+
+

‘दुई लाख रुपैयाँ अनुदान दिएर धेरै घर सुरक्षित बनाउन सकिन्छ’

अब फुसको छाना हटाउने मात्रै हैन, घर सुरक्षित बनाउने काम पनि अभियानकै रूपमा अघि बढाउनुपर्छ । रेट्रोफिटिङको प्रविधि समुदायसम्म पुर्‍याएर त्यसको महत्व बुझाउन सक्यौं भने भूकम्पको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

सुशील ज्ञवाली, पूर्व प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सुशील ज्ञवाली, पूर्व प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
२०८० वैशाख १५ गते २०:०२

पश्चिम नेपालमा पटक–पटक साना–तिना भूकम्पका धक्का महसुस भइरहेका छन् ।  पश्चिम नेपालको डोटीमा गएको भूकम्पमा त जनधनको क्षति नै भयो । विगतदेखि विज्ञहरूले जे भन्दै आएका छन्, त्यसलाई यस्ता स–साना भूकम्पले पुष्टि गर्दै लगेका छन् ।

२०७२ सालमा भूकम्प गयो, घरहरू भत्किए । भत्किएका कारण हामीले पुनर्निर्माण गर्‍यौं । यसबाट हामीले के सिक्यौं भने भत्किने जोखिम भएका घरहरू समयमै प्रबलीकरण या पुनर्निर्माण गरेको भए त्यत्रो ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो ।

अब हामीले भत्किएपछि पुनर्निर्माण गर्ने भन्दा पनि भूकम्पमा भत्किन सक्ने सम्भावनालाई हेरेर नीति बनाउनु र काम गर्नुपर्छ । किनभने २०७२ सालकै जत्रो भूकम्प आयो भने पनि यस्ता जोखिमयुक्त घरहरू फेरि उस्तै गरी भत्किन्छन् । त्यसले गर्ने क्षतिको मूल्य पनि ठूलो हुन्छ । अहिलेकै अवस्थामा त्यस्तो भूकम्प जाँदा जनधनको क्षति रोक्न सकिंदैन । विगतको भन्दा ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।

हामीले विगतमै भोगेको जत्रो भूकम्प गए पनि पश्चिमतिर त त्योभन्दा ठूलो क्षति हुने जोखिम छ । यस्तो भूकम्प आउने जोखिम बेला–बेलामा गइरहेका साना भूकम्पहरूले संकेत गरिरहेका हुन्छन् । यस्ता साना भूकम्पहरूले हामीलाई फेरि पनि जोखिम छ भनेर झकझकाइरहेका हुन् ।

त्यसैले हामी भूकम्प कहिले आउँछ भनेर पर्खिएर बस्ने हैन । विगतमा जस्तो भूकम्पपछि अनुदान दिएर घर बनाउने कुरातिर जाने पनि हैन । अहिले नै सुरक्षित घर बनाउने योजना ल्याउनुपर्‍यो । त्यसका लागि रेट्रोफिटिङको प्रविधि हामीसँग छ । जनशक्ति पनि हामीसँग उपलब्ध छन् । त्यसैले हामी कम्तीमा प्रबलीकरणको ढाँचामा गइहाल्नुपर्‍यो ।

त्यसो गर्नलाई त्यति ठूलो खर्च पनि लाग्दैन । जीर्ण बनेका संरचनालाई भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । त्यो काम त हामीले अभियानकै रूपमा सुरु गर्न सक्छौं ।

त्यसो गर्नलाई सुरक्षित आवासको जुन सरकारी कार्यक्रम छ, त्यसलाई फरक किसिमले अघि बढाउन सकिन्छ । अब फुसको छाना हटाउने मात्रै हैन, घर सुरक्षित बनाउने काम पनि अघि बढाउनुपर्छ । रेट्रोफिटिङको प्रविधि समुदायसम्म पुर्‍याएर त्यसको महत्व बुझाउन सक्यौं भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

कम्तीमा रेट्रोफिटिङका लागि व्यापक रूपमा कार्यक्रमहरू बनाएर कार्यान्वयनमा लैजानुपर्‍यो । सरकारले घरहरू प्रबलीकरण गर्नेलाई सहुलियत (अनुदान) पनि दिनुपर्‍यो । हामीले त पुनर्निर्माण प्राधिकरणमा रहँदा यस्तो काम गर्नुपर्छ भनेर प्रस्ताव पनि गरेका थियौं । एक लाख रुपैयाँ सरकारले अनुदान दिएर प्रबलीकरणलाई प्रोत्साहन गर्न सकिन्छ । कम्तीमा दुई लाख भयो भने धेरै घरलाई सुरक्षित बनाउन सकिन्छ ।

