+
+

कक्षा ८ को परीक्षामा धेरै विद्यार्थी फेल, कोरोना महामारीलाई दोष !

नुनुता राई नुनुता राई
२०८० वैशाख ७ गते २०:२४

७ वैशाख, काठमाडौं । यसवर्ष सञ्चालित कक्षा ८ को परीक्षामा कैलालीको धनगढी उपमहानगरपालिकाका १६ वटा सामुदायिक र एउटा निजी विद्यालयका कुनै पनि विद्यार्थी पास भएनन् । दुई हजार ५२८ जना कक्षा ८ को परीक्षामा सहभागी भएकामा जम्मा २३२ जनामात्रै पास भए ।

शाखा प्रमुख अकबर चन्दका अनुसार धनगढी उपमहानगरपालिकाले २१ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेर एउटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेको थियो । सामुदायिक र संस्थागत गरी १०६ विद्यालयका विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएका थिए ।

दाङको गढवा गाउँपालिकामा ७४९ जनाले कक्षा ८ को परीक्षा दिएकामा ६६ जनामात्रै उतीर्ण भए । गाउँपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार चार वटा विद्यालयका कुनै विद्यार्थी उतीर्ण भएनन् ।

गोवरडिहा माध्यमिक विद्यालयका १२८ विद्यार्थी ८ कक्षाको परीक्षामा सहभागी भएकामा कोही पनि पास भएनन् । मनिकापुर आधारभूत विद्यालयका सबै ३२, कक्रहवा आधारभूत विद्यालयका सबै २० र वालाखुटी आधारभूत विद्यालयका सबै ४० जना अनुत्तीर्ण भए ।

कक्षा ८ को परीक्षामा ललितपुर महानगरपालिकाका पनि ६० प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीका अनुसार ४० प्रतिशत विद्यार्थीको नतिजामा एनजी (ग्रेडविहीन) आएको छ । ‘हामीले विद्यालयलाई ग्रेड वृद्धिको परीक्षाको लागि विद्यार्थीलाई फारम भराएर परीक्षा सञ्चालन गरेर विवरण ल्याउन भनेका छौं’ उनले भने ।

स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८ को आधारभूत तह परीक्षा (बेसिक लेभल इक्जामिनेसन –बीएलई) को नतिजा यो वर्ष निकै निराशाजनक देखिएको छ । यसले विद्यालय शिक्षाको गुणस्तर खस्कदै गएको पुष्टि गर्ने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् । पालिकाका शिक्षा शाखाका अधिकारीहरुले भने नतिजा खस्कनुको मुख्य कारण २०७६ सालदेखि कोरोना महामारीका कारण विद्यालयमा राम्ररी पढाइ नहुनुलाई मानेका छन् ।

काठमाडौं महानगरभित्रका विद्यालयका भने ३२ जनाले एनजी ल्याएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत रामप्रसाद सुवेदी भन्छन् ‘जम्मा ३२ जनाले एनजी ल्याएका छन् ती सबैले ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् ।’

सरकारले यो वर्षदेखि आधारभूत तहमा पनि लेटर ग्रेडिङ प्रणाली लागू गरेको छ । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ ।

सैद्धान्तिकतर्फ कुनै विषयमा न्यूनतम ३५ अंक नल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । कुनै एक विषयमा एनजी लेखिएमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने भएकाले नन ग्रेडेड हुनु भनेको फेल हुनु सरह हो । कतिपय पालिकाले २ विषयसम्म नन ग्रेडेड ल्याउनेका लागि मौका परीक्षा सञ्चालन गरेका छन् ।

धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत मनोज भट्टराई पनि कक्षा ८ को परीक्षाको नतिजा सन्तोषजनक नभएको बताउँछन् । ‘नतिजा सन्तोष जनक छैन । त्यसमा पनि सामुदायिक विद्यालयको नतिजा राम्रो छैन’ उनले भने । गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीहरु कमजोर देखिएको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकामा पनि अधिकांश विद्यार्थी नेपाली, गणित र विज्ञान विषयमा कमजोर देखिएका परीक्षा समितिका सदस्य सचिव शिव ढुंगानाले जानकारी दिए ।

सामुदायिक विद्यालयबाट सहभागीमध्ये ८९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । २१ प्रतिशत विद्यार्थीको लब्धांकपत्रमा एनजी लेखिएको छ । दुई विषयमा एनजी लेखिएको विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने तयारी महानगरपालिकाले गरिरहेको छ । करिब ५ सय विद्यार्थीले कक्षा दोहो¥याउनुपर्ने अवस्था देखिएको छ ।

किन कमजोर नतिजा आयो ?

धनगढी उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख अकबर चन्दका अनुसार शिक्षकहरुले कोरोना महामारीका कारण दुई वर्ष सिकाइमा प्रभाव परेकाले शैक्षिक गुणस्तर कमजोर भएको बताएका छन् । तर उपमहानगरपालिकाले नतिजामाथि समीक्षा गर्न बाँकी रहेको शाखा प्रमुख चन्दले बताए ।

उनले भने ‘धेरै विद्यार्थीको नतिजामा एनजी आएको छ । किन त्यस्तो भयो भन्ने समीक्षा हुन बाँकी छ ।’ ९० प्रतिशत विद्यार्थी फेल हुनु गम्भीर विषय भएकोले अब चाँडै नै विद्यालयहरुसँग बसेर समीक्षा गर्ने र त्यसको निष्कर्ष अनुसार समाधानको उपाय खोजिने उनले बताए ।

गढवा गाउँपालिकाका शिक्षा अधिकृत श्याम बिक पनि कक्षा ८ को परीक्षाको नतिजामा कोरोना महामारीको असर देखिएको बताउँछन् । पालिकाको समीक्षा बैठकले विषयगत शिक्षक र अभिभावक शिक्षाको अभाव भएको निश्कर्ष निकालेको उनको भनाइ छ ।

धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत मनोज भट्टराई पनि कोरोना कक्षा ८ को नतिजा खस्कनुमा कोरोना महामारी नै कारण रहेको दाबी गर्छन् । ‘नतिजाबारे समीक्षा हुन बाँकी छ तर कोभिडका कारण दुई वर्ष राम्रो पढाइ हुन सकेन । त्यसैको प्रभाव भन्ने लाग्छ’ उनी भन्छन् ।

भरतपुर महानगरपालिका परीक्षा समितिका सदस्य सचिव शिव ढुंगाना शैक्षिक गुणस्तर खस्कनुको कारण कोरोना महामारी नै रहेको बताउँछन् । उनी भन्छन् ‘कोभिडका कारण भौतिक कक्षा भएन सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी प्रविधिको पहुँचमा नहुँदा अनलाइन कक्षा सम्भव भएन त्यसको प्रभाव नतिजामा देखियो ।’

प्रविधिको पहुँचमा भएका विद्यार्थी पनि पढाइ भन्दा गेमतिर केन्द्रित हुँदा पढ्ने बानीको विकास नभएको देखिएको उनको भनाइ छ । अब बालबालिकाको पढ्ने बानीको विकास गर्न विद्यालय, शिक्षक तथा अभिभावक नै अग्रसर हुनुपर्ने र त्यसमा पालिकाले पनि सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्री भने धेरै विद्यार्थीको यस्तो नतिजा आउनुको कारण लेटर ग्रेडिङ प्रणाली रहेको बताउँछन् ।

उनी भन्छन्, ‘३२ नम्बर ल्याउँदा भइरहेको विषयमा ३५ ल्याउनुपर्ने, सैद्धान्तिक र प्रयोगात्मकमा फरक फरक मूल्यांकन हुने कारणले धेरै विद्यार्थीको कम ग्रेड आएको हो ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?