+
+

आँखै अगाडि सगरमाथा (फोटो फिचर)

प्रकाश सिंह प्रकाश सिंह
२०८० वैशाख १६ गते १९:००

किताबमा पढेको थिएँ, सगरमाथाको संसारकै उच्च चुचुरो हो । सानैदेखि यो चुचोरमा पुग्न नसके पनि नजिकबाट कहिले हेर्न पाउँला भन्ने लाग्थ्यो ।

पत्रकारिता पेसामा आबद्ध भएको १२ वर्ष भयो । सगरमाथा बेश क्याम्प कालापत्थर पुग्ने योजना सपनामा थियो । कहिले आर्थिक अभाव, कहिले प्रतिकुल मौसम र कहिले स्वास्थ्यले साथ नदिने भएर धेरै पटक यात्रा रोकिएको थियो ।

सगरमाथा आरोही तथा विश्व कीर्तीमानी जाङ्बु शेर्पाको हौसला र सहयोगले यस पटक यात्रा तय भयो र सफल पनि भयो । तीन वर्ष जति फोक्सोमा पानि जम्ने समस्याले थलिएको थिएँ ।

कोरोना भाइरस संक्रमणले श्वासप्रश्वास र फोक्सोमा असर पुयाएको थियो । तर, पनि यसपटक म कालापत्थर जान कस्सिएँ । सगरमाथा चढने सक्ने सामर्थ्य नभए पनि आँखै अगाडि नियालेर सगरमाथा हेर्छु भनेर म उकालो लागे ।

दुई वर्ष पहिला ३ हजार मिटरको उचाइमा पुग्दा लेक लागेर मैले यात्रा रोक्नु परेको थियो । यस पटक लुक्लादेखि बेशक्याम्पसम्म तीन हजार मिटरमाथि हिँडेर एकसातामा गन्तव्यमा पुग्ने योजना पूरा गर्नु मेरा लागि त्यति सजिलो काम थिएन ।

जति उचाइमा गयौं, त्यतित्यति अक्सिजन कमहुने रहेछ । एक-एक पाइला हिंड्नलाई गाह्रो हुन्थ्यो । म एक पाइला पछि बिस्तारै अर्को पाइला चाल्दै अगाडि बढिरहेँ । आफ्नो ध्यान आफ्ना प्रत्येक कदममा लगाइरहेको थिएँ । मेरो एक मात्र सोच लक्ष्य पूरा गर्नु थियो ।

सगरमाथा बेश क्याम्प (५३६०मीटर) र कालापतथर (५६५० मीटर)सम्म यो पटकको यात्रा सफल भएको छ ।

एक्लै हिँड्दा मनभित्र कति अनुभूति भए । हिडिरहँदा मैले धेरै कुरा सिक्न पाएँ, जुन मेरो लागि नौलो थियो । यात्राले जीवनलाई फरक तरिकाले सोच्न सिकाउने रहेछ । यात्रा जीवन हो भनिएको ठीकै रहेछ ।

यात्रामा शारीरिक शक्ति धेरै खर्च हुन्छ । लाग्यो त्यो पनि बरदान हो । अक्सिजन कम भएको बेला मान्छेलाई धैर्यवान हुन सिकाउँछ, थाक्दा पनि म हार मान्दिनँ भन्ने सिकाउँछ । जतिसुकै गाह्रो भए पनि उसले सकिरहेको छ म पनि सक्छु भन्ने आशा पलाउँछ । हतोसाहित हुनबाट जोगाउने रहेछ ।

योभन्दा पहिला म बाजुराको बडिमालिका (४२००मीटर), बुढिन्नदा (४३५० मीटर) सम्म पुगेको थिए । बुढीनन्दा भन्दा यो पटक १३ सय मिटर माथिसम्म पुग्न सफल भएको छु ।

 

यात्राको बयान जति गरे पनि कम हुन्छ । यसपटक मैले अद्भूत प्राकृतिक रुप देखेँ । अदभूत दृश्यले संसार भरिका व्यक्ति किन त्यहाँ आउन मरिहत्ते गर्दा रहेछन् भन्ने जानकारी भयो ।

६ हजार मिटरको हिमाल चढेर, त्यसपछि ७ हजार सम्मको चढ्ने र अन्तिममा सगरमाथा आरोहण गर्ने मेरो लक्ष्य थियो । स्वास्थ्यले साथ दिएमा ढिलो, चाडो त्यो लक्ष्य पूरा गर्न लाग्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?