बिडारी सुरेश बिडारी
२०७९ चैत २० गते २१:३०
बायाँबाट क्रमश: उपेन्द्र यादव, शिवचन्द्र कुशवाह, पुरुषोत्तम पौडेल र रमेश खरेल ।

२० चैत, वीरगञ्ज । मंसिरको आम चुनावमा हारेका तीन उम्मेदवारले त्यो हारको चोट बिर्सन उपचुनाव रोजे । बारा– २ मा वैशाख १० हुने उपचुनाव जित्ने हो भने उनीहरुले अघिल्लोपल्ट हारेको अर्को प्रतिस्पर्धीलाई हराउनुपर्ने छ ।

सोमबारको मनोनयनमा ३६ जनाले नाम दर्ता गराए पनि चर्चामा चार उम्मेदवार छन् । एमालेबाट उठेका पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई छाड्ने हो भने अरु तीन जनाले साढे चार महिनाअघि चुनाव हारेका हुन् । यी चर्चित पराजितहरु हुन् ः जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपा उम्मेदवार रमेश खरेल ।

बाँकी उम्मेदवार १२ दलका तर्फबाट २४ जना स्वतन्त्र प्रत्यासी रहेका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

शिवचन्द्रको महत्वाकांक्षा, टिकटका लागि जनमतमा

४ मंसिरमा बारा २ बाट हालका उपराष्ट्रपति रामसहाय यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनी १३ हजार ८ सय २२ मत ल्याएर निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत ल्याएका थिए । रामसहायसँग ३४५ मतान्तरले पराजित भएका शिवचन्द्र उप निर्वाचन हुने कुराले खुशी थिए । तर माओवादी केन्द्रले उपेन्द्रलाई समर्थन गर्ने भएपछि शिवचन्द्रले टिकट नपाउने स्थिति बन्यो ।

त्यसपछि उनी माओवादी पार्टी परित्याग गरेर जनमत पार्टीमा गएका हुन् । उनले टिकटकै लागि माओवादी पार्टी परित्याग गरेको यो दोस्रो पटक हो । यसअघि ०७० मा तत्कालिन माओवादी केन्द्रले उनलाई टिकट दिएन । सदभावना पार्टीमा प्रवेश गरेर चुनाव लडे, पछि नयाँ शक्ति पार्टी हुँदै ०७४ असार २३ मा उनी माओवादी फर्केका थिए ।

उनी समाज परिवर्तन र नयाँ समाज निर्माणका लागि उम्मेदवारी दिएको बताउँछन् ।

‘पार्टीले टिकट नदिएपछि स्वतन्त्र लड्ने सोच बनाएको थिएँ, जनतासँग सोध्दा स्वतन्त्रबाट नलड्नु, पार्टीबाट जानु भने जनताले नै सीके राउत नयाँ विचारका साथ मधेशको मुक्तिका लागि लडिरहेको भन्दै जनमत पार्टीबाट लड्न सुझाएका हुन्’, उनले भने ।

मधेशको नारा दिएर सरकार र सत्तामा गएका, सत्ताबिना बाँच्नै नसक्ने, जहिल्यै जनताप्रति अनुत्तरदायी हुने व्यक्तिलाई जनताले मत नदिने दाबी उनको छ ।

संगठन भन्दा पनि जनभावना ठूलो हुने उनको भनाइ छ । ‘संगठनको कुरा होइन, जनताको भावनाको कुरा हो । वास्तवमा भावनाको सम्मान कसले गर्छ ? धेरैलाई दिए तर उनीहरुले के गरे ? जनताले हामीलाई चाहेको छ’, उनले भने, ‘जनताको माझमा रहेर सामाजिक काम विकासको काममा निरन्तर लागेको छु । मेरो मुख्य एजेण्डा भनेको जनताको सेवा नै हो, चुनाव जितेर किसान र जनताको समस्या समाधान गर्छु ।’

उपेन्द्र यादवलाई सत्ता गठबन्धनको साथ

आम चुनावमा सप्तरी २ बाट उपेन्द्र यादवले हार्दा जनमत पार्टी अध्यक्ष सीके राउत दोब्बरभन्दा बढी अन्तरका साथ जितेका थिए । सीके राउतले ३५ हजार ४२ मत पाउँदा उपेन्द्र यादवले १६ हजार ७७९ मत ल्याएका थिए ।

नमिठो पराजयपछि अध्यक्ष उपेन्द्रकै योजनामा बारा–२ बाट निर्वाचित तत्कालीन सांसद रामसहाय यादव उपराष्ट्रपति बनेका हुन् । रामसहायको क्षेत्रमा उपनिर्वाचन गराएर संसद छिरेरै छाड्ने दाउमा उनी छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ । समर्थकहरु उनलाई ‘मधेशका मसिहा’ भन्छन् । उनको अनुपस्थितिमा संसदमा मधेशीको अधिकार उठाउने व्यक्ति नभएको तर्क उनीहरुको छ ।

