 
																			२४ चैत, विराटनगर। माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा थियो । अनुपस्थित भएका विद्यार्थी खुला शिक्षा अन्तर्गतका परीक्षार्थी रहेको शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले भने पाँच वटा परीक्षा केन्द्रमा २४८ जना परीक्षार्थी अनुपस्थित भएको बताए ।
बिहीबार सामाजिक अध्ययनको परीक्षाको दिन प्रहरीले तीन वटा परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेको घटना बाहिर आएपछि जनता माध्यमिक विद्यालय सुन्दरहरैचा, सरस्वती माध्यमिक विद्यालय ग्रामथान, सार्वजनिक माबी केराबारी, सूर्योदय मावि कदमाह र सरस्वती माध्यमिक विद्यालय दादरबेरिया परीक्षा केन्द्रमा खुला तर्फका थप १७९ परीक्षार्थी अनुपस्थित भएका हुन् ।
अर्काको नाममा परीक्षा दिने पक्राउ परेपछि नक्कली परीक्षार्थी पक्राउ पर्ने डरले परीक्षामा सहभागी नभएको प्रहरीको आशंका छ ।
प्रहरीले ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट बिहीबार ५२ जनालाई पक्राउ गरेको थियो । सो परीक्षा केन्द्रबाट परीक्षा दिने नरग्राम माध्यमिक विद्यालयका विद्यार्थी पक्राउ परेका हुन् ।
केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १२७ जनालाई पक्राउ परेका थिए । उनीहरु मच्छिन्द्र मावि केराबारीका विद्यार्थी हुन् । सुन्दरहैंचाको जनता माविबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरु मृगौलिया माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।
मोरङमा सात वटा विद्यालयमा खुला शिक्षा अन्तर्गत विद्यार्थी भर्ना गर्न पाउँछन् । खुला शिक्षा अन्तर्गत परीक्षा दिनका लागि कक्षा ८ पास गरेको तीन वर्षपछि मात्रै भर्ना हुन पाइन्छ ।
खुला शिक्षाको स्वीकृति लिएका सात वटा विद्यालयलले निजी इन्ष्टिच्युटसँगको सहकार्यमा विद्यार्थी भर्ना गर्ने गरेको पाइएको शिक्षकहरु बताउँछन् ।
निजी इन्ष्टिच्युटले विद्यालयसँगको मिलेमतोमा पास गराउने सर्तसहित परीक्षा फर्म भरेकासँग महङ्गो शुल्क लिने र परीक्षार्थीको प्रवेश पत्रको फोटो फेरेर नक्कली परीक्षार्थी पठाउने गरेको एक शिक्षकको दाबी छ ।
‘यो धन्दा पुरानो हो, अहिले पक्राउ परेपछि घटना बाहिर आयो’, ती शिक्षकले भने, ‘खुला शिक्षाको परीक्षा लेख्न इन्ष्टिच्युटले विद्यार्थीलाई बस रिजर्भ गरेर पठाउँछ ।’
त्यसरी परीक्षामा लेख्ने काम गर्नेले एउटा परीक्षा लेखेको एक हजार पाँच सयदेखि तीन हजारसम्म लिने गरेको देखिएको प्रहरी स्रोत बताउँछ । खुला शिक्षा सञ्चालनको अनुमति लिएका मोरङका सात विद्यालयमा १ हजार ३२ जना परीक्षार्थी थिए ।
बुधबार सरस्वती माविमा परीक्षार्थीको प्रवेशपत्रमा फोटो शंकास्पद भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । ती परीक्षार्थी मार्फत अनुसन्धान सुरु गरेको प्रहरीले बिहीबार तीन वटा केन्द्रबाट फोटो फेरेका १९९ जना परीक्षार्थी पक्राउ परेका थिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दाहालले बताए ।
परीक्षा रद्ध
शिक्षा समन्वय इकाई मोरङ मोरङका प्रमुख गौतमले नक्कली परीक्षार्थीले लेखेको सबै परीक्षा रद्ध गरिने बताए । आजसम्म ६ वटा विषयको परीक्षा भएको छ ।
नक्कली परीक्षार्थीको आरोपमा पक्राउ परेकाहरुले लेखेको नेपाली, अंग्रेजी, गणित ,विज्ञान र सामाजिक विषयको परीक्षाको उत्तरपुस्तिका रद्ध हुनेछ । यो परीक्षामा सक्कली परीक्षार्थीले पनि सहभागी हुन पाउदैनन् ।
‘हिजो २०० नक्कली देखिए, आज १७९ जना अनुपस्थित थिए भए’, उनले भने, ‘आज अनुपस्थित नभएका परीक्षार्थीका विषयमा पनि छानबिन हुन्छ ।’ पक्राउ पर्ने डरले नक्कली परीक्षार्थीहरु अनुपस्थित भएको हुनसक्ने उनले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4