+
+

तनहुँ–१ मा यसरी बिग्रियो कांग्रेसको हिसाब

कांग्रेसको प्रतिक्रिया : हामीलाई आउनुपर्ने मत रास्वपातिर गएछ

सविन लामिछाने सविन लामिछाने
२०८० वैशाख ११ गते १२:१९

११ वैशाख, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले निरन्तर अग्रता लिएका छन् ।

आइतबार मध्यरातमा सुरु भएको गणनामा सुरुदेखि अग्रता लिएका उनले अहिले झण्डै ५ हजार मतले अगाडि छन् । यो समाचार तयार पार्दासम्म २२ हजार ३५८ मत गणना भएको छ, जसमा वाग्लेले ११ हजार ४२८ मत पाएका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ र एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४८ मत पाएका छन् ।

४२ वटा वडा रहेको तनहुँ- १ मा आइतबार भएको मतदानमा ६३ हजार ७५७ मत खसेको थियो । अहिलेसम्म गणना भएका १२ वटा वडालाई हेर्दा खसेको मतको ५० देखि ६० प्रतिशत मत रास्वपा उम्मेदवार स्वर्णिमले पाएको देखिन्छ ।

यसले कांग्रेस नेताहरुलाई पनि झस्काएको छ । कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनाल भन्छन्, ‘निर्वाचन अगाडि गरिएको अनुमानको ठिक उल्टो नतिजा आएको छ । हामीलाई आउँछ भनेको मत रास्वपालाई गएछ, हामीले यसको समीक्षा गर्नेछौं ।’

नेताहरुका अनुसार माओवादी केन्द्र र गोविन्दराज जोशीको समूहको मत पनि रास्वपालाई गएको देखिन्छ ।

गत वैशाखको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षसहित केही वडा माओवादी केन्द्रले जितेको थियो । तर उपचुनावमा माओवादी केन्द्रको मत कांग्रेसलाई भन्दा रास्वपालाई गएको देखिएको छ । आँबुखैरेनीमा खसेको ६ हजार ९९१ मतमध्ये ४ हजार ४४८ रास्वपाले पाएको छ । कांग्रेसलाई १ हजार ६५८ र नेकपा एमालेलाई ५९६ मत पाएको छ ।

आँबुखैरेनीको वडा नं २ माओवादी केन्द्रका गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानको वडा हो । मंसिरको चुनाव उनले कांग्रेसको समेत समर्थनमा जितेका थिए । उपचुनावमा यो वडामा १ हजार ३९२ मत खसेको थियो । यहाँ पनि स्वर्णिमले नै धेरै मत पाए । उनले यो वडामा ८८१ मत पाएका छन् ।

कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी समूहको मत पनि स्वर्णिमले नै पाएको देखिन्छ । कांग्रेसले जोशी समूहलाई मनाउन निकै प्रयास गरेको थियो । उनको कारबाही फुकुवा गरेको थियो । तर सहमति हुन सकेन । जोशी स्वयं रास्वपामा नखुले पनि उनका छोरा दिपकराज जोशीले भने रास्वपालाई खुलेर मत मागेका थिए ।

जोशीको घर भएको वडा भानु नगरपालिका–११ मा २ हजार १४ मत खसेको थियो । यहाँ रास्वपाका सवर्णिमले १ हजार २०२ मत पाएका छन् भने कांग्रेसका भट्टराईले ५९३ र एमालेका खनालले १८३ मत पाएका छन् ।

भानुकै अरु वडाहरु ३, ४, ५, ६, ७, ८ र १० मा पनि कांग्रेसका भट्टराईले भन्दा स्वर्णिमले धेरै मत पाएका छन् ।

वडा नम्बर ३ मा स्वर्णिमले ७१६ मत पाउँदा गोविन्दले ४१८ मत पाएको छ । स्वर्णिमले वडा नम्बर ४ मा ७५९, ५ मा ७७६, ६ मा ६८४, ७ मा ६५५, ८ मा ८५६ र वडा नम्बर १० मा ८४६ मत पाएका छन् । जबकी कांग्रेसका भट्टराईले क्रमशः४८३, ५३१, ५४९, ३१२, ४५८ र ५५१ मत मात्र पाएका छन् ।

जबकी स्थानीय चुनावमा भानुको मेयर र उपमेयरसहित ९ वटा वडा कांग्रेसले जितेको थियो ।

रास्वपा उम्मेदवार स्वर्णिमले आफूहरुको मत समेत काटेको एमाले नेताहरु बताउँछन् । कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले गोविन्द भट्टराईको मत काट्दा पार्टीको मत जोगाउन सके चुनाव जित्ने एमालेको विश्लेषण थियो ।

तर स्वर्णिमले कांग्रेसको मात्र होइन, माओवादी, जोशी समूह र एमालेको पनि मत पाएको देखिन्छ । एमालेका एक नेता भन्छन्, ‘एकीकृत समाजवादीतिर लागेका कृष्णकुमार श्रेष्ठ किसानलाई हराउन पनि हाम्रा कार्यकर्ताले स्वर्णिमलाई भोट हाले जस्तो छ । किनकी कांग्रेसले जिते किसानले जस लिन खोज्थे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?