+
+

विराटनगर बजारमा नो पार्किङ : व्यापारी विरोधमा, महानगरले कडाइ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते ९:३९

२१ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई विराटनगरका व्यापारीले अवज्ञा गरेका छन् ।

बजारको सडकमा पार्किङ नहुँदा व्यापार सुस्ताएको भन्दै व्यापारीले महानगरपालिकाको निर्णय अवज्ञा गरेका हुन् ।

व्यापारीले अवज्ञा गरेपछि महानगरपालिकाले नो पार्किङ अभियानलाई थप कडाइ गर्ने निर्णय गरेको छ । विराटनगर महानगरपालिकाले मेन रोडको जलजला चोकदेखि ट्राफिक चोकसम्म र अन्य भित्री सडकमा पार्किङ निषेध गरेको थियो ।

व्यापारीले अवज्ञा गरेपछि महानगरपालिकामा स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायको बैठकले पार्किङ निषेधित क्षेत्र -नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सूक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

विराटनगर महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

आइतबार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीले आˆना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गर्दै आएका छन् ।

अवज्ञापछि सडकलाई नो पार्किङ बनाउने अभियानबाट पछि नहट्न भन्दै जनस्तरबाट महानगरपालिकामाथि दबाब आएको मेयर नागेश कोइरालाले बताए ।

मेयर कोइरालाले वैकल्पिक पार्किङलाई व्यवस्थित बनाउँदै लैजाने बताए । उनले सवारी साधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसी क्यामरा र बत्तीसमेत तत्कालै जडान गरिने बताए ।

महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णयबाट पछि हट्न नसकिने उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।

बैठकमा यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समेत सहयोग गर्ने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले भीआईपीको आउजाउ भइरहने स्थानमा राम्रो ट्राफिक व्यवस्थापन भए देशभरी राम्रो सन्देश जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?