+
+
Shares

संविधान संशोधनको विषयमा सरकारले दलहरूसँग संवाद गर्नुपर्छ : पूर्वमन्त्री शर्मा

शर्माले संविधान संशोधनको विषयमा सरकारले दलहरूसँग अझै धेरै संवाद गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १८:०१

२ असार, काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रेखा शर्माले संविधान संशोधनको एजेन्डा तय गर्नुअघि संविधानको समग्र पुनरावलोकन आवश्यक रहेको भए पनि हालसम्म त्यस दिशामा पर्याप्त काम हुन नसकेको बताएकी छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधनको विषयमा अध्ययन गर्न सबै राजनीतिक दलहरुले कार्यदल गठन गरेको भएपनि संविधान पुनरावलोकनको विषयमा खासै चासो दिएको नदेखिएको बताइन् ।

उनले तत्कालीन संविधान सभामा आफ्नो पार्टीले निर्वाचन प्रणाली, शासकीय स्वरूप र लैंगिक विभेदका विषयमा असहमति जनाएको स्मरण गराउँदै वर्तमान राजनीतिक परिस्थितिले संविधान पुनरावलोकनको आवश्यकता थप स्पष्ट बनाएको उल्लेख गरिन् ।

उनले संविधान संशोधनको विषयमा सरकारले दलहरूसँग अझै धेरै संवाद गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन् ।

उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा दलहरूले घोषणापत्रमै संविधान समीक्षा र संशोधनको विषय उठाएको तथा कांग्रेस–एमाले गठबन्धन सरकार गठनका बेला पनि संविधान संशोधन प्रमुख एजेन्डा रहेको स्मराण गराइन् ।

उनले नेकपाद्वारा गठित संविधान संशोधन कार्यदलले संशोधन गर्न सकिने विषयहरूको अध्ययन गरिरहेको तथा सरकारलाई आवश्यक सुझावसमेत दिइरहेको बताइन् ।

उनले भने, ‘संविधानको कुन-कुन विषयमा संशोध गर्ने भन्नेबारे एजेन्डा पहिल्याउनुभन्दा पहिले हामीले संविधानको पुनरावलोकन गर्नुपर्ने हो । त्यो भइरहेको छैन । अहिले हाम्रो त धेरै वटा पार्टीहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । तत्कालीन संविधान सभाको सदस्य पनि भएको हुनाले त्यतिबेला हामीले यो निर्वाचन प्रणालीको बारेमा, शासकीय स्वरूपको विषय र लैंगिक विभेदको विषयमा असहमति नै दर्ज गरेका छौँ । त्यो बेलाको स्थिति र आजको स्थिति थोरै फरक छ ।’

उनले अगाडि भनिन्, ‘हामीले पार्टीका वरिष्ठ नेता देव गुरुङको नेतृत्वमा संविधान संशोधन कार्यदल गठन गरेका छौँ । उहाँको नेतृत्वमा संविधानको कुन-कुन विषयमा संशोधन गर्न सकिन्छ ? भनेर कार्यदलले काम पनि गरिरहेको छ । र कार्यदलले नै सरकारलाई आवश्यक सुझाव पनि दिइरहेको छ । हाम्रो पार्टीको धारणा के हो भने संविधानका संशोधनीय विषयवस्तु संशोधन गर्नुपर्छ भन्नेमा स्पष्ट छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?