पुराना घरहरूलाई रेट्रोफिट गर्ने अभियान थाल्दा कसैको अहित हुँदैन । बरु भविष्यमा यसले विपत्बाट धनजनको क्षति हुन नदिएर सबैलाई लाभ दिन्छ । भूकम्प गयो भने पनि नभत्किने गरी घर बनाउँदा जनताको पनि नोक्सान हुँदैन, भविष्यमा सरकारले भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा गर्नुपर्ने खर्च जोगिन्छ । यस्तो कामका लागि सरकारले भूकम्प कुरेर बस्ने हैन । यसले मान्छेको ज्यान र सम्पत्ति दुवै जोगिन्छ ।

२०७२ सालको भूकम्प दिउँसो गएको थियो । अझ त्यो त्यति ठूलो स्केलको पनि हैन । त्यही भूकम्प पनि रातमा गएको भए त झन् ठूलो क्षति हुन्थ्यो । भविष्यमा जाने भूकम्प कतिबेला, कसरी र कत्रो हुन्छ थाहा छैन । त्यसैले त पूर्वतयारीमा जोड दिनुपर्छ भनेर हामी यस्तो अभियान चलाऔं भनिरहेका छौं ।

पश्चिम नेपालको भूगर्भमा ठूलो शक्ति थुप्रिएर बसेको छ । लामो समयसम्म भूकम्प नगएकाले त्यहाँ ठूलो भूकम्पको सम्भावना छ भनेर विज्ञहरूले नै बताउने गरेका छन् । त्यस्तो जोखिम हेरेर हामीले योजना बनाउनुपर्छ र पूर्वतयारी गर्नुपर्छ । भूकम्पको पूर्वतयारी भनेको भएका संरचनाहरूलाई बलियो र नयाँ बन्ने संरचनालाई भूकम्प प्रतिरोधी बनाउने नै हो ।

अब नयाँ बन्ने घरमा भूकम्प प्रतिरोधी प्रविधि अनिवार्य लागू गर्नुपर्छ । पुरानोलाई प्रबलीकरण गर्ने र नयाँलाई भूकम्प प्रतिरोधी बनाउने अभियानले जनतालाई सुरक्षित राख्छ । सबै पालिकाहरूमा नक्सापास गराएर घर बनाउने, भूकम्प प्रतिरोधी भवन निर्माणलाई अनिवार्य गर्नेतर्फ पनि सोच्नुपर्छ । जसरी पनि सुरक्षित आवासको योजनालाई भूकम्प प्रतिरोधी आवासतर्फ केन्द्रित गर्नुपर्छ । नत्र हामीले धेरै ठूलो क्षति व्यहोर्नुपर्छ ।

निजी आवास मात्रै हैन, सार्वजनिक पूर्वाधारहरूलाई पनि सुरक्षित बनाउन काम गर्नुपर्छ । मान्छे धेरै जम्मा हुने विद्यालय र स्वास्थ्य चौकी भवनहरूलाई पनि प्रबलीकरण गरेर सुरक्षित गरिहाल्नुपर्छ । शनिबार भयो र मात्रै, नत्र २०७२ सालको भूकम्पमा ३२ जिल्लामा ध्वस्त भएका विद्यालय भवनमा एक लाख विद्यार्थी पढिरहेका हुन्थे । कल्पना गर्नुस् त, एक लाख विद्यार्थी पढिरहेका विद्यालय भवन ध्वस्त हुँदा कति विद्यार्थी हताहत हुन्थे होलान् ? कम्तीमा २५ हजार विद्यार्थी हताहत हुनसक्थे । त्यसैले यस्तो जोखिमलाई हामीले बेवास्ता गर्न मिल्दैन ।

तसर्थ सार्वजनिक तथा सरकारी भवनहरूलाई पनि सुरक्षित गर्न सुरु गरिहाल्नुपर्छ । यस्तो काम त स्थानीय तह र प्रदेश सरकारसँग नै सहकार्य गरेर गर्न सकिन्छ ।

(राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ ज्ञवालीसँग अनलाइनखबरका लागि रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?