+
+

कसरी सम्भव भयो शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक वितरण ?

नुनुता राई नुनुता राई
२०८० वैशाख ६ गते ८:०५

६ वैशाख, काठमाडौं । यस वर्ष विद्यार्थीले समयमा नै किताब पाउन थालेका छन् । सरकारले २०८० को शैक्षिक सत्र वैशाख ३ गतेबाट सुरु गरेको छ । अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको छ । तर अहिले नै अधिकांश जिल्लाका बालबालिकाले हात–हातमा किताब पुग्न थालिसकेको छ । जनक शिक्षा सामग्री केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रको दाबी अनुसार भर्ना अभियान सञ्चालन अवधि १५ वैशाखभित्र सबै बालबालिकाको हात–हातमा पुस्तक पुग्नेछ ।

२०६४ सालदेखि विद्यार्थीहरुले समयमा किताब नपाउने समस्या हुँदै आएकोमा शैक्षिक सत्र २०७६ र २०७७ मा भने समयमा किताब पुर्याएको शिक्षा मन्त्रालयले जनाएको छ । तर फेरि गएको दुई शैक्षिक सत्रमा कतिपय विद्यार्थीले पुस्तक नपाउँदै अन्तिम परीक्षा दिएका थिए ।

विगतका वर्षहरुमा विद्यार्थीले भोग्नुपरेको समस्या अन्त्य गरिएको र सामूहिक प्रयास सफल भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याल बताउँछन् । सरकारको बजेट आउने समय नकुरी वैशाखमा नै काम थालेको समयमा काम सकिएको उनको भनाइ छ ।

यदि यसपटक पनि बजेट कुरेर बसेको भए विद्यार्थीको हातमा पुस्तक पुर्याउने सम्भावना नभएको केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगाना बताउँछन् । उनका अनुसार केन्द्रले सरकारी बजेट आएपछि भुक्तानी गर्ने गरी पहिले नै छापाखानाहरुसँग सम्झौता गरेको थियो । ‘हामीले सरकारले दिने पैसा कुरेर बसेनौं । पुस्तक लेखन होइन विकास हो त्यसको लागि विभिन्न चरणमा जाँच, परीक्षण गर्नुपर्छ त्यसरी गरिने काम हामीले माघमा सक्यौं । यसरी पाठ्यक्रम विकास केन्द्रले दिनरात, बिहान, साँझ गरेको कामलाई प्रकाशक, वितरक सबैले साथ दिएको कारण सम्भव भयो’ उनले भने ।

यस वर्ष सरकारले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी कम्पनीलाई छाप्न दिएको थियो भने ६ देखि १० कक्षासम्मको पुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेको थियो । गत वर्ष भने जनक शिक्षाले ४ देखि १० सम्मको पुस्तक छापेको थियो भने १ देखि ३ सम्मको निजीले छापेका थिए ।

जनक शिक्षा सामग्री केन्द्रको भनाइ अनुसार उसको जिम्मामा रहेका सबै पुस्तक छपाइ सकिएको छ । अहिले ६२ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको र बाँकी १५ जिल्लामा ५ दिनभित्र पुगिसक्नेछ । जनक शिक्षाले चैत २४ गतेदेखि आफ्नो ९ डिपोबाट बिक्री वितरण सुरु गरेको थियो । पढाइ सुरु हुँदासम्म सबै बालबालिकाले किताब पाइसक्ने जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल झाले जानकारी दिए ।

यसवर्ष तीनवटा छपाइ मेसिन, पर्याप्त जनशक्ति, कागज, बजेट र व्यवस्थापनको तालमेल मिलेकाले समयमा पाठ्यपुस्तक छपाइ सकिएको हो ।

जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गरेको छ । निजी प्रकाशकहरुले १ देखि ५ कक्षासम्मका एक करोड २० लाख थान पुस्तक छपाइ गरेको छ ।

अंग्रेजी माध्यमको पुस्तक पाउन अझै समय लाग्ने

अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयहरुले भने आफूहरुले किताब नपाएको गुनासो गरिरहेका छन् । जनक शिक्षाका अनुसार विद्यालयहरुले समयमा विवरण नपठाउँदा अंग्रेजी माध्यमका पाठ्यपुस्तक अभाव भएको हो ।

गत वर्षको संख्याको आधारमा प्रकाशन भएका पुस्तकहरु पठाइसकेको र थप माग भइ आएका पुस्तकहरु प्रकाशन भइरहेको केन्द्रले जानकारी दिएको छ ।

‘कुन–कुन विद्यालयले कुन–कुन कक्षामा अंग्रेजी माध्यम लागू गरेका छन् भन्ने कुरा केन्द्रलाई थाहा हुँदैन’, केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगाना भन्छन्, ‘विद्यालयले अगाडि विवरण पठाएको भए यो अवस्था आउँदैन थियो । अन्तिम समयमा आएर हामीलाई अंग्रेजी माध्यमको पुस्तक चाहियो भनेर माग्ने प्रचलनले समस्या भएको हो ।’

कक्षा ५, ८ र १० को नयाँ पाठ्यक्रम आएकाले अंग्रेजीमा अनुवाद गर्ने काम भइरहेको र सक्नेबित्तिकै जनक शिक्षालाई दिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?