जसपा अध्यक्ष उपेन्द्रले बाराका जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताएका छन् । ‘जनता अजय हुन्छ । जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भनेका छन् ।

बारा २ ‘ख’ का प्रदेश सभा सदस्य बच्चा राउत अहिरले अध्यक्षले दुई तिहाइ भन्दा बढी मत ल्याएर जित्ने दावी गरे । ‘बारा–२ मधेशी दलको गढ हो, नाकामा ६ महिना आन्दोलन हामीले नै गरेका हौं । उपेन्द्र मधेशको मसिहा, मधेशीको अधिकार दिलाउने व्यक्ति हो’, उनले भने, ‘उपेन्द्र नहुँदा संसदमा मधेशीको अधिकार उठाउने व्यक्ति छैन ।’

एमालेबाट पुरुषोत्तम पौडेलको टक्कर

नेकपा एमालेले बारा–२ बाट पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई अघि सारेको छ । २०७० को चुनावपछि उनी उम्मेदवार बन्न पाएका छैनन् । सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री बन्दा पौडेल ०७० मा बारा ६ बाट निर्वाचित सभासद थिए ।

एमाले भित्र झाँगिएको गुटगत राजनीतिले उनी किनारामा पर्दै आएका नेता हुन् । त्यसकै कारण उनले वि.स. ०७४ र ०७९ को चुनावमा टिकट नपाएको उनी निकट नेता कार्यकर्ताहरु बताउँछन् । माधव नेपाल झलनाथ खनाल निकट भएपनि उनी पार्टी विभाजन हुँदा केपी ओलीको कित्तामा उभिएका थिए ।

मनोनयन दर्ता गराउँदा भिडभाड देखाएर मात्रै चुनाव नजितिने उनको भनाइ छ । ‘भिडभाड देखाएर हुन्न, जनताको मनमा रहनुपर्छ । नेकपा एमाले गाउँ गाउँमा जन जनको मनमा छ । गरिब जनता, किसान मजदुरको मनमा छ । बारा जिल्लाको हर गाउँ, टोलमा एमालेको झण्डा फहराएको छ’ उनले भने ।

एमाले देशको सबैभन्दा राम्रो, जनताको पक्षमा काम गर्ने, जनताको पहरेदारी गर्ने विकास निर्माणको नेतृत्व गर्ने राष्ट्रिय शक्ति भएकोले बारा–२ मा उपनिर्वाचन जित्ने दावी उनको छ ।

‘बारा– २ का जनताले जनताको सेवा गर्ने, विकासलाई अगाडि बढाउने प्रतिनिधि खोजेको छ । जिल्लाको चार क्षेत्रमध्ये २ नं क्षेत्र पिछडिएको छ । दुईपटक विभिन्न पार्टीले जितेर गए, तर हालत खराब छ जनताको हितमा, शिक्षा, स्वास्थ्य, सुरक्षा विकास निर्माणमा कसैले चासो दिएन, माथि पुगे खेल खत्तम भएको छ’, उनले भने, ‘यसलाई बदल्न, समाजलाई बदल्छु भनेर ती पार्टी गएका हुन् अब एमालेले जित्छ भने किसान मजदुर, गरिब गुरुवा, गाउँमा बस्ने विकास प्रेमीको हितमा काम गर्छु ।’

काठमाडौंमा निराश खरेललाई बारामा आश

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा प्रतिनिधि सभा सदस्यमा रमेश खरेलले उम्मेदवारी दिएका छन् । नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउने बताउने उनलाई काठमाडौं १ का जनताले मंसिर ४ मा पत्याएनन् ।

काठमाडौं–१ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर निर्वाचित भए । नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल ३ हजार १२४ मतमात्रै ल्याएर पाँचौ भएका थिए ।

‘मधेशमा मात्रै हैन देशभर कुशासन छ, त्यति राम्रो शिक्षा छैन, मतदाताले राम्रो शिक्षा पाएका छैनन् । सुरक्षा छैन । सुरक्षा र सुशासन क्षेत्रमै अहोरात्र खटेर सम्पूर्ण योग्यता यसैमा लिएको हिसाबले म बारा २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने छु । र सम्पूर्ण देशमा यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिनका लागि मेरो उम्मेदवारी हो’, मनोनयन दर्तापछि खरेलले भनेका छन् ।

संगठन नै नभएको पार्टीबाट किन उम्मेदवारी दिनुभएको भनी सञ्चारकर्मीले उनीसँग प्रश्न गरेका थिए । ‘संगठन नै नभएका पार्टीले १९÷२० ठाउँमा जित्छ ? तपाई नै हाम्रो संगठन हो । मतदाताहरु नै हाम्रो संगठन हो । २ करोड ९२ लाख जनता नै हाम्रो संगठन हो’, उनले भने ।

बारा क्षेत्र नं २ मा ८२ वटा मतदान स्थलमा १ सय ७३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार क्षेत्रमा १ लाख ५ हजार २ सय ९८ मतदाता छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?