+
+

इनासको युरोपस्तरीय नृत्य प्रतियोगिताको उपाधि संस्कारलाई, गायनमा मलिसा पहिलो

उत्कृष्ट कार्यसम्पादनको अवार्ड इनास फ्रान्सलाई

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते ७:४७

बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोपस्तरीय नृत्य प्रतियोगिताको उपाधि डेनमार्कका संस्कार बस्नेतले जितेका छन् । फ्रान्सकी अश्मी थापा दोस्रो र अष्ट्रियाकी बबिता पुनले तेस्रो स्थान हासिल गरे ।

शनिवार जर्मनीको म्युनिखमा सम्पन्न पाँचौ गायन प्रतियोगिताको उपाधि भने जर्मनीकी मलिसा गुरुङले जितेकी छिन् । डेनमार्कका सागर तिमिल्सिना दोस्रो र नेदरल्यान्ड्सका एडविन नेम्वाङ्गले तेस्रो स्थान प्राप्त गरे ।

नृत्य र गायनतर्फ पहिलो हुनेलाई ८ सय युरो, ट्रफी, मेडल तथा प्रमाणपत्र, दोस्रोलाई पाँच सय युरो र तेस्रो हुनेलाई ३ सय युरो नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्डस, पोल्याण्ड, चेक गणतन्त्र लगायतका मुलुकहरुबाट १५ जना प्रतियोगीहरु नृत्य र गायन तर्फ अन्तिम प्रतिस्पर्धामा भिडेका थिए ।

गायन तर्फको निर्णायकमा शर्मिला बर्देवा, नलिना चित्रकार र रुपक डोटेल रहेका थिए । नृत्यतर्फ पार्वती अधिकारी, विष्णु मल्ल र जगत खड्का निर्णायकको भूमिकामा थिए ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कला र संस्कृतिको जगेर्नाका लागि इनासले खेलेको भूमिकाको प्रशंसा गरे । उनले यस्ता कार्यक्रमहरुले दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई समेत प्रेरणा मिल्ने बताए ।

आयोजक राष्ट्र इनास जर्मनीका अध्यक्ष सुनिल गुरुङले म्युनिखमा कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सहयोगदाताहरुप्रति कृतज्ञता व्यक्त गरे ।

उत्कृष्ट कार्यसम्पादनको अवार्ड इनास फ्रान्सलाई

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोपको वार्षिक भेला शुक्रबार सम्पन्न भएको छ ।

भेलामा बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्डस, पोल्याण्ड, चेक गणतन्त्र लगायतका राष्ट्रिय समितिहरुले प्रत्यक्ष रुपमा आफ्नो प्रगति विवरण र भावी योजनाहरु प्रस्तुत गरेका थिए । यस्तै डेनमार्क, नेदरल्यान्ड्स लगायतका राष्ट्रिय समितिहरुले इमेल मार्फत कार्यसम्पादन विवरण पठाएका थिए ।

कार्यसम्पादनको आधारमा यस वर्ष उत्कृष्ट युरोप राष्ट्रिय समितिको अवार्ड इनास फ्रान्सले जितेको छ ।

इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालको प्रमुख आतिथ्यता र युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षतामा युरोपेली भेला सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?