+
+

५ वर्षभित्र साढे ८ खर्ब लगानी गर्ने विद्युत प्राधिकरणको योजना 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते २०:२१

२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रणाली सुदृढीकरणका लागि आगामी ५ वर्षमासाढे ८ खर्बभन्दा बढी लगानी आवश्यक पर्ने प्रक्षेपण गरेको छ ।

‘डिजिटल एनईए’ को अवधारणाअनुसार अघि बढेको प्राधिकरणले अहिले ४ खर्ब ३७ अर्ब बराबरका आयोजना अघि बढाएको छ । र, करिब ४ खर्ब १६ अर्ब बराबरको थप आयोजना अघि बढाउन योजनाहरु तयार गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अबको ५ वर्षमा प्राधिकरणले कुल ८ खर्ब ५३ अर्ब लगानी गर्नुपर्ने देखिएको छ । यसमध्ये सबैभन्दा ठूलो लगानी प्रसारण पूर्वाधार निर्माणका लागि गर्नुपर्ने छ । १ खर्ब ७१ अर्बका प्रसारण परियोजना बनाइरहेको प्राधिकरणले ५ वर्षमा यसमा कुल  ५ खर्ब ४८ अर्ब खर्च गर्नुपर्ने प्रक्षेपण गरेको छ ।

मूल रुपमा ४०० केभीका लाइनहरुको निर्माणसहित सबस्टेसनहरुको निर्माण र स्तरोन्नतिमा यस्तो लगानी आवश्यक देखिएको प्राधिकरणको निष्कर्ष छ । योजना अनुसार काम भए देशभित्रको ऊर्जा खपपत बढाउने, विद्युतको गुणस्तर वृद्धि गर्न, चुहावट घटाउन तथा बिजुलीको निर्यातको पर्याप्त पूर्वाधार तयार गर्न सघाउने विश्वास गरिएको छ ।

प्राधिकरणले ५ वर्षभित्र ढल्केबर-मुजफ्फरपुर प्रसारणलइनलाई १२ सय मेगावाटमा चार्ज गर्ने योजना बनाएको छ भने २५ सय मेगावाट क्षमताका ढल्केबर-सीतामाडी, न्यू-बुटवाल-गोरखपुर, इनरुवा-पूर्णीया र लम्की-बरेली ४०० केभीका अन्तरदेशीय प्रसारणलाइनहरु पनि निर्माणको लक्ष्य राखेको छ ।

हाल ५ हजार ५२९ सर्किट किलोमिटर रहेको देशको प्रसारणलाइन ५ वर्षभित्र विस्तार गरेर दोब्बर बनाउनुपर्ने देखिएको प्राधिकरणको निष्कर्ष छ । ७५४ किलोमटरको ४०० केभीको प्रसारणलाइन बनाइरहेको प्राधिकरणले ५ वर्षभित्र ४ हजार २१८ सर्किट किलोमिटरको लाइन बनाउनुपर्ने प्राधिकरणको अध्ययनले देखाएको छ ।

प्राधिकरणले आगामी ५ वर्षभित्र कुल २१ हजार ९५३ मेगावाट बराबर क्षमताका सबस्टेसनहरु बनाउनुपर्ने प्रक्षेपण गरेको छ । हाल ८ हजार ६३ मेगावाट बराबर रहेको सबस्टेसनको क्षमता ५ वर्षभित्र १२ हजार मेगावाटले बढाउनुपर्ने अवस्था छ । ५ वर्षभित्र ४००/२०० केभीका सबस्टेसन मात्रै ७ हजार ७८१ मेगावाट बराबर हुनुपर्ने देखिएको प्राधिकरणको छ ।

भगिनी कम्पनीमार्फत विद्युत उत्पादनमा अहिले कुल १३१ अर्ब रुपैयाँको परियोजना अघि बढाएको प्राधिकरणले ५ वर्षभित्र कुल १६२ अर्ब लगानी आवश्यक रहेको ठहर गरेको छ । जस अनुसार प्राधिकरणले थप ३१ अर्ब वितरणलाइन सुधारमा खर्च गर्नेछ । प्राधिकरणले विद्युत उत्पादनमा हाल गरिरहेको ६१ अर्ब लगानीपछि थप लगानी नलगाउने भएको छ । विद्युत वितरणमा पनि अहिले अघि बढेका ५६ अर्बको परियोजना सक्ने लक्ष्य लिइएको छ ।

देशभित्र खपत बढाउन र बढी भएको विद्युत निर्यातका लागि निर्माणाधीन विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुसहित आगामी पाँच वर्षका लागि तय गरिएका योजनाहरुको कार्यान्वयन गर्न साढे आठ खर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक रहेकाले त्यसमा सबै पक्षको ध्यान जानुपर्ने बताउँछन् ।

‘यसका लागि सरकारकातर्फबाट ठूलो लगानी ग्याप छ, उक्त ग्याप सरकार, प्राधिकरण र दातृ निकायहरुबाट पूर्ति गर्नु पर्ने अवस्था छ, यसका लागि सहजीकरण र समन्वय आवश्यक छ’, घिसिङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?