+
+

कांग्रेस सुधारमा के छ गगनको मार्गचित्र ?

युवा पुस्तामा नेतृत्व, सुशासनको मुद्धा, चुनाव अघिको गठबन्धन, टिकट वितरणको विधि, पार्टीमा छड्के प्रवेश (ल्याटरल इन्ट्री), सदस्यता वितरणको शैली लगायतका बिषयमा नीति तय गर्नुपर्ने माग महामन्त्री थापाको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० वैशाख १४ गते १९:२३

१४ वैशाख, काठमाडौं । वैशाख १० मा भएको उपनिर्वाचन परिणामले नेपाली कांग्रेसको नेतृत्व परम्परा र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेको छ । तनहुँ १ र चितवन २ को नतिजाले कांग्रेस सुध्रिनुको विकल्प नभएको मतदाताले सन्देश दिएको भनेर अर्थ्याउने पंक्ति कांग्रेसमा ठूलो हुँदै गएको छ ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मतले कांग्रेसका नेता कार्यकर्तामा निराशा उत्पन्न भएको छ । पार्टी कार्यकर्तामा देखिएको नैराश्यता चिर्न र मतदातामा आशाको सञ्चार ल्याउन पार्टीले लिइरहेको लाइन परिवर्तन गर्ने प्रयास युवा पुस्ताका नेताले सुरु गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार त्यसको संकेत गरेका छन् । ‘रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं । र, त्यो रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्छ भन्नेमा प्रष्ट छु’, महामन्त्री थापा भन्छन् ।

रास्वपाले सुशासनलाई प्रमुख मुद्दा बनाएर ‘अभूतपूर्व’ मत प्राप्त गरेको छ । सुशासनकै मुद्धालाई प्राथमिकतामा राखेर पार्टीले विगतको प्रवृत्तिलाई पूर्णविराम लगाउने महामन्त्री थापा दाबी गर्छन् । कांग्रेस निर्वाचित भएका पालिका, मुख्यमन्त्री भएका प्रदेश र संघमा मन्त्री भएकाहरुलाई अधिकतम जनताप्रति उत्तरदायी बनाउन नीति पार्टीले तय गर्ने भएको छ ।

त्यसका लागि संघका मन्त्री र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीलाई उत्तरदायी बनाउने कार्यमा महामन्त्री शर्मा लाग्नेछन् । कांग्रेसबाट निर्वाचित पालिकाको सरकारलाई जवाफदेही र डेलिभरी प्रभावकारी गराउन महामन्त्री थापाले आवश्यक समन्वय गर्नेछन् ।

‘३२९ पालिकामा कांग्रेसको सरकार छ । केन्द्रमा कांग्रेस सहभागी भएको सरकार छ । प्रदेशसम्म मुख्यमन्त्री र मन्त्री कांग्रेसबाट छन्,’ महामन्त्री थापा भन्छन्, ‘सरकारले डेलिभरी दिनसक्यो भने सुशासनलाई प्रमुख मुद्धा बनाउनेहरुको आवाज त्यसै कमजोर हुन्छ ।’ कांग्रेसले नेतृत्व गरेको पालिका सरकारको अनुगमन गर्ने तथा जनप्रतिनिधिलाई प्रशिक्षित गरिने थापाले सुनाए ।

कांग्रेस नेताहरुका अनुसार हालसम्म पार्टीले अंगालेको नीतिको कठोर समीक्षा नीति महाधिवेशनमा हुनेछ । सुशासनको मुद्धा, चुनावअघिको गठबन्धन, टिकट वितरणको विधि, ल्याटरल इन्ट्री, सदस्यता वितरणको विधि लगायतमा निर्मम समीक्षा हुनुपर्ने माग पार्टीभित्र उठिरहेको छ ।

