+
+

‘जारी’ले दुई दिनमै ४ करोड बढी कमायो, अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शनमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते ११:३२

काठमाडौं । फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको छ । नयाँ वर्षको दिन शुक्रबार प्रदर्शनमा आएको फिल्मको पहिलो दिनको कमाइ दुई करोड १५ लाख रुपैयाँ ग्रस हाराहारी रह्यो । दोस्रो दिन शनिबारको कमाइ पनि दुई करोडभन्दा माथि छ ।

पहिलो सप्ताहन्त अर्थात दुई दिनमै फिल्मको कुल कमाइ चार करोड रुपैयाँ ग्रसभन्दा माथि रह्यो । काठमाडौंसहित विशेषगरी पूर्वी सहरका हलहरु शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनमा आए । यसबाहेक पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्ज लगायतका सहरमा पनि फिल्मको ओपनिङ आक्रामक रह्यो ।

तेस्रो दिन आइतबार पनि काठमाडौं र पूर्वी सहरका मल्टिप्लेक्सको अकुपेन्सी उच्च छ । विशेषगरी लिम्बू समुदाय बहुल क्षेत्रका हलले राति ११ बजेसम्मका शो पनि देखाइरहेका छन् । सकारात्मक फिल्म समीक्षा, ट्रेलरबाट प्राप्त प्रतिक्रिया, दयाहाङ राई र मिरुना मगर स्टारर ‘कबड्डी’ श्रृंखलाको क्रेजले ‘जारी’लाई फाइदा पुग्यो ।

बलियो वर्ड अफ माउथ भएकाले ‘जारी’ विकडेजमा पनि सन्तोषजनक अकुपेन्सीसहित प्रदर्शन हुने देखिएको छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको चलनलाई दृश्यभाषाको रुप दिएको छ । विजय बराल, प्रेम सुब्बा, रोयदीप लगायतका कलाकार पनि शीर्ष भूमिकामा छन् ।

‘जारी’ चल्दा दयाहाङ अभिनित अर्को फिल्म ‘बिहेपास’लाई पनि बक्स अफिसमा फाइदा पुगेको छ । दयाहाङ र प्रकृति श्रेष्ठ स्टारर फिल्मले पनि सन्तोषजनक कमाइ गरिरहेको छ । नयाँ वर्षमै रिलिज भएको अर्को फिल्म ‘बुलाकी’ले आफूलाई बक्स अफिसमा स्थापित गराउन सकेन । स्वदेशमा उत्कृष्ट कमाइ गरिरहेको जारी अमेरिका, युरोप र अष्ट्रेलियामा वैशाख १ गतेदेखि नै प्रदर्शनमा आइरहेको छ ।

‘विदेशबाट निकै राम्रो रेस्पोन्स आइरहेको छ । त्यहाँका वितरकले फिल्म लामै समय जाने बताइरहनुभएको छ,’ निर्माता रामबाबु गुरुङले अनलाइनखबरसँग भने । फिल्म केही दिनमा क्यानडामा रिलिज हुँदैछ भने अर्को साता हङकङ, बेलायत र मध्यपूर्वका देशमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?