+
+

इङवा हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १२:१६

१३ वैशाख, काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले १३ वैशाख बुधबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई निष्कासनमा ल्याएको थियो ।

स्थानीयलाई निष्कासन गरेको सेयरमा २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ९३ हजार १६० कित्ता सेयर बिक्री नभएको भएको थिएन ।

कम्पनीले सर्वसाधारणको लागि छुट्याएको जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुने १ लाख २० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरेको छ ।

यस्तै कम्पनीले २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको जनाएको छ । सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका, कर्मचारी र सामूहिक लगानी कोषलाई बाँडफाँट पछि बाँकी रहेको ९ लाख ९६ हजार कित्ता र स्थानीयलाई निष्कासन गरी बिक्री नभएको सेयर समेत १२ लाख ६८ हजार ६३९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन खुला गरेको हो ।

कम्पनीको आईपीओमा १७ वैशाखसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद २७ वैशाखसम्म थप हुनेछ । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । आईपीओमा १७ वैशाखसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरको सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले ताप्लेजुङमा ९.७ मेगावाटको इङवा खोला साना जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?