+
+

कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १५:४०

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको बताए ।

‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । …अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोलि हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउनेतिर सबै लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ’ उनले भने ।

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ । हुन त अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ । गठबन्धन नभई सरकार बन्दै बन्दैन । गठबन्धन सरकारमा हामी सहभागी भएका छौं । त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ अगाडि बढ्न’ उनले भने ।

सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरुले पार्टीका लागि सहयोग गरेपनि उनीहरुको हितमा धेरै काम गर्न नसकेको देउवाको स्वीकारोक्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?