+
+

ओलीलाई जस्तो अनुकूल अवस्था प्रचण्डलाई छैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १९:२९

२६ चैत, दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७४ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदाजस्तो सहज अवस्था अहिले नभएको बताएका छन् ।

उनले अर्थतन्त्र समस्यामा रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न सहज नभएको बताएका हुन् ।

नेपाली कांग्रेस दाङको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘२०७४ सालमा केपी ओली प्रधानमन्त्री हुँदा जुन अनुकूलता थियो, अहिले त्यो अनुकूल पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा छैन । हाम्रो अर्थतन्त्र यसरी खस्किएको छ कि सामान्य खर्च समेत टार्नलाई अफ्ठ्यारो पर्ने स्थिति छ ।’

उनले यसपटक राजस्व संकलन कम भएकाले विगतमा जस्तो बजेट बनाउने सहुलियत सरकारलाई नभएको पनि बताए । ‘हाम्रो उत्पादन घटेको छ, ३५ वर्षपछि राजस्वमा कमी आएको छ’ उनले भने, ‘अहिले हामी अत्यन्त गाह्रो र अफ्ठ्यारो अवस्थामा छौं । वर्तमान सरकारमा बस्ने साथीहरुले यो कुरा बुझेर र साना कुरामा ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता छ ।’

थापाले धरासायी भएको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने भनाइ राखे । उनले अहिलेको गठबन्धनको वर्तमान सरकारले नै मुलुकको संकटग्रस्त अर्थतन्त्र सुधार गर्ने जिम्मा लिने बताए ।

‘धान चामल, माछा–मासुदेखि फलफूल समेत किनेर खानुपर्ने जुन स्थिति छ, यो हामी बदल्छौं’  उनले भने, ‘अबको पाँच वर्षमा कृषि उत्पादन, उद्योग कलकारखानामा जोड दिएर संकटग्रस्त अर्थतन्त्रलाई सुधार्छौं । यो काम हामीले नै गर्नुपर्नेछ, गर्छौं  पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?