+
+

दाइजोको निहुँमा जलाएर हत्या प्रयास

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० वैशाख ८ गते ११:५३

८ वैशाख, जनकपुरधाम । धनुषाको जनकपुरधाममा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्यले आगोमा जलाएर हत्या प्रयास गरेको पीडित महिलाले बताएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाले आफ्नो हत्या प्रयास भएको बताएकी हुन् ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत श्वेताले श्रीमान राजीव, ससुरा शिवशंकर झा, सासु, देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाइदिएर हत्या प्रयास गरेको बताइन् । ‘हाम्रो विवाह भएको १० वर्ष वितिसक्यो । दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै श्रीमानसहित घरपरिवारले मलाई यातना दिँदै आएका थिए,’ श्वेताले अनलाइनखबरसँग भनिन्, ‘अहिले आगो लगाएर मेरो ज्यानै लिन खोजे ।’

घटना वैशाख १ गते नयाँ वर्षको दिन हो । राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेका थिए । त्यसलाई रोक्न खोज्दा राजीवले भाइ, बुबा र आमाको सहयोगमा आफूलाई पनि कुटपिट गर्दै आगोले जलाइदिएको श्वेताको आरोप छ ।

घटना थाहा पाएपछि भारत बिहारको दरभंगास्थित पोठिया गाउँ माइत रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार श्वेताको घाँटीभन्दा तल शरीरको ३५ प्रतिशत भाग जलेको छ ।

विवाहको बेला माइती पक्षले २ लाख भारतीय रुपैयाँ दिएको थियो । तर अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक–पटक आफूलाई यातना दिँदै आएको श्वेताको भनाइ छ ।  विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजीव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको श्वेताको भनाइ छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले पीडित परिवारबाट उजुरी नपरेको र औपचारिक जानकारी नआएको बताए । यद्यपि विभिन्न माध्यमबाट जानकारी पाएपछि अनुसन्धान गरिरहेको उनले बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?