+
+
कविता :

पुस्तक र परिस्थिति

बाबुराम भुसाल बाबुराम भुसाल
२०७९ चैत २४ गते ११:३९

पुस्तक परीक्षामा अंक ल्याउनका लागि पढें

शिक्षाको शिखर चढेजस्तो लाग्ने रहेछ

पुस्तक प्रमाणपत्र प्राप्तिका लागि पढें

प्रमाणपत्र नपाउनेहरुलाई अज्ञानी ठानिंदो रहेछ

पुस्तक रमाउनको लागि पढें

स्वर्ग कल्पनामा देख्न पाइँदो रहेछ

त्यही पुस्तकका ज्ञान

मनन गर्नको लागि पढें

व्यवहारमा उतार्नको लागि पढें

आफू अझै ज्ञानको पिंधमा उभिएको पाइने रहेछ

बजारमा अनगिन्ती पुस्तकहरु छन्

ती कतिपय पुस्तकहरुमा

मर्मस्पर्शी कहानी छन्

आँखा खोल्ने शब्दवाणी छन्

जुरुक्क ब्युँझाउने

जुरुक्क हिंडाउने

आशाको सुन्दर चमकता देखाउने

शब्दै शब्दका विशाल खानी छन्

तर,

ती पुस्तकका शब्द जहाँ व्यवहारमा उतार्न खोजें

त्यहाँ पुस्तकमा लेखिएभन्दा फरक परिस्थिति रहेछ

त्यहाँ सत्यले होइन,

शक्तिले काम गर्दो रहेछ

त्यहाँ ज्ञान र विज्ञानले होइन,

प्रभुत्व, पहुँच र हैसियतले काम गर्दो रहेछ

त्यहाँ क्षमताले होइन,

आफ्नो मान्छे वा किनिएको मान्छेले काम गर्दो रहेछ

त्यहाँ सामूहिक उत्थानले होइन,

व्यक्तिको जित र हारले काम गर्दो रहेछ

त्यहाँ अध्यात्मले होइन,

छलछाम र कपटले काम गर्दो रहेछ

त्यहाँ पुस्तकमा लेखिएको रणनीतिले होइन,

पुस्तकमा नलेखिएको रणनीतिले काम गर्दो रहेछ

ती पुस्तकमा लेखिएका मर्मस्पर्शी शब्दहरुले

मेरो मनस्थिति बदल्न सके

परिस्थिति बदल्नुछ भन्ने अन्तर्दृष्टि पनि दिए

तर परिस्थिति बदल्न नसक्ने रहेछ

परिस्थिति बदल्न त

परिस्थिति बदल्ने काम पो गर्नुपर्दोरहेछ

परिस्थिति बदल्ने काम गर्न त

हरेकले आफ्नै जैविक यन्त्रमा क्षमता बदल्नु पर्दोरहेछ

हरेकले आफ्नै जैविक यन्त्रमा क्षमता बदल्न त

हरेकले आफ्नै जैविक यन्त्रमा अभ्यास गर्नु पर्दोरहेछ

त्यसैले,

पुस्तक पढ्नु भनेको त

अभ्यासको अर्थ र मर्म बुझ्नु पो रहेछ

अभ्यासको कमी हुँदा सिर्जिएको

आजको दूरावस्था देख्नु पो रहेछ

आफैंले आफ्नै जैविक यन्त्रमा अभ्यास गर्नु पो रहेछ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?