+
+

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १७:४२

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत बुझाएका छन् ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शर्माले १५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।

‘विश्वासको मत लिन भनेर मुख्यमन्त्रीज्यूले आज पत्र दर्ता गराउनुभएको छ,’ सचिव बुढाथोकीले भने, ‘वैशाख १५ गते अपराह्न ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने गरि तयारी थालेका छौं ।’

मुख्यमन्त्री शर्माले सरकारको नेतृत्व गरेको तीन महिनामा तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।

सरकारमा सहभागी एमालेले गत चैत २७ गते समर्थन फिर्ता लिएको थियो । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले उनलाई नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को साथ रहेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/एक जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?