चुनावअघि गठबन्धन गर्ने/नगर्ने विषयमा कांग्रेसभित्र ठूलो विवादको विषय बनेको थियो । सभापति शेरबहादुर देउवासहित बहुमत केन्द्रीय सदस्य चुनावी गठबन्धनको पक्षमा देखिएपछि बहुमतबाट तालमेल गर्ने निर्णय गरिएको थियो ।

चुनावअघिको गठबन्धनले कांग्रेस थप कमजोर भएको हुँदै गएको नेताहरुको बुझाई छ । ‘प्रि इलेक्सन अलायन्स कुनै पनि अवस्थामा नगर्नेमा कार्यकर्ता र मतदातालाई नीति महाधिवेशनबाट विश्वस्त पार्नेछौं’, महामन्त्री थापाले भने ।

कांग्रेसमा आस्था राख्ने फरक फरक क्षेत्रका विज्ञलाई ल्याटरल इन्ट्री मार्फत पार्टीमा प्रवेश गराउन कांग्रेस चुकिरहेको प्रति चिन्ता व्यक्त गरिँदै आएको छ । ल्याटरल इन्ट्रीको बाटोलाई सहज नहुँदा क्षमता र विद्धता प्रदर्शन गर्नेहरुको आकर्षण कम हुँदै गएको नेताहरुको बुझाइ छ ।

पार्टीले भूमिका नदिएपछि पछिल्लो समय अर्थविद् डा.स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरे । ल्याटरल इन्ट्रीलाई सहज बनाउन प्रयत्नशील रहेको महामन्त्री थापाले बताए । ‘कुनै विज्ञ व्यक्ति कांग्रेसमा आएर योगदान गर्न तयार हुने हो भने बाटो खुला गर्नुपर्दछ’, थापा भन्छन्, ‘पहिलो, दोस्रो, तेस्रो, चौथो खुड्किलो पार गरेर मात्र आउ भन्नुहुँदैन । पाँचौं तहको ढोका खुलाउन तयार हुनुपर्छ ।’

कांग्रेसमा हरेक चुनावमा विवादको विषय उम्मेदवारलाई टिकट वितरणमा हुने गरेको छ । विधानतः सम्बन्धित पार्टी संरचनाले उम्मेदवारको आकांक्षा राख्ने तीन जनाको नाम केन्द्रमा पठाउनुपर्दछ । तर, आकांक्षी सबैको नाम केन्द्रमा पठाउने प्रचलन छ ।

यसरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा दर्जनौं आकांक्षीको नाम सिफारिस गरिएको हुन्छ । नाम सिफारिसमा परेपछि आकांक्षी सबैको लर्को केन्द्रमा लाग्छ ।

नेताको घर घरमा भिड जम्मा हुन्छ । उक्त प्रचलन रोक्ने गरी पार्टीले नीति लिने महामन्त्री थापा दाबी गर्छन् । आफ्नो पालिका वा क्षेत्रको उम्मेदवार चयन गर्ने अधिकार सम्बन्धित स्थानका क्रियाशील सदस्यलाई दिने थापा बताउँछन् ।

‘आफ्नो स्थानको उम्मेदवार त्यही स्थानका क्रियाशील सदस्यले छान्छन् । केन्द्रमा आउने काम बन्द हुन्छ,’ महामन्त्री थापा दाबी गर्छन्, ‘तल्लो संरचनाले आफ्नो उम्मेदवार आफैं बनाउँदा गुटको कुरा र आर्थिक चलखेलको काम बन्द हुन्छ ।’ आफ्नो क्षेत्रको उम्मेदवार तत् तत् स्थानका कार्यकर्ताले चयन गर्नेे विधि रास्वपाले प्रयोगमा ल्याइसकेको छ ।

भद्धा पार्टी संरचनाले चुनाव जित्न नसकिने उपनिर्वाचनले देखाइसकेको छ । त्यसलाई कांग्रेस एमालेले मनन गरिसकेका छन् । सिधैं जनताकहाँ पुग्ने र आफ्ना एजेण्डा प्रस्तुत गर्ने विधिलाई रास्वपाले अंगिकार गरेको थियो । उक्त विधिले निर्वाचन जित्न मद्धत पनि पुर्‍यायो ।

जबकी पार्टी संरचना चुस्त, दुरुस्त हुँदा समेत एमाले तिनै स्थानमा तेस्रो स्थानमा पुग्यो । गत मंसिरको मत समेत एमालेले जोगाउन सकेन । उपनिर्वाचनको मतपरिणामले संगठन चलायमान भएर मात्रै पनि नहुने देखिएको छ ।

कांग्रेस महामन्त्री थापा भन्छन्, ‘पार्टी संरचना ठीक भएर मात्रै नहुने रहेछ । नागरिकले सुशासन खोजिरहेको छन् ।’ भीमकाय संरचना, नियन्त्रित सदस्य, र संरचना कब्जा गर्ने अवधारणको अन्त्य गरिने थापाको दाबी छ । पार्टी संरचनामा सबै तहमा ४० वर्ष मुनिका युवाको प्रतिनिधि र अनलाइन सदस्यता वितरणलाई प्राथमिकता दिने उनले बताए ।

उपनिर्वाचनको परिणामले मतदाता पुराना दल पर्खन तयार देखिदैनन् । कांग्रेसका तेस्रो उमेर समूहका नेताहरुले उक्त विषयलाई मनन गरेका छन् । मूल दलका पुरानो पुस्ताका कारणले वितृष्णा बढ्दै गएको कांग्रेस नेताहरुको स्वीकारोक्ति छ ।

२०८४ सालको चुनाव अघिको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने गरी सत्ता गठबन्धनमा सहमति छ । पाँच पटकसम्म प्रधानमन्त्री हुँदा नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप उनी माथि छ ।

पुरानो पुस्ताको कार्यक्षमता माथि नागरिकले प्रश्न उठाइरहेकाले कांग्रेस नेतृत्वको सरकार बनाउने बेलामा व्यक्तिको विकल्पका लागि पार्टी तयार हुनुपर्ने तर्क महामन्त्री थापा राख्छन् ।

रास्वपामा कांग्रेसबाट प्रवेश गर्नेहरुको संख्या बढ्दा पार्टीमा चिन्ता व्यक्त गरिएको छ । कांग्रेसले लिएको नीतिका कारण नै नयाँ पार्टी जन्मिएको महामन्त्री थापा स्मरण गर्छन् । ‘क्षमतावान् व्यक्तिलाई पार्टीभित्र अट्ने ठाँउ दिऔं । भूमिका दिऔं भनि म भन्छु’, थापा भन्छन्, ‘मूल नेतृत्व त्यसको लागि तयार नहुँदा उनीहरु बस्न सक्दैनन् ।’

कांग्रेसमा कार्यकारी पद सभापति र महामन्त्री हो । तर, सर्वाधिकार सभापतिमा रहेको हुन्छ । सर्वाधिकार सभापतिमा रहेकाले अन्यले पार्टी सुधारको चाहना राखेपनि मूर्त रुप लिन कठिन छ ।

‘मैले पार्टीलाई लान खोजेको लाइन भन्दा सभापतिको लाइन फरक छ । महाधिवेशन पछि मेरो लाइनमा पार्टी लान सकिन,’ थापा भन्छन्, ‘सभापतिको लाइनबाट पार्टी हिँड्दा यो अवस्थामा पुग्यौं ।’

कांग्रेस सुधार्ने रोडम्याप अनुसार नै लथालिंग भ्रातृ संस्थालाई पूर्णता दिने नेताहरुको प्रतिवद्धता छ । महामन्त्री थापाका अनुसार, अपूर्ण रहेका भ्रातृ संस्थालाई वैशाख महिनाभित्र नै पूर्णता दिन लागिएको छ । त्यसलगत्तै नीति महाधिवेशन गरेर अहिले हिँडिरहेको बाटोलाई परिमार्जन गरिने भएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?