+
+

राजस्व संकलनको लक्ष्य पुरा नहुने संकेत देखियो : अर्थमन्त्री  

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १८:१९

२४ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलनको लक्ष्य पूरा नहुने संकेत देखिएको बताएका छन् । शुक्रबार आर्थिक पत्रकार संघ (नाफिज)को छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको उनले बताए ।

उनले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचक भन्दा राजस्वको लक्ष्य बढी राखेपनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए ।

अर्थमन्त्री डा. महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उनले बताए । मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको डा. महतको भनाइ छ । उनले बैंकको कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको पनि बताए ।

मुलुकमा लगानीको वातावरणलाई सकारात्मक बनाउन मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिको लागि जान जरुरी रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री डा. महतले सरकारले साधारण खर्चमा अत्याधिक मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने पक्षमा रहेको बताए । उनले सरकारले साधरण खर्च घटाउने सम्भावना कम भएपनि सरकार खर्च नगरे पनि हुने खालका खर्चलाई कटौती गर्ने बताए । उनले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आएपनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए ।

सरकारको पूँजीगत खर्चमा समस्या देखिएको भन्दै पूँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको बताए । उनले पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको ‘कस्ट’ बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्तय गर्ने गरी सरकारले तयारी थालेको बताए । अर्थमन्त्री महतले सरकारको ध्यान पूँजीगत खर्च निश्चित समयमा खर्च गर्ने, सीमित स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?