+
+

काठमाडौंमै फोन टिप्दैन, गुणस्तर बिग्रँदै गयो : सञ्चारमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १६:१८

२४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभित्र टेलिफोन सेवाको गुणस्तर बिग्रँदै गएको स्वीकारेकी छिन् । काठमाडौंमै पनि कतिपय ठाउँमा ‘ब्ल्याक स्पट’ रहेको भन्दै उनले राजमार्गहरु पनि फोन नटिप्ने समस्या रहेको बताइन् ।

संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै मन्त्री शर्माले बिग्रिएको टेलिफन सेवाको गुणस्तर सुधार्ने जिम्मा मन्त्रालयको काँधमा रहेको बताइन् । ‘हामी एउटा गृहकार्य गरिरहेका छौं, टेलिकमले पनि गरिरहेको छ,’ नेपाल टेलिकमतर्फ संकेत गर्दै उनले भनिन्,‘मन्त्रालयको तर्फबाट सहयोग गर्ने काम पनि भइरहेको छ ।’

दूरदराजको ठाउँमा टेलिफोन सेवा नै नपुग्नु र काठमाडौंमा नै फोन सेवाको पहुँच नपुग्नुको कारण फरक–फरक रहेको मन्त्री शर्माले बताइन् । ‘हाइ-वे (राजमार्ग)मा समेत फोन टिप्दैन, कम्तिमा त्यहाँ कभरेज गरौं भनेका छौं,’ उनले भनिन्,‘कतिपय ठाउँमा निकुञ्ज र जंगलहरु छन्, काठमाडौंबाट मुग्लिन पुग्दा समेत राजमार्गको कैयन ठाउँमा फोन टिप्दैन ।’

सवारी दुर्घटना हुँदा फोन सम्पर्क समेत गर्न नसक्ने अवस्था रहेको भन्दै उनले छिटोभन्दा छिटो हाइ–वे कभरेज गर्न भनिएको बताइन् ।

कर्णालीसहित विकट क्षेत्रमा टेलिफोन सेवा राम्रो स्वीकार गर्दै उनले दुःख बिरामी र अप्ठेरो पर्दा समेत सेवाग्राहीले सहज ढंगले फोनमा कुराकानी गर्न नपाएको बताइन् । देशका सबै भू-भागमा टेलिफोनसहित सञ्चार सुविधा पुर्याउने विषयमा मन्त्रालय दृढ रहेको मन्त्री शर्माले बताइन् ।

‘काठमाडौंमा घरघनीले बीटीएस टावर राख्न नदिने र सार्वजनिक ठाउँ पनि नपाउने अवस्था छ भन्ने रिपोर्ट टेलिकमले दिएको छ,’ उनले भनिन्,‘यदि घरधनीलाई सम्झाएर पनि टावर राख्न सकिएन भने स्थानीय तहहरुसँग छलफल गरेर विकल्पमा पनि जानुपर्छ ।’

कतिपय ठाउँमा टेलिफोन टावर बनेर पनि सञ्चालनमा नआएको भन्दै उनले कामलाई प्रभावकारी बनाउँदै अघि बढ्ने बताइन् । दुर्गम क्षेत्रका टावरहरुसम्म बिजुली पुर्याउन ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणसँग छलफल गर्न लागिएको शर्माले बताइन् ।

नेपाल टेलिकमका कर्मचारीको औसत उमेर ४७ वष रहेको तथ्या सुनाउँदै मन्त्री शर्माले यसका कारण पनि सेवप्रवाह प्रभावकारी नभएको हुनसक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?