+
+

बुटवलमा घरभाडा घटाउन व्यावसायिक संस्थाको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १६:०७

२९ चैत, बुटवल । रुपन्देहीका व्यावसायिक संस्थाहरुले घरबहाल घटाउन घरधनीहरुलाई सामुहिक अपिल गरेका छन् ।

बुधबार संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दैै उनीहरुले घरबहाल घटाउन र व्यवसाय सञ्चालनको वातावरण बनाउन अपिल गरेका हुन् ।

रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, बुटवल उद्योग बाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरबहाल सरोकार संघको संयुक्त बैठकले यस्तो अपिल गरेको हो ।

बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु मारमा परेको, पसल बन्द गर्ने व्यवसायीको संख्या बढ्दै गएको र विस्थापित हुने क्रम बढेको भन्दै उनीहरुले तत्काल घरबहाल नघटाइए घरधनीहरुको आयश्रोत पनि बन्द हुने अवस्था आउने बताएका छन् ।

खस्कँदै गैरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु अपरिहार्य आवश्यकता रहेकोमा जोड दिँदै बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सम्पूर्ण घरधनीहरुलाई घरभाडामा अधिकतम छुट प्रदान गरी बजार विस्थापित हुनबाट जोगाउन र व्यवसाय बन्द हुने अवस्थाको अन्त्य गर्न माग गरिएको छ ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग बाणिज्य संघका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार संघका बाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र घरबहाल सरोकार संघका अध्यक्ष राजु लिगलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घरभाडा नघटाइए यसको प्रत्यक्ष असर आम उपभोक्तालाई पर्न जाने उल्लेख गरिएको छ ।

केही घरधनीहरुले घरभाडामा २० प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेका छन् ।

बुटवलका मृगेन्द्रकुमार शेरचनले वर्तमान विषम परिस्थितिलाई मध्यनजर गरी आफूले लिँदै आएको घर भाडामा आगामी एक वर्षसम्म २० प्रतिशत छुट गरेको घोषणा गरेका हुन् । गत स्थानीय चुनावमा बुटवलको मेयरका उम्मेदवार शेरचन राप्रपाका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?