+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेविसंघका दुई जनालाई पाटनको स्ववियु सभापति उम्मेदवारको टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते २१:४७
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा

२० चैत, काठमाडौं । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पाटन क्याम्पसको स्ववियु निर्वाचनका लागि दुई जनालाई सभापतिको टिकट दिएपछि विवाद बढेको छ । नेविसंघ अध्यक्ष शेर्पाले सुशिल विष्ट र युवराज लामालाई स्ववियु सभापतिको उम्मेदवारको टिकट दिएपछि विवाद भएको हो ।

नेविसंघको आधिकारिक उम्मेदवार को हो भन्ने विवादका कारण निर्वाचन समितिले उम्मेदवारको नामावली प्रकाशन गर्न सकेको छैन । पाटन क्याम्पसमा आगामी २५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।

नेविसंघ अध्यक्ष शेर्पाले गत फागुन २७ गते सुशिल विष्टलाई आधिकारिक उम्मेदवारको चिठ्ठी दिएपछि उनको उम्मेदवारी दर्ता भएको थियो । तर विद्यार्थी संगठनहरुबीचको विवादका कारण चैत ५ गते निर्धारित स्ववियु निर्वाचन पाटन क्याम्पसमा हुन सकेन । स्थगित भएका क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गर्न स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन दिएपछि पाटन क्याम्पसमा आज उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।

तर नेविसंघ अध्यक्ष शेर्पाले आज फेरि युवराज लामालाई आधिकारिक उम्मेदवारको पत्र दिएपछि विवाद भएको नेविसंघका एक नेताले जानकारी दिए ।

‘नेविसंघको आधिकारिक उम्मेदवार को हो भन्ने विवादले आज भएको नोमिनेसनको नामावली पनि सार्वजनिक हुन सकेको छैन,’ ती नेताले भने, ‘अध्यक्ष शेर्पाले फोन अफ गरेर बसेकाले अन्योल भयो ।’

यसअघि त्रिभुवन विश्वविद्यालयको समन्वय समितिको नेविसंघ अध्यक्षमा तीन जनालाई मनोनित गरिएको पत्र सार्वजनिक भएपछि अध्यक्ष शेर्पाको आलोचना भएको थियो । उनीमाथि जथाभावी जिम्मेवारी तोकेर र मनोनयन गरेर नेविसंघमा विवाद बढाएको आरोप लाग्दै आएको छ ।

नेविसंघभित्र गुटगत विवाद तीव्र छ । अध्यक्ष शेर्पाको कार्यशैलीमा प्रश्न उठाउँदै असन्तुष्ट पक्षले उनको राजीनामा समेत माग्दै आएको छ । सो समूह शेर्पालाई पदबाट हटाउन र उनले गरेका निर्णय खारेज गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?