+
+

अपाङ्गता भएका व्यक्तिको गुनासो- गाडीले छुट दिन्न, सरकारले परिचय !

‘यस्तो छुट त सहरबजारमा खोज्ने हो, गाउँमा खोजेर काँ पाइन्छ भनेर उल्टै भन्छन् । यातायातमा पनि विभेद भएपछि भनेको कार्यक्रमहरुमा पनि जान पाउँदैनौं अनि कसरी हुन्छ विकास ?’

विकास रोकामगर विकास रोकामगर
२०८० वैशाख ११ गते १३:२५

११ वैशाख, पोखरा । मादी गाउँपालिकाका प्रेम गुरुङ दृष्टिविहीन छन् । भौगोलिक रुपमा कास्कीको दुर्गम मानिने मादीमा उनले भोग्नुपरेको सास्ती भनिनसक्नु छ । एक त गाउँको उकालीओराली ठाउँ, त्यसमाथि राज्यको उस्तै बेवास्ता !

‘बेलाबेलामा कार्यक्रम छ भनिन्छ । दिउँसो कार्यक्रम हुन्छ बिहान बल्ल खबर गरिन्छ । एक त धेरै टाढाको बाटो हामी हिँड्नै सक्दैनौं, त्यसमाथि खबर पनि आफू पायक पर्ने गरी दिन्छन्,’ पोखरामा भएको एक कार्यक्रममा गुरुङले आक्रोश पोखे, ‘कार्यक्रम भनेको ठूला मान्छेको मात्रै भयो हामीलेचाहिँ गुनासो सुनाउनेमात्रै !’

नेत्रहीन संघ कास्कीले आइतबार पोखरामा गरेको ‘अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक, समाजिक पुनर्स्थापना र अपाङ्गता समावेशी योजना तर्जुमा’ विषयक गोष्ठीमा सरकारी संरचना अपाङ्गमैत्री नहुँदा आफूहरुले जहिल्यै सास्ती खेप्नुपरेको गुरुङले भनाइ राखे । ‘अस्पताल गएर के भएको लेखिदिनुस् भन्दा पनि मान्दैनन्, समस्या नै सुन्दैनन्,’ उनले भने ।

मादी अपाङ्गता सञ्जालका अध्यक्ष झलकप्रसाद पोखरेल पनि भौगोलिक विकटताका कारण समस्या भोग्नु परिरहेको सुनाए । उनले अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा व्यवस्था भएको छुट पनि नपाउने गुनासो गरे । ‘यस्तो छुट त सहरबजारमा खोज्ने हो, गाउँमा खोजेर काँ पाइन्छ भनेर उल्टै भन्छन् । यातायातमा पनि विभेद भएपछि भनेको कार्यक्रमहरुमा पनि जान पाउँदैनौं अनि कसरी हुन्छ विकास ?’ कार्यक्रममा पोखरेलले भने, ‘कार्यक्रम गरेर भत्तामात्रै दिइयो तर, अरु आयआर्जनको काममा जोड्न सकिएको छैन ।’

कार्यक्रममा सहभागी अधिकांशले अपाङ्गता भएका व्यक्तिले अझै पनि परिचय पत्र पाउनै नसकेको गुनासो राखेका थिए । उनीहरुले अपाङ्गता भएका व्यक्ति सबैभन्दा बढी नागरिकता प्रमाणपत्रबाट बञ्चित हुनुपरेको सुनाएका थिए । ‘३, ४ वर्षदेखि हामी मादीमा अध्ययन गरिरहेका छौं । त्यसमा सबैभन्दा बढी बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता भएका व्यक्ति, बहिराले अपाङ्गता परिचयपत्र नै पाउनु भएको छैन,’ राष्ट्रिय अपाङ्गता महासंघ गण्डकीकी जनवकालत संयोजक रमा भण्डारीले भनिन्, ‘त्यसमा पनि अझ धेरै महिलाहरुले नागरिकता नै पाउन नसकेको स्थिति देखियो ।’ उनले नागरिकता नपाउँदा राज्यबाट पाउने सेवासुविधाबाट पनि बञ्चित हुनुपरेको सुनाइन् ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका खोमराज शर्माले फरक प्रकृतिको अपाङ्गता भएका व्यक्तिले फरक प्रकृतिकै अवरोध भोग्नुपरिरहेको तर, त्यसमा पनि राज्यको बेवास्ता गरेको गुनासो राखे । ‘अपाङ्ग हुनु सबै अवसरको ढोका बन्द हुनु होइन । तर, हामी अरुभन्दा फरक छैनौं भन्ने सोच बनाउन सक्नुभयो भने बल्ल परिवर्तन हुन्छ,’ उनले भने ।

संरचना अपाङ्गमैत्री छैनन्, अपाङ्गता भएका सहयोगीलाई भत्ता

अन्य ठाउँमा जस्तै मादी गाउँपालिकाको सरकारी भौतिक संरचना पनि अपाङ्गमैत्री नभएको सरोकारवालाले गुनासो गरेका छन् । भण्डारीले भौतिक संरचनालाई अपाङ्गमैत्री नभएको र बनाउनुपर्ने मागसहित अध्ययन प्रतिवेदन बुझाइसकेको सुनाइन् ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका खोमराज शर्माले अब पुराना भौतिक संरचनाको बहानामा अपाङ्गमैत्री बनाउनुको विकल्प नरहेको सुनाए । ‘पुरानो भवन हुन्, यस्तै हुन् भनेर अब हामीले कतिञ्जेल कुर्ने ? कति वर्ष सहिरहने ?’ उनले भने, ‘हाम्रालागि नयाँ बनाइदेऊ भनेको होइन, भएको व्यवस्थित गरिदेऊ भन्नेमात्रै हाम्रो माग हो ।’

शर्माले सरकारी निकायमा सहज पहुँच नहुँदा पनि अपाङ्ग भएका व्यक्तिहरु पछि परिरहेको सुनाए । उनले भने, ‘जबसम्म हामीलाई अन्य व्यक्तिजस्तै सहज, स्वतन्त्र आउजाउको व्यवस्था गरिँदैन तबसम्म व्यवस्था परिवर्तन भए पनि अवस्था फेरिँदैन ।’ अपाङ्गमैत्री समाजका लागि स्रोतको उचित व्यवस्था भए पनि सोच नफेरिएको गुनासो राखे ।

गण्डकीका कास्कीको मादी र स्याङ्जाको पुतलीबजार नगरपालिकाले भने अपाङ्गता भएका व्यक्तिमात्रै नभएर उनीहरुका सहयोगीलाई समेत मासिक भत्ताको सुरुआत गरेको भन्दै कार्यक्रममा सहभागी वक्ताले प्रशंसा गरेका थिए ।

मादीले अपाङ्गता भएका व्यक्तिका सहयोगीलाई मासिक ५ सय र पुतलीबजारले मासिक एक हजार रुपैयाँ भत्ता वितरण गर्दै आइरहेको छ । ‘अपाङ्गता परिचय पत्र बाँड्न थालेदेखि नै एकरुपता नभएर विवादित बन्दै आइरहेको छ । गञ्जागोल छ । तर, मादीले क्युआर कोडसहितको परिचयपत्र दिइरहेको छ । यो एकदम स्वागतयोग्य कुरा हो,’ शर्माले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?