+
+

दीपकराज गिरीको नयाँ फिल्मको छायांकन भदौदेखि, साउन १ देखि हल सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १४:३९

काठमाडौं । ‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन् । शीर्षक तय भइनसकेको सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुने र प्रदर्शन फागुनमा गर्ने तयारी छ ।

आगामी फिल्मबारे उनले भने, ‘भदौदेखि सुटिङ थालेर फागुनमा रिलिज गर्ने तयारीसहित फिल्मको प्रि–प्रोडक्सन सुरु भएको छ । चाँडै विस्तृत कुरा तय हुनेछन् ।’ सामाजिक कथावस्तुमा बन्ने यो फिल्मलाई लिएर दीपक उत्साहित छन् । लगातार हिट फिल्म दिइरहेको आमा सरस्वती मुभिजमा ‘छक्कापञ्जा’ टोलीले नै निरन्तरता पाउँछ या पाउँदैन, यसबारे निधो भइसकेको छैन । यसअघि दीपकले होम प्रोडक्सनभन्दा बाहिरको फिल्म गर्ने चर्चा थियो ।

यसैबीच, दीपक-दीपाको मल्टिप्लेक्स फिल्म हल साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएनआई सिनेमाजको फ्रेन्चाइजीअन्तर्गत सञ्चालन हुने उक्त हलको निर्माण कार्य धमाधम भइरहेको छ । नयाँ बानेश्वर चोकमा रहेको नयाँ बानेश्वर सेन्टरमा उक्त हल निर्माण भइरहेको छ ।

वैशाख १ गतेदेखि नै सञ्चालन गर्ने तयारी रहेपनि निर्माण कार्य ढिलो हुँदा सम्भव नभएको दीपकले बताए । ‘अब साउन १ देखि सञ्चालन हुनेछ, जसले गर्दा भदौमा आउने फिल्म प्रदर्शनमा सजिलो हुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?