+
+

‘प्रिमियर कप सफल भए थप प्रतियोगिता आयोजना गर्न पाउँछौं’

क्यानलाई लागेको छ यो प्रतियोगिता सफल बनाउन सकिए अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसीसीबाट थप प्रतियोगिता प्रदान हुनेछ ।

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० वैशाख १ गते १९:१०

१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कप आयोजनाको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । एसिया कप छनोटका रुपमा रहने यो प्रतियोगितामा एसियाका १० एशोसिएट टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालले एक दशकपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी)बाट प्रतियोगिता आयोजना अधिकार पाएको हो । सन् २०१३ को मार्चमा एसीसी टी–२० कप आयोजना गरेयता नेपालले प्रतियोगिता पाउन छाडेको थियो । आन्तरिक खिचातानीले क्यान नै निलम्बनमा पर्नु र पूर्वाधारको कमजोरीले नेपाल ठूला प्रतियोगिताको आयोजनाबाट टाढिँदै गएको हो ।

एसीसी प्रिमियर कपको विजेताले आउने सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटमा भारत र पाकिस्तान रहेको समूहमा रहेर खेल्न पाउनेछ । त्यसैले नेपाली टोलीका लागि पनि यो प्रतियोगिता इतिहास कायम गर्ने अवसर हुनसक्छ ।

यो प्रतियोगिता नियमित अन्तर्राष्ट्रिय खेल भइरहेको त्रिवि क्रिकेट मैदान, कीर्तिपुरका साथै मूलपानी मैदानमा हुँदैछ । पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न लागिएको मूलपानी मैदानको स्तरोन्नत्ति र पूर्वाधारमा क्यानले यसपल्ट विशेष तयारी गरेको छ ।

किनभने, क्यानलाई लागेको छ यो प्रतियोगिता सफल बनाउन सकिए अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसीसीबाट थप प्रतियोगिता प्रदान हुनेछ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय निकायहरुबाट विश्वास पाइरहेको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पूर्वाधार नै बाधक देखिएको बताउँछन् ।

‘यहाँ क्रिकेटको माहोल राम्रो छ । खेलाडी प्रतिभावान छन् । उनीहरु मिहिनेत गरिरहेका छन् र क्यानले त्यो वातावरण सृजना गरिरहेको छ,’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष चन्दले भने, ‘एसीसी र आईसीसीले हामीलाई पत्याइरहेको छ । अरु प्रतियोगिता पनि दिन्छु भनिरहेको छ । यही वर्ष पनि हामीले अरु दुई तीनवटा प्रतियोगिता पाउन सक्छौं । तर, हामीसँग सन्तोषजनक पूर्वाधार नै भएन ।’

एसियाका अन्य एसोसिएट राष्ट्रको तुलनामा नेपालको बजार सस्तो छ । होटलदेखि खानपिन र यातायात सस्तो हुँदा आईसीसीको रोजाइमा पनि नेपाल पर्ने गरेको अध्यक्ष चन्दले बताए । पूर्वाधारमा प्राथमिकता दिन सके नेपाल आकर्षक क्रिकेट गन्तव्य बन्न सक्छ ।

नेपालले सन् १९९९ मा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा एसीसी ट्रफीको आयोजना गर्दा त्रिवि मैदान भर्खरै निर्माण गरिएको थियो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दुई र सेन्ट जेभियर्स स्कुलमा एक कामचलाउ मैदानले प्रतियोगिता सम्पन्न भएको थियो । पछिल्लोपल्ट सन् २०१३ मा प्रतियोगिता गर्दा त्रिविसहित पुल्चोक र भक्तपुरको सैनिक स्कुलको मैदान प्रयोग गरिएको थियो । दशकपछि आउँदा पनि नेपालको पूर्वाधार विकास जहाँको त्यहीँ छ ।

त्रिवि क्रिकेट मैदानमा नियमित प्रतियोगिता भइरहेको छ । २०६४ सालमा निर्माण गरिएको मूलपानी (माथिल्लो) मैदानमा घरेलु प्रतियोगितामा बैकल्पिक रुपमा प्रयोग गरिए पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न प्राथमिकता नै दिइएको थिएन । ०६१ सालदेखि निर्माण थालिएको मूलपानी तल्लो मैदान अहिलेसम्म पनि तयार नहुनुले नेपालमा सरकारको ढिलासुस्ती र क्रिकेटप्रतिको गम्भीरतालाई गिज्याइरहेको छ ।

‘हामी पूर्वाधारका कुरामा चिन्तित छौं । तर, हामीले निर्माण गर्न सक्दैनौं । आईसीसीबाट आउने सहयोग भएका मैदान मर्मतसंहार, खेलाडीको सुविधा र प्रशासनिक खर्चमै ठिक्क छ,’ अध्यक्ष चन्द भन्छन्, ‘मैले पनि पटक पटक प्रधानमन्त्री, अर्थमन्त्रीलाई भेटेर भनेको छु । खेलकुद परिषदमा त रातदिन रोनाधोना गरिरहेकै छौं । सरकारले विकास बजेटलाई सीमिततामा राखेको अवस्थामा हाम्रो क्रिकेट विकास सम्भव छैन ।’

अन्तर्राष्ट्रियस्तरमा सम्भावनासहित उदाइरहेको क्रिकेट खेललाई अन्य खेलसँग तुलना गरी बजेटमा सीमित पारिएकोमा सरकारप्रति अध्यक्ष चन्दको बढी गुनासो थियो । ‘मैदानकै कारण हामी प्रतियोगितालाई अर्को देशमा लगिएको हेर्न सक्दैनौं । यो प्रतियोगिता सफल भएको अवस्थामा यही वर्ष पनि अरु दुई तीन प्रतियोगिता पाइपलाइनमा छन् । तर, आईसीसीले पूर्वाधार र मैदानको संख्यामा हामीसँग प्रष्ट जवाफ खोजिरहेको छ ।’

यो वर्ष आईसीसी टी–२० विश्वकप एसिया छनोट, एसीसी टी–२० कप तथा एसीसी यू–१९ इमर्जिङ कपजस्ता प्रतियोगिता एसियामा सञ्चालन हुँदैछन् । राम्रो प्रस्ताव र पूर्वाधारको ग्यारेन्टी हुँदा नेपालले नै आयोजनाको अधिकार पाउन सक्छन् ।

अध्यक्ष चन्दले यी प्रतियोगिताका लागि एसीसी र आईसीसीसँग समन्वय भइरहेको तर, पूर्वाधारको निश्चितता खोजेको बताए । उनका अनुसार आईसीसीले आफ्नो प्रतियोगिता आयोजना गर्न कम्तिमा तीन व्यवस्थित मैदानको ग्यारेन्टी खोजेको छ ।

कीर्तिपुर र मूलपानी (माथिल्लो) मैदानपछि मूलपानी तल्लो मैदानलाई व्यवस्थित गरेर भए पनि क्यानले अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना नेपालबाट अन्त पुग्न नदिने योजना बनाएको छ ।

‘तेस्रो भेन्यूका रुपमा मूलपानी तल्लो मैदान हामी तयार गर्न सक्छौं । अरु ठाउँहरुमा निर्माण सम्पन्न हुन बाँकी छ । हाम्रा लागि सबैभन्दा उचित मूलापानी नै हुन्छ । मैदान (आउटफिल्ड) र पीचलाई स्तरीय बनाउने काम हामी गछौं । बाँकी काम सरकारले जारी राखिराख्दा हुन्छ ।’

स्थानीय सरकारको सहयोग सराहनीय

क्यान अध्यक्ष चन्दले एसीसी प्रिमियर कप आयोजनाका लागि भेन्यू रहेका स्थानीय तहका जनप्रतिधिको सहयोगको प्रंसशा गरेका छन् । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीबाट प्रतियोगिता तयारीका लागि उल्लेख्य सहयोग पाउँदा काम गर्न सहज भएको उनले जानकारी दिए ।

त्यस्तै एसीसीको सहयोगमा नेपाल ल्याइएका पीच कटर, पीच रोलर र सुपरसपरलगायतका पीच तथा मैदान व्यवस्थापनका सामानहरु अर्थ मन्त्रालयले भन्सार छुट गरिदिएको उनले बताए । करिब डेढ करोडको सामान आएकोमा १ प्रतिशतमात्र भन्सार महशुल बुझाएर क्यानले ती सामान भैरहवाबाट काठमाडौं ल्याउँदैछ ।

कीर्तिपुर र मूलपानी मैदानमा ती सामाग्री प्रयोग गरिने छ ।

‘स्थानीय सरकारले जिम्मेवारी लिएका कारण हामीलाई पार्किङ व्यवस्थापन, खानेपानी, विजुलीलगायतका काममा धेरै सहयोग पुगेको छ । उहाँहरुले पनि आफ्नो ठाउँमा हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितालाई अपनत्व लिइदिनुभएको छ,’ चन्दले भने ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले मलेसिया, ओमान, साउदी अरव र कतारसँग समूह चरणका खेलहरु खेल्दैछ । तीमध्ये ११ वैशाखमा हुने साउदी अरवसँगको खेल मूलपानी मैदानमा हुनेछ । प्यारापिट नहुँदा यो खेल हेर्न आउने दर्शकको व्यवस्थापन गर्न क्यानलाई ठूलो चुनौति हुनेछ । एसीसीको टेक्निकल कमिटीले तालिका र भेन्यू परिवर्तन गर्न अस्वीकार गरेको थियो ।

क्यान अध्यक्षले मूलपानीका स्थानीयबासीलाई आफ्नो ठाउँमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको महशुस दिन र आफ्नो टिमको खेल आफ्नै ठाउँमा बसेर हेर्ने सुविधाका लागि पनि नेपालको एउटा खेल मूलपानीमा राखिएको दावी गरे ।

‘मूलपानीमा अन्तर्राष्ट्रिय मैदान बनिरहेको छ भने त्यहाँका मानिसहरुका लागि पनि नेपालको खेल आफ्नै ठाउँमा बसेर हेर्ने इच्छा हुन्छ । त्यसका लागि पनि एउटा खेल हामीले मूलपानीमा खेलाउनुपर्छ भन्ने नै हो,’ उनले स्थानीयबासिन्दा र समर्थकसँग अनुरोध गरे, ‘हामीसँग पूर्वाधार सीमित छ । दर्शकका लागि राम्रो ठाउँ छैन । पानी र चर्पी छैन । यद्यपि अहिले जे जस्तो अवस्था छ त्यसलाई स्वीकार गरी संयमित भएर क्रिकेट हेरिदिनुस् ।’

एसीसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म आयोजना हुनेछ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, ओमान, मलेसिया, साउदी अरव र कतार छन् । समूह बी मा यूएई, बहराइन, हङकङ, कुवेत र सिंगापुर छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछ । उपाधि विजेता टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ ।

भिडियोमा हेर्नुहोस् :

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?