+
+
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक :

भूपू गोरखा सैनिकका माग सम्बोधन गर्न छलफल जारी राख्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते ११:४२

१५ वैशाख, काठमाडौं । नेपाल–बेलायत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठकमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने र त्यसका लागि छलफल जारी राख्ने सहमति भएको छ ।

बिहीबार लन्डनमा बसेको बैठकमा बेलायतले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
लन्डनस्थिन नेपाली दूतावासका अनुसार बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गरेका छन् । दुई देशबीच पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकमा दुई शताब्दी पुरानो मित्रता र सहयोगबारे विचार आदानप्रदान भएको जनाइएको छ । दुई देशबीच विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संसाधन विकास, कन्सुलर र जनस्तरको द्विपक्षीय सम्बन्धका प्रमुख पक्षहरूमा भएको प्रगतिको समीक्षा पनि बैठकमा भएको थियो ।

‘ब्रिटिस गोर्खा मुद्दा, जलवायु परिवर्तन र दिगो विकासका साथै बहुपक्षीय मञ्चहरूमा पारस्परिक हितका एजेन्डामा मिलेर काम गर्ने विषयमा छलफल भएको छ । भूतपूर्व गोरखाका विषयमा भइरहेको वार्ताको समीक्षा भएको छ । उनीहरूको विषय सम्बोधनका लागि छलफल जारी राख्ने सहमति भएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र बेलायतको विदेश, कमनवेल्थ तथा विकाससम्बन्धी विभागका स्थायी उपसचिव सर फिलिप बार्टनले बेलायती प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बेलायती पक्षले बेलायतको विकास सहयोग पोर्टफोलियोको बदलिँदो स्वरूप प्रकाश पार्दै नेपाललाई भविष्यमा हुने सहयोगका प्राथमिकताका क्षेत्रबारे जानकारी दिएको थियो । जसअनुसार सन् २०२६ मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई सहयोग र दिगो विकास लक्ष्यतर्फको प्रगति, लगानी र जलवायु वित्त परिचालन र विस्तारमा सहयोगलगायत विषय उल्लेख छ । ‘शिक्षामा पहुँच, विशेष गरी बालिकाको शिक्षामा बेलायतले ठूलो विकास साझेदारका रूपमा प्रदान गरेको महत्वपूर्ण सहयोगको नेपालले प्रशंसा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । नेपाललाई अतिकम विकसित मुलुकको हैसियतबाट सन् २०२६ पछि स्तरोन्तति हुने महत्वपूर्ण समयमा सहयोगको निरन्तरता र अभिवृद्धिका लागि नेपाली पक्षले अनुरोध गरेको छ ।

व्यापार, लगानी, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा सहयोग र संलग्नतालाई थप सुदृढ बनाउन दुवै पक्ष सहमत भएका छन् । बेलायतले नेपालको स्वच्छ ऊर्जामा लगानी बढाउन सहयोग गर्ने वचन दिएको छ । यसले जलवायु परिवर्तनको एजेन्डालाई सम्बोधन गर्न पनि सहयोग पुग्नेमा दुवै पक्ष सहमत भएका छन् ।

साथै,दुवै पक्षले नवीकरणीय ऊर्जा र सूचना तथा सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टजस्ता लगानीका सञ्जालहरूको उपयोगका विषयमा पनि छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?