+
+

आहा ! साकुरा

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०७९ चैत २३ गते ८:००

फुल्ने आयु थोरै । तर, जापानीहरूलाई वर्षभरि खुशी बनाउन अहिले सडक आसपास र पार्कमा आफ्नै आयु घटाइरहेछ साकुरा अर्थात् पैंयुको फूल । नेपालको पहाडी भेगमा पाइने पैंयुको फूललाई नै जापानमा साकुरा भनिन्छ । दुई हप्ताभन्दा बढी समय नरहने भएकाले छोटो समयमै यसले मानिसको मन जितेको छ, अनि साहित्यकारको शब्दमा सजिएको छ । त्यसैले अहिले जापानीहरू यसैसँग रमाउन पार्कमा निस्किएका छन् । हानामी पार्टी (फूल हेर्ने उत्सव)मा रमाएका भेटिन्छन् । साकुराको फेदमुनि गएर मिठो-मसिनो परिकार खान्छन् । र, फूलकैमुनि बसेर साटिरहेका छन् वर्षभरिका सुख–दुःखका अनुभव ।

फूल नजिकै पुग्दा क्यामरामा फूलको यौवन कैद नगर्ने सायदै कम भेटिन्छन् यहाँ । त्यसैले होला देख्नासाथ फूलसँग रमाउनेहरूको मुखबाट निस्कन्छ, ‘आहा ! साकुरा ।’ अन्य देशमा यसको महत्व फरक-फरक होला तर, साकुरासँगै रमाउनु जापानीको प्रचलन नै हो । दुई साता साकुरा आसपासमा रमाए वर्ष नै शुभ रहने उनीहरूको विश्वास पुरानो छ । त्यसैले हुनुपर्छ यसले जापानको राष्ट्रिय फूल बन्ने मौका पाएको ।

जापानको व्यस्त जीवनशैलीलाई आत्मसात् गर्दै छुट्टीको दिन अधिकांश मानिस साकुरासँगै रमाइरहेका देखिन्छन् । हरेक वर्ष वसन्त ऋतु आगमनको घोषणा गर्दै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । जापानमा पुरातन समयदेखि साकुरा वसन्तको आगमनको संकेत गर्ने रूखको रूपमा परिचित छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार यस वर्ष गत वर्षभन्दा एक हप्ता अघि साकुरा फुलेको छ । मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म यस वर्ष जापानमा साकुरा फुल्नेछ ।

केही दिन अघिसम्म पात झरेर नाङ्गा बनेका रूखहरूले पनि साकुरालाई साथ दिंदै हरिया बनेका छन्, आफू अनुकूल फुलेका छन् ।

जापानमा हरेक वर्ष अप्रिल महिनाबाट नयाँ शैक्षिक सत्रको सुरु हुन्छ । नयाँ कम्पनीमा काम गर्नेहरूको काम सुरु हुने र आर्थिक साथै प्रशासनिक क्षेत्रमा नयाँ वर्षको प्रारम्भ हुने महिना पनि अप्रिल नै भएकाले यहाँ नागरिकहरू पनि साकुरा जस्तै नयाँ उमंगका साथ यसै महिनाबाट आफूलाई फुलाउन सुरु गर्छन् । त्यसैले भनिन्छ, ‘यहाँ साकुरा सँगै जीवन पनि फुल्छ ।’

जापानमा साकुराका ३०० प्रजाति रहेका छन् । प्रत्येक कोपिलाबाट धेरै फूल फुल्ने साकुराको विशेषता हो । हेयान कालमा लेखिएको जापानी कविताहरूको सङ्ग्रह ‘कोकिन वाकासु’मा साकुरालाई वसन्तमा फुल्ने फूलहरूको प्रतीकको रूपमा उल्लेख गरिएको छ । र, साकुराको प्रशंसा गर्ने अवधि जापानमा हेयान कालबाट नै रहेको विश्वास गरिन्छ । यहाँ साकुरा हेरेर कविले कविता र गीतकारले नयाँ–नयाँ गीत पनि सिर्जना गर्ने गरेका छन् ।

अघिल्ला वर्षहरूमा कोरोनाका कारण साकुरा हेर्न आयोजना गरिने सार्वजनिक कार्यक्रम बन्द गरिएको थियो । तर, यो वर्ष खुल्ला गरी हानामी पार्टी गर्न दिइने जापान सरकारको घोषणासँगै विदेशी पर्यटकहरू पनि बढेको पाइन्छ । साकुरा हेर्नकै लागि विदेशी पर्यटक जापान आउँछन् ।  जापानी अनलाइन लाइभ जापानको सर्वेक्षण अनुसार, कोभिड अघि साकुरा हेर्न चीन, म्यानमार, भियतनाम लगायत देशका पर्यटकको आगमन धेरै थियो भने यस वर्ष अमेरिका र युरोपबाट पर्यटक धेरै आएका छन् ।

नेपालबाट ल्याइएको थियो ‘हिमालय साकुरा’

जापानमा नोभेम्बर र डिसेम्बर महिनामा हिमालय साकुरा फुल्ने गर्छ । नोभेम्बर र डिसेम्बरमा फुल्ने साकुरालाई जापनिज नागरिक ‘हिमालय साकुरा’ भन्ने गर्दछन् । यो साकुरा नेपालबाट ल्याइएको हो भन्ने चर्चा पनि जापानमा चल्ने गरेको छ ।

नेपालबाट टोक्यो विश्वविद्यालयमा अध्ययन गर्न आएको बेला तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९६८ मा आतामी शहरमा कोसेलीस्वरूप बिरुवा दिएका थिए ।

सोही साकुराको नाम ‘हिमालय साकुरा’ रहेको छ । यसको रंग अप्रिलमा फुल्ने साकुरा भन्दा केही रातो रहेको छ । राजा वीरेन्द्रले चिनो स्वरूप दिएको साकुरा जापानको आतामीमा फुल्यो भनेर जापानी मिडियाले पनि समाचार प्रकाशित गर्ने गरेका छन् ।

…अनि जापनिजले रोपेका थिए नेपालमा साकुरा

जापानका नेपाली पनि साकुरासँग रमाउने गरेका छन् । नेपाल–जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले २०७४ सालको मंसिरमा जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न १२ जना जापनिज नागरिकको समूह नेपाल गएको थियो ।

साकुरालाई शान्तिको प्रतीक पनि मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ शहरमा साकुरा रोपेका छन् ।

नेपालमा त्यस वर्ष दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको राष्ट्रिय शहीद स्मारक, गोकर्णमा डेढ फिट उचाइका २०० साकुराका बिरुवा रोपिएको थियो ।

जापान ।

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?