+
+

तनहुँ–१ मा रास्वपाले यसरी भत्कायो कांग्रेसको गढ

सविन लामिछाने सविन लामिछाने
२०८० वैशाख ११ गते २२:३८

११ वैशाख, तनहुँ । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ । तर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार गरिसकेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेभन्दा १० हजार मतले पछाडि परेपछि उनलेसोमबार साँझ सामाजिक सञ्जाल फेसबकुमार्फत जनादेशलाई शिरोपर गर्ने बताएका छन् ।

अर्थात रास्वपाका वाग्लेको जितको घोषणा अब औपचारिकताका लागि मात्र बाँकी छ । किनकी तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनाल १६ हजार मतले पछाडि छन् ।

तनहुँ–१ मा रहेका ४२ वटा वडामध्ये सोमबार साँझसम्म ३३ वटाको गणना सकिएको छ भने ९ वटामा बाँकी छ । गणना गर्न बाँकी बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाका वडाहरुमा यही अनुपातमा मत आए वाग्ले १० हजारभन्दा बढी मत अन्तरले विजयी हुने देखिन्छ ।

उपचुनावमा वाग्ले निर्वाचित हुन सक्छन् भन्ने मतदानअघि नै देखिएको थियो । कांग्रेस र एमालेका नेताहरुले पनि अनौपचारिक सम्वादहरुमा यो रास्वपाको लहर आएको स्वीकार गरेका थिए । तर भारी मतान्तरको अनुमान गरेका थिएनन् ।

आइतबार मध्यरातबाटै मतगणनामा अग्रता लिएका वाग्लेले अरु उम्मेदवारलाई एक पटक पनि अगाडि आउन दिएनन् । अहिलेसम्म गणना भएको वडाहरुको मतको विश्लेषण गर्दा पनि देवघाट गाउँपालिकाबाहेक सबैतिर रास्वपाको लहरै चलेको देखिन्छ ।

गत वैशाख ३० मा भएको स्थानीय चुनानवमा आँबुखैरेनी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ३ वडामा माओवादीले जितेको थियो । दुई वटा कांग्रेस र एउटा एमालेले जितेको थियो । यो पटक सबै वडामा रास्वपाले धेरै मत पाएको छ ।

आँबुखैरेनीको मत

वडा नम्बर रास्वपा कांग्रेस स्थानीय चुनावमा वडाको मत र विजयी दल
१०६५ २७६ ८५९ (माओवादी)
८८१ ३३६ ६६७  (माओवादी)
१५१८ ४०१ १००८ (कांग्रेस)
३३२ २३७ ४३३ (कांग्रेस)
३७१ १४९ २८८ (माओवादी)
२८१ ७०४ ३९० (एमाले)

आँबुखैरेनीको वडा नम्बर २ माओवादीका गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानको आफ्नै वडा पनि हो । १ हजार २९२ मत खसेको यो वडामा वाग्लेले ८८१ मत पाएका छन् । जबकी माओवादीले समर्थन गरेका कांग्रेसका भट्टराईले ३३६ मत मात्र पाए । एमालेका सर्वेन्द्र खनालले १०८ मत पाए ।

भानु नगरपालिका कांग्रेसको पकड भएको नगर हो । तर यहाँ पनि रास्वपाको लहर नै चलेको छ । हालसम्म गणना भएको ९ वटै वडामा स्वर्णिमले धेरै मत पाएका छन् । जबकी स्थानीय चुनावमा ७ वटा कांग्रेसले जितेको थियो ।

भानु नगरपालिका

वडा नम्बर रास्वपा कांग्रेस स्थानीय चुनावमा वडाको मत र विजयी दल
७१६ ४१८ ९०८ (कांग्रेस)
७५९ ४८३ ९७३ (कांग्रेस)
७७६ ५३१ ९५५(कांग्रेस)
६८४ ५४९ ८५६ (कांग्रेस)
६५५ ३१२ ५८४ (कांग्रेस)
८५६ ४५८ १०८२ (कांग्रेस)
८१४ ४५६ १००९ (एमाले)
१० ८४६ ५५१ १२९१ (कांग्रेस)
११ १२०२ ५९३ १०६३ (स्वतन्त्र)

वडा नम्बर ९ केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीको घर भएको वडा हो । १,६८८ मत खसेको यो वडामा रास्वपाका वाग्लेले ८१४ मत पाउँदा कांग्रेसका भट्टराईले ४५६ मत प्राप्त गरे । एमालेका खनालले ३८६ मत पाए ।

यस्तै वडा नम्बर ११ कांगे्रसबाट कारबाहीमा परेका गोविन्दराज जोशीको घर भएको वडा हो । यहाँ २०१४ मत खसेको थियो । यो पटक कांग्रेसले जोशीलाई फकाउने प्रयास मात्र गरेन, उनीमाथि गरिएको कारबाही समेत फुकुवा गरेको थियो । तर त्यसको कुनै प्रभाव देखिएन । यहाँ स्वर्णिमले नै धेरै मत पाएका छन् ।

स्थानीय निर्वाचनमा बन्दिपुर गाउँपालिकाको अध्यक्ष एमाले र उपाध्यक्ष कांगे्रसले जितेको थियो । तीन वटा वडा एमालेले जित्दा माओवादीले २ र कांग्रेसले एउटा जितेको थियो । तर उपचुनावमा सबैतिर रास्वपाले धेरै मत पाएको छ ।

बन्दिपुर गाउँपालिकाको मत

वडा नम्बर रास्वपा कांग्रेस स्थानीय चुनावमा वडाको मत र विजयी दल
११३० ६५२ ९०९ (एमाले)
५५९ ५८६ ६५३ (माओवादी)
४०४ ३९० ४०५ (कांग्रेस)
६९० ३९२ ७४० (एमाले)
६३२ ३५१ ५९१ (माओवादी)
४४० ३७० ५४५ (एमाले)

देवघाटको अग्रताको अर्थ रहेन

देवघाट गाउँपालिकामा भने रास्पवाका वाग्लेले भन्दा धेरै मत कांग्रेसका उम्मेदवार भट्टराईले पाएका थिए । तर स्थानीय चुनावमा आफनो दलले पाएको जति मत पाएनन् ।

साथै अरु पालिकामा पाएको मतका कारण स्वर्णिमले अग्रता कायमै राखे । स्थानीय चुनावमा देवघाटको अध्यक्षमा कांगे्रस र उपाध्यक्षमा माओवादी विजयी भएका थिए । ५ मध्ये तीन वटा वडा कांग्रेस र २ वटा एमालेले जितेको थियो ।

वडा नम्बर रास्वपा कांग्रेस स्थानीय चुनावमा वडाको मत र विजयी दल
२७८ ३३३ ८९८ (एमाले)
२०७ ५८० ८५८ (कांग्रेस)
२४९ ३२२ ५०४ (कांग्रेस)
१६८ २७२ ४१२ (एमाले)
१३८६ ६९५ १८०६ (कांग्रेस)

४ मंसिरको चुनावमा कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३६१ मत पाएका विजयी भएका थिए । दोस्रो स्थानमा रहेका एमालेका एकबहादुर रानाले १९ हजार ९१८ मत पाउँदा तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए भने चौथो स्थानमा रहेका रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए ।

समानुपातिकतर्फ यो क्षेत्रमा कांग्रेसले २० हजार १५८, नेकपा एमालेले १६ हजार ६८३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७७३ र माओवादी केन्द्रले ७ हजार ३२६ मत पाएको थियो ।

यही आंकडाका आधारमा कांग्रेस नेताहरुले हिसाब थियो, एमालेले आफ्नो मत जोगायो भने स्वर्णिमले काट्ने कांग्रेसको मत माओवादी केन्द्रको मतले पूर्ति हुन्छ । र, थोरै मतान्तरमा हारजित हुन्छ । एमालेले चाहिँ कांग्रेसको मत स्वर्णिमले काट्दा आफ्नो मत जोगाउन सके सर्वेन्द्रले जित्न सक्ने दाबी गरेको थियो ।

तर रास्वपाका उम्मेदवार स्वर्णिमले त्यो मत मात्र जोगाउनुका साथै सबै दलको मत पाएको देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमै छवि बनाएका अर्थशास्त्री वाग्लेले कांग्रेसमा निरन्तर अवहलेना भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । कांग्रेसमा ‘अवसर नपाएका’ क्षमतावान स्वर्णिम मतदाताको रुझान भएको रास्वपाबाट उम्मेदवार बनेपछि तनहुँ १ मा लहर नै चलेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?