+
+
विचार :

फूलमायालाई समर्थन, सकम्बरीलाई बहिष्कार

समाजलाई जस्ताको तेस्तै देखाइदिने काम कलाकर्मीहरूको हुनुहुँदैन । त्यो त आम मानिसहरूले देख्दै र भोग्दै आइरहेकै विषय हो । कलाकर्मीहरू समाजको प्रतिपक्ष भूमिकामा हुनुपर्छ । कलाकारहरूमा विद्रोह चेत पनि हुनुपर्दछ ।

हेमराज आश्रम हेमराज आश्रम
२०८० वैशाख ७ गते ९:३५

लोक गायक प्रकाश सपूतलाई मैले आजभन्दा दुई दशक अगाडिदेखि जान्दै आएको छु । उनी बाग्लुङ बजारदेखि १८ किलोमिटर पश्चिममा रहेको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा जन्मिए भने म वडा नम्बर ४ को तङ्ग्राममा जन्मिएँ । उनको गाउँ मेरोभन्दा पूर्वी–दक्षिणी भूभागमा अवस्थित छ । हामी एउटै परिवेश, समाज, संस्कृति र एकै प्रकृतिमा हुर्किएका हौं ।

सामान्य किसान परिवारमा जन्मिएका प्रकाश किशोरावस्थादेखि नै संगीतप्रतिको तीव्र इच्छा र चाहना बोकेर शहर पसेका थिए । वर्तमान समयमा व्यावसायिक संगीतमा उनी अत्यधिक सफल छन्, जुन मेरो लागि पनि खुशीको कुरा हो । सँगैको साथीले समाजको खासै प्राथमिकतामा नपर्ने संगीतमा लागेर आफ्नो परिवारलाई चरम अभाव र दुःखबाट मुक्ति दिलाउने कुरा सबैको लागि प्रेरणादायी नै हुन्छ ।

प्रकाश सपूतको नयाँ कोसेली सकम्बरीको विषयमा अहिले सामाजिक सञ्जाल विभिन्न खेमामा विभाजित भएको छ । विशेषगरी गीतको पक्ष, विपक्ष र तेस्रो धार– मध्यमार्गमा दर्शक श्रोताहरूले आफ्ना विचार प्रकट गरिरहेका छन् । यो गीतको बारेमा मैले चैत १७ गते थाहा पाएँ । यस गीतका एरेन्जर सुदिप सागर प्रिज्म टुडियोमा काम गरिरहेका थिए । संयोग भन्नुपर्छ, सोही दिन हाम्रा केही कामहरू पनि सोही ठाउँमा हुँदैथिए ।

प्रकाश सपूत सामाजिक विषयवस्तुलाई फरक र कलात्मक ढंगले प्रस्तुतीकरण गर्न सक्ने स्रष्टा हुन् । यस सँगसँगै हरेक गीतमा सफलता पनि मिल्दै गयो र आलोचनाले पनि पछ्याइरह्यो । केही गीतहरूबाट त चरम दबावको बीचमा केही सिनहरू हटाएर युट्युबमा पुनः अपलोड पनि गर्नुपर्यो । यस्तै उतारचढावको बीचमा उनको सांगीतिक यात्रा चलिरहेको छ ।

म यो सामग्रीमा उनका अघिल्ला गीतहरूको बारेमा कुनै टिप्पणी गर्न चाहन्नँ । रक्तिम सांस्कृतिक अभियानमा रहेर प्रगतिशील सांस्कृतिक आन्दोलनमा लामो समय खर्च गरेको व्यक्तिको नाताले सकम्बरीको बारेमा केही लेख्नुपर्ने दायित्व बोध भएर आयो । यहाँ लेखमा मैले सकम्बरी र सपूत भनेर धेरै ठाउँमा प्रयोग गरेको छु । सकम्बरीले गीतलाई र सपूतले यसको सर्जक प्रकाश सपूतलाई प्रतिनिधित्व गर्नेछ ।

विषयवस्तु

सकम्बरी गीत, संगीत, भिडियो तथा अन्य सम्पूर्ण तवरले सम्पन्न छ । उसो त सपूतलाई खर्र्चको कुनै समस्या हुँदैन । उनी एउटै शीर्षकमा यतिसम्म खर्च गरिरहेका हुन्छन् कि अन्य कतिपय चलेकै लोक गायकहरूले यसबारेमा सोच्न पनि सक्दैनन् । उनी आफैं ठूलो पैमानामा खर्च गर्न सक्ने क्षमता राख्दछन् । त्यसमा उनलाई देशका ठूला ठूला बैंकरहरूदेखि लिएर व्यावसायिक ग्रुपहरूले उत्तिकै साथ दिइराखेका छन् । जुन अगाडिका भिडियोहरूमा जस्तो सकम्बरीमा पनि देख्न सकिन्छ ।

नेपालमा दोहोरी साँझको स्थापना भएदेखि नै लोक दोहोरीको लोकप्रियता पनि ह्वात्तै बढेर गयो । माओवादी द्वन्द्व समाधान भएदेखि नै रात्रिकालीन व्यवसायहरू फस्टाउने क्रम सुरु भयो । दोहोरी साँझले हजारौं कलाकारहरूलाई जिउँदो राख्यो । अहिले लोक दोहोरी क्षेत्रमा स्थापित ३ कलाकारहरू मध्ये २ दोहोरी साँझमै फलेफुलेका हुन् भन्दा अन्यथा नहोला । सपूतले पनि लामो समय लोक दोहोरी साँझमा गीत गाउँदै आफ्नो करिअर अगाडि बढाए ।

मेरो अनुमानमा सयौं फूलमाया र सकम्बरीहरूलाई सपूतले सोही दौरान देखे । यो कथाको पृष्ठभूमि यहीक्रममा तयार भएको हुनुपर्दछ ।

कला कलाको लागि र कला समाजको लागि भन्ने दृष्टिकोणबाट विश्व दुई भागमा विभाजित छ । पहिलो धारणाले कलाले कुनै विचार र सन्देश बोक्नुहुँदैन भन्नेमा जोड दिन्छ भने दोस्रो धारणाले कलाले समाज र मानव जातिको सुधार र उत्थानमा योगदान दिनुपर्दछ भन्ने मान्यता राख्दछ । नेपालमा व्यावसायिक तथा मूलधारका कलाकारहरूले पहिलो धारणाको प्रतिनिधित्व गर्दछन् भने प्रगतिशील कलाकार तथा साहित्यकारहरूले दोस्रो धारणाको प्रतिनिधित्व गर्दछन् ।

प्रकाश सपूत

यीमध्ये सपूत पहिलो धारको विचार बोक्ने कलाकार हुन् । कला कलाको लागि भन्ने विचारले उनको सिर्जनालाई गाइड गर्दछ । यो कुरा उनले नै विभिन्न अन्तर्वार्ताहरूमा भनेका छन् । उनका सम्पूर्ण कृतिहरूबाट सो कुराको पुष्टि पनि हुन्छ । शुद्ध मनोरञ्जन मात्र दिने विषयमा अन्य कुनै कथावस्तुमा यो कृति आएको भए यस्तो आलोचना पनि कम हुनेथियो होला तर संवेदनशील विषय उपर मनोरञ्जन खोज्दा यसबाट नकारात्मक प्रभाव जाने खतरा पैदा भएको हो ।

समग्र गीतको विभिन्न पक्षहरू सशक्त नै छन् । स्वर, शब्दहरूको मेल, संगीत संयोजनको भरिपूर्णता, कलाकारहरूको जीवन्त अभिनय, छायांकन तथा निर्देशन कला आदि प्राविधिक पक्षहरूको नभएर सन्देश के गयो भन्ने कुरामा मात्र समाजले चासो राखेको हो जस्तो लाग्छ । समाज हामी सबैले बनाएको हो । हामी सबै समाजका पात्रहरू हौं । समाज कस्तो बनाउने भन्ने बारेमा समाजकै पात्रहरूबाट विभिन्न दृष्टिकोण आउनु स्वाभाविकै मान्नुपर्ने हुन्छ । सकम्बरीले अन्य प्राविधिक पक्षमा सकारात्मक प्रतिक्रिया पाउँदा पाउँदै पनि यसको विषयवस्तुको सन्दर्भमा आलोचना खेप्नुपरेको छ । बजारमा के बिक्छ, के बेच्दा नाफा आउँछ भन्ने कुरा पनि मुख्य होइन । नाफा–घाटाको विषय कलामा होइन, व्यापारमा आउने विषय हुन् । नेपाली संगीत बजार पनि नाफा–घाटा, बिकाउ र अबिकाउ विषयहरू छान्न र सम्प्रेषण गर्ने कुरामा व्यस्त भएको छ । स्रष्टाहरू विषय उठान गर्ने र छान्ने विषयमा के कुरा बिक्छ भन्ने कुराबाट प्रभावित हुनुहुँदैन । भलै घाटा नै होस् तर समाजको लागि कुन विषयले फाइदा गर्दछ भन्ने कुरालाई आधार मानिनुपर्दछ ।

सकम्बरी हाम्रो समाजमा घटेकै घटनाको अथार्थ चित्रण हो भन्ने जुन प्रकारको दलिल पेश गरिएको छ तर यो नेपाली समाजको आम समस्या होेइन । नेपाली समाज यहाँसम्म बिग्रिएको पनि छैन र यहाँ यति धेरै सकम्बरीहरू पनि छैनन् । तर सकम्बरी उन्मुख भने पक्कै हुनसक्छन् । सकम्बरीले नेपाली समाजलाई रसिला रसिला सिनहरू देखाएर मस्त तरिकाले भुलाउन सकेको छ । नारी सशक्तीकरण, बढ्दो पूँजीवादको प्रभाव न्यूनीकरण, कानुनी रूपमा दोषी उपर सजाय, नेपाली समाजलाई विकृतिबाट बचाउने लगायत विषयमा सकम्बरी मौन बसिदिंदा अबोध नारीहरूले यौन लिलाम गर्ने कुरा उनीहरूले जन्मजात लिएको कर्म हो भन्ने भाष्य निर्माण हुने भय बढाएको छ । यो कुरा गलत छ ।

संवेदनशील विषयवस्तुको उठान पछि, निवारणको उपयुक्त मार्ग निर्देश विना बीच अवस्थामै सकम्बरीको अन्त्य हुँदा पूँजीवादी संस्कृतिको उन्नयनमा नै टेवा पुग्न गएको छ । पूर्वीय दर्शनमा हुर्केको नेपाली समाजले सकम्बरीमा चित्रित संस्कृतिलाई खारेज गर्दछ ।

आलोचना

सकम्बरीमा कलाको पक्ष दमदार हुँदाहुँदै पनि विषयवस्तु संवेदनशील भएकोले सन्देश के गयो भन्ने विषयले प्रधान अर्थ राख्दछ । मैले सकम्बरीप्रति केही आलोचनाहरू गरें ।

क. सपूतको सकम्बरीले वर्तमान यथार्थको एक प्रतिशत भन्दा पनि कम प्रतिनिधित्व गर्ला । नेपाली समाज चरम अभावबाट गुज्रिएकोले फूलमायाको जस्तो अभाव आम रूपमा सबै चेलीहरूले सदियौंदेखि भोग्दै आएका छन् । यसले सकम्बरीले वर्तमान अवस्थाको यथार्थ बोल्न सकेको छैन । बजारमा बिक्ने विषयवस्तुलाई लिएर सकम्बरी तयार गरिएको छ ।

ख. सकम्बरीले दलाल पूँजीवादको असली रूप देखाएको छ तर त्यसको विरोध गरेको छैन । सो अर्थमा विकृतिको विरोध नगरेर रूप मात्रै चित्रण गर्दा समाजले गलत कुराको सिको गर्ने खतरा बढेर गएको छ ।

ग. कलाकार समाजको दर्पण मात्रै हैनन्, समाज सुधार गर्ने दायित्व पनि हामी सबैले लिनुपर्दछ ।

घ. फूलमायाको जस्तो पारिवारिक समस्या अधिकांश नेपाली समाजको हो । फूलमायालाई कुनै बाध्यता थिएन सकम्बरी बन्नलाई । सामान्य पारिवारिक समस्या टार्न जवानी नै लिलाम गर्नुपर्ने बाध्यता हो भनेर देखाइएको छ । सो प्रसङ्गबाट महिलाहरूले आर्थिक समस्या समाधान गर्न सकम्बरी नै बन्नुपर्छ, त्यसो गर्दा ‘पाप’ लाग्दैन भन्ने कुरालाई वैध ठहर्याउने प्रयास भएको छ ।

प्रकाश सपूतले समाजको वास्तविक घटनालाई देखाउन खोजेको भनेर अन्तर्वार्ता दिनुभएको छ तर मानौं वास्तविक नै भए पनि समाजलाई नकारात्मक सन्देश प्रवाह गर्ने घटना देखाउन सपूतलाई छुट छैन । उनको नैतिकताले पनि दिंदैन ।

ङ. दर्शकहरूको आलोचना चेतलाई सपूतले उल्टै कलाप्रतिको कमजोर चेत भनेर प्रतिप्रश्न गरेका छन् । उनले यसो नगरेको भए हुने । नेपाली समाजको प्रख्यात कलाकार भएको नाताले समाज र यससँग जोडिएको भावनाप्रति उत्तरदायी र संवेदनशील हुनुपर्छ । सुन्दर तथा सभ्य समाज बनाउने दायित्व सबैको हो । सेलिब्रिटीहरूलाई समाजले हेरिरहेको हुन्छ । उसको सम्पूर्ण कार्यहरूले समाजलाई प्रभाव पारिरहेको हुन्छ । सेलिब्रेटीको सकारात्मक कार्यले सकारात्मक र नकारात्मक कार्यले नकारात्मक असर परिरहेको हुन्छ । सामान्य कलाकार र सेलिब्रेटीहरूको हकमा विभिन्न विषयले भिन्दा भिन्दै अर्थ राख्दछ । सामान्य कलाकारले बोल्दा, गाउँदा तथा लेख्दा समाजमा कम प्रभाव पर्दछ भने सेलिब्रेटीले सोही काम गर्दा धेरै प्रभाव पर्ने गर्दछ । सेलिब्रेटीले केही विषयमा बोल्दा र गर्दा समाजले के कुरा सिक्ला ? समाजलाई कस्तो असर पर्ला भन्ने कुराको ख्याल गर्नुपर्ने देखिन्छ । यो कुरालाई सपूतले नजरअन्दाज गरेको देखियो ।

सुझाव

पूँजीवाद र दलाल पूँजीवादको प्रभाव नेपालमा पनि बढिरहेको छ । केही सीमित व्यक्तिहरूसँग राज्यको ९५ प्रतिशत भन्दा बढी पूँजी छ । कोही नेपालका मध्यम पूँजीपतिहरू अन्तर्राष्ट्रिय पूँजीपतिहरूको दलाली गरेर नेपालीलाई लुटिरहेका छन् । पूँजीवादले आफ्नो अनुकूल वातावरण बनाउन समाजका राम्रा मान्छेहरूलाई सेलिब्रेटी बनाउँदछ (विशेषगरी कलाकारहरूलाई) । सेलिब्रेटीहरूलाई धनको प्रलोभन देखाएर आफू अनुकूल प्रयोग गर्दछ । सो सेलिब्रेटीलाई थाहा पनि हुँदैन कि ऊ विस्तारै विस्तारै आफ्नै वर्ग, समाज र संस्कृतिको अहितमा गइरहेको हुन्छ । पूँजीवादमा कोही पनि सेलिब्रेटी अजम्बरी हुँदैनन् । स्वयं पूँजीपतिहरू उनीहरूलाई सेलिब्रेटीको रूपमा सधैं रहन दिंदैनन् । एक हिसाबले भन्दा सेलिब्रेटी बनाउने र बिगार्ने पनि पूँजीपतिहरूले नै गर्दछन् ।

साथी सपूत कतै पूँजीपतिहरूको खेलौना त बन्दै हुनुहुन्न भन्ने मेरो चिन्ता र शंकाको विषय हो । हामी कलाको क्षेत्रमा अगाडि बढ्दै जाँदा हाम्रो समाज र संस्कृतिलाई कदापि भुल्नुहुँदैन । सभ्य समाज र परिष्कृत वैज्ञानिक संस्कृतिले नै हाम्रो देश र मानव जातिलाई फाइदा गर्दछ । आशा छ, सपूतजी यो कुरालाई मनन् गरेर आगामी यात्रा तय गर्नुहुनेछ ।

निष्कर्ष

प्रकाश सपूत नेपाली लोक दोहोरीको क्षेत्रमा स्थापित नाम हो । उनी सेलिब्रेटी हुन् । नेपालमा उनलाई मन पराउने दर्शक श्रोताहरूको भीड राम्रै छ । फेसबुक पेजमा उनलाई फलो गर्नेको सङ्ख्या ७ लाख माथि छ भने युट्युबमा १८ लाख माथि छन् । सपूत गण्डकी प्रदेश सरकारको तर्फबाट भ्रमण वर्ष २०२० को सद्भावना दूत, विभिन्न व्यापारिक ब्राण्डको एम्बेसडर समेत भएका व्यक्ति हुन् । त्यसैले उनका हरेक गतिविधिमा उनी स्वतन्त्र छैनन् । सेलिब्रेटीबाट समाजले सकारात्मक पृष्ठपोषणको अपेक्षा गरेको हुन्छ । यी कुरालाई भुल्दा उनी बारम्बार समस्यामा परिरहेका छन् ।

सकम्बरीको विषयमा प्रकाश सपूतले समाजको वास्तविक घटनालाई देखाउन खोजेको भनेर अन्तर्वार्ता दिनुभएको छ तर मानौं वास्तविक नै भए पनि समाजलाई नकारात्मक सन्देश प्रवाह गर्ने घटना देखाउन सपूतलाई छुट छैन । उनको नैतिकताले पनि दिंदैन । समाजमा यदाकदा फूलमायाहरू सकम्बरी अवश्य भए होलान् तर सो घटना प्रतिनिधिमूलक हुन सक्दैन । प्रतिनिधि हुन अधिकांश महिला यही नै गर्दछन् भनेर तथ्य प्रमाणित भएको हुनुपर्ने हुन्छ । तर नेपालको सन्दर्भमा यो तथ्य मेल खाँदैन ।

कतिपय दर्शक श्रोताहरू सकम्बरीलाई घरी–घरी हेरिरहेका होलान् किनकि नेपाली समाजलाई पनि पूँजीवादी संस्कृतिले राम्रैगरी भुलाइराखेको छ । हाम्रो समाज पश्चिमेली छाडा संस्कृतिको चङ्गुलमा फस्दै फस्दै गइरहेको छ । बजारमा के के बिक्छन् भन्ने ज्ञानको स्रोत अरू नभएर बिग्रँदै गएका नेपाली दर्शकहरू नै हुन् ।

समाजलाई जस्ताको तेस्तै देखाइदिने काम कलाकर्मीहरूको हुनुहँुदैन । त्यो त आम मानिसले देख्दै र भोग्दै आइरहेकै विषय हो । कलाकर्मीहरू समाजको प्रतिपक्ष भूमिकामा हुनुपर्छ । कलाकारहरूमा विद्रोह चेत पनि हुनुपर्दछ । मनोरञ्जन सँगै कलाले समाजलाई चेतना र ज्ञान पनि दिनुपर्दछ । त्यसो त समाजमा भएका सबै कुरा देखाउँदै हिंड्ने छुट कसैलाई पनि छैन । देखाउन मिल्ने कुरा मात्रै देखाउने हो । गलत कुरा देखाउनै पर्ने भए पनि वैज्ञानिक समाधानको मार्ग निर्देश विना देखाउनु समाजको लागि घातक सिद्ध हुन्छ । समाजमा घटेका धेरै घटना मध्ये समाजलाई सकारात्मक पृष्ठपोषण गर्ने घटना मात्रै हाम्रो कलामा समेटिनु पर्दछ । सकम्बरीमा सपूतले फूलमायालाई पूँजीवाद उन्मुख समाजमा नारीमाथिको घिनलाग्दो हर्कतको विरुद्ध संघर्ष गरी सकम्बरी नभई फूलमाया नै बन्न गरेका प्रयत्न र संघर्षहरू देखाएको भए श्रमिक नारीहरूप्रति सम्मान र प्रोत्साहन मिल्थ्यो । हामीले फूलमाया जस्ता लाखौं नारीहरूलाई असल कर्ममा लाग्नको लागि प्रोत्साहन तथा समर्थन गर्नुपर्ने हुन्छ भने कथित बाध्यताको नाम सकम्बरी बन्न उद्यत पात्रहरूलाई बहिष्कार गर्नुपर्ने हुन्छ ।

अन्त्यमा यी तमाम विषयहरूप्रति यसको अर्को सिक्वेलमा ध्यान पुगोस् भन्दै साथी प्रकाश सपूतको आगामी सांगीतिक यात्रा थप सुखद रहोस्, शुभकामना !

(लेखक रक्तिम सांस्कृतिक अभियानका महासचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?