+
+

धरहरा उद्घाटनको २ वर्ष पुरा, निर्माण सकिने मिति अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १९:१७

११ वैशाख, काठमाडौं । पुनर्निर्मित धरहरा उद्घाटन भएको २ वर्ष पुरा भएको छ । ११ वैशाख, २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका थिए ।

तर, धरहरा टावर निर्माणकै काम सकिएको छैन । रमण कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक रमेश पौडेल टावरतर्फको ९८ प्रतिशत काम सकिएको बताउँछन् ।

‘टावरतर्फको बेसमेन्टमा पसलहरु निर्माणको काम बाँकी छ,’ उनले भने, ‘अरु भागमा गर्नु पर्ने करिब १५ प्रतिशत काम बाँकी छन् ।’

गत पुसमा नै यो परियोजनाको निर्माणको थपिएको म्याद सकिएको थियो । ठेकदार कम्पनी रमण कन्स्ट्रक्सनले एक वर्ष म्याद थपको प्रस्ताव गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका पुनर्निर्माण इकाइ प्रमुख प्रभाकरलाल कर्णका अनुसार कम्पनीले आगामी असारसम्म म्याद पाउँदैछ ।

तर, असारसम्म काम सकिने निश्चित भने छैन । अहिले काम सुस्त गतिमा भइरहेको छ । ठेकदारले आर्थिक मन्दी लगायतका कारण देखाएर गति नबढाएको विभागको भनाइ छ ।

११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब ४२ प्रतिशत काम सकिंदाकै अवस्थामा धरहराको उद्घाटन गरेका थिए । अझै पनि धरहराको टावर र त्यसमुनि बनेको पार्किङको फिनिसिङ भइसकेको छैन ।

धरहरा सर्वसाधारणलाई चढ्नका लागि कहिले खुला गर्ने भन्ने तय भएको छैन । कहिलेसम्म धरहरा निर्माणको सबै काम सकिन्छ भन्ने पनि यकिन छैन ।

आगामी ११ वैशाखदेखि धरहरा चढ्नका खुला गर्ने योजना भएपनि ठेकदारले समयमै काम नगर्दा समस्या भएको पुनर्निर्माण इकाइ प्रमुख कर्णले बताए ।

काम नसकिंदै हतार–हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्‍याङ नै बनिसकेको थिएन । अहिले पनि प्रविधि जडानसम्बन्धी काम चलिरहेको छ । संग्रहालय निर्माणको काम अझै बाँकी छ ।

परियोजना व्यवस्थापक पौडेलका अनुसार सुन्धाराको पुनर्निर्माण सुरु भइसकेको छैन । बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै छ । सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ । भत्किएको पुरानो धरहरालाई प्रवलीकरण गर्न नै बाँकी छ । त्यसका लागि पुरातत्व विभागले स्वीकृति पनि दिन बाँकी रहेको पौडेलले बताए ।

विभागले सबै काम सकेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाउने छ । तर, अहिलेसम्म परियोजना बन्छ भन्ने तय छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?