+
+

दार्चुलामा तुइनबाट महाकालीमा खसेर १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १६:०२
फाइल तस्वीर : दार्चुलामा महाकाली नदी

९ वैशाख, धनगढी (अपडेट)  । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर मृत्यु भएको हो ।

शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् ।

सिङ्दलसिंहकी आमा सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् ।

‘जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ’, बुढाथोकीले भने, ‘तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।’

सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेका छन् । उनकी श्रीमतीको भने चार वर्ष अघि